आधार कार्ड भारतको नागरिकता हैन

– राजु अधिकारी
मेरो नाम राजु अधिकारी हो । मेरो जन्म २०३८ चैत्र १ गते बाग्लुङ नगरपालिका वडा नं १२, अमलाचौर काउले गाउ, बाग्लुङ जिल्लामा भएको हो ।
म रोजीरोटीको समस्या समाधान गर्न भारतको चेन्नैमा आएको थिएँ । चेन्नैमा भारतस्थित नेपालीहरूको हक अधिकार र सुरक्षाको प्रत्याभूत गर्ने अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाज रहेछ । एकता समाजको प्रभावमा आएपछि २००५ मा सदस्यता लिए र २००९ देखि समाजका विभिन्न पदमा रहेर निरन्तर रूपमा संगठनमा काम गरिरहेको छु ।

 

अखिल भारत नेपाली एकता समाजले भारतमा काम गर्ने नेपाली मजूदरहरू, अध्ययन गर्ने विद्यार्थी, व्यापारीहरूको हकहित र सुरक्षाको लागि दिन रात खटेर काम गरेको देखे । सबैलाई संगठित गर्ने, दुःखी गरिवका गीत र नृत्यहरू समावेश गरेर साँस्कृतिक कार्यक्रम गर्ने र समय समयमा खेलकुदहरू गरेको देख्दा म एकता समाजको कामदेखि निकै प्रभावित हुन पुगेँ । अर्कोतर्फ बाग्लुङ अमलाचौर भनेको मसालको किल्ला थियो । मेरो सबै परिवार बामपन्थी विचारदेखि प्रभावित थियो । मेरा दाजु कृष्ण अधिकारी भारतको चेन्नैदेखि विद्यार्थी मोर्चामा काम गर्दै अनेरास्ववियुु (छैटौ) को केन्द्रीय अध्यक्ष पनि हुनु भएको थियो । ती सबै कुराले मलाई संगठित हुन प्रभावित गरेको थियो । म प्रवासमा २००५ देखि अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुदै एरिया समिति, नगर अध्यक्ष, क्षेत्र र केन्द्रीय समितिको सदस्यमा कार्यरत छु ।

 

म गाउँमा जन्मेको हुनाले सामान्य अध्ययन पनि गर्दै थिएँ । मैले २०६२ फागुन ८ गते करिव २४ वर्षको उमेरमा बाग्लुङकै जैमिनी नगरपालिका वडा नं २ दमेकबाट मैनादेवी सापकोटासँग मागी विवाह गरेको हुँ । विवाह पश्चात् अहिले परिवारसँगै चेन्नैमा रहँदै आएको छु । हाम्रा दुई छोरा छन् । जेठो छोरा विक्रम अधिकारीले चेन्नैको सविता ईन्जिनियरिङ कलेजबाट ब्याचलर अफ ईन्जिनियरिङ कोर्सको दोश्रो वर्ष अध्ययन गर्दैछ भने कान्छो छोरा विजयले ५ कक्षामा अध्ययन गर्दैछ ।

 

अखिल भारत नेपाली एकता समाजमा काम गर्दै आउने क्रममा म अहिले चेन्नै पश्चिम नगर समितिको अध्यक्ष पदमा कार्यरत छु । म दक्षिण भारत क्षेत्रीय समितिको सदस्य र केन्द्रीय समितिको पनि पूर्ण सदस्यमा रहेर काम गर्दै आएको छु । चेन्नै पश्चिम नगर समितिमा करिव ४०० सदस्य संख्या छ । ७ वटा एरिया समितिहरू छन् । समय समयमा साँस्कृतिक कार्यक्रम, खेलकुद, हाजिर जवाफ र चाड पर्व प्रगतिशील ढंगबाट मनाउने जस्ता कार्यक्रमको पनि आयोजना गरिन्छ । अब निकट भविष्यमै नगर र क्षेत्रीय सम्मेलन गर्ने तयारीमा छौं ।

 

अखिल भारत नेपाली एकता समाजले भारत प्रवासमा रहेका सबै प्रकारका समस्या समाधान गर्न हमेसा अग्रपंक्तिमा रहेर काम गर्दै आएको छ । भारतमा नेपाली मजदूर, विद्यार्थी र विरामी भएर उपचारको लागि आउने नेपालीहरूका समस्याहरू अलि बढेर गएका छन् । अहिले खास गरी भारतमा आधार कार्ड, राशन कार्ड लगायत अन्य समस्याहरू पनि छन् । आधार कार्ड सबै विषयमा अनिवार्य बनाउनाले समस्या देखिएको छ । बैंक खाता खोल्न, पैसा पठाउन, मोवाइलको सिम निकाल्न, हस्पिटलमा अडमिशन हुन, प्लेन र ट्रेनका टिकेट लिन, ग्याँस बुक गर्न, स्कूल कलेजमा अडमिशन गर्न, दुर्घटना भएको खण्डमा पुलिस प्रशासन एवं कोर्टमा रिपोर्ट वा केश दायर गर्न, जन्म र मृत्यु दर्ता गर्न, जागिर लगाउन देखि पिएफ लगायत सर्भीसको पैसा निकासा गर्न आधार कार्ड अनिवार्य गरिएको छ । शुरू शुरूमा त आधार कार्ड सजिलै बन्थ्यो तर अहिले ४÷५ हजार दिदा पनि कार्ड नवनेर धेरै नेपाली मजदूरहरू परेशान हुन परेको छ । कतिपय नेपालीहरूले चोरी गर्ने, हत्या हिंसा जस्ता अपराधिक कार्यमा सम्लग्न हुनाले निर्दोष नेपालीहरूलाई प्रशासनले आईडी देखाउ भनेर परेशान गरी सामान्य जीवनयापन गर्न कष्टकर हुदै गएको छ। यी भए प्रशासनिक एवं कानुनी कुरा यी वाहेक पनि कैयन अन्य समस्याहरू पनि छन। नेपाल भारत आउदा जाँदा बडरमा लुटपाटको समस्या, हराएका, अलपत्र परेका, आत्महत्या, विरामी, दुर्घटनामा परेका, वेरोजगारी, बेखर्ची, पारिवारिक समस्या लगायतका कैयौं समस्याहरू छन् । ती सबै प्रकारका समस्या समाधान गर्न हामी र हाम्रो संगठन हमेसा कटिवद्ध रहँदै आएको छ ।

 

प्रवासमा रहेका नेपालीहरूको समास्या समाधान गर्न पहिलो कुरा त अखिल भारत नेपाली एकता समाजको सदस्य बनेर संगठित हुनु पर्दछ भन्ने लाग्छ। संगठित भए पछि सबै कुरामा चनाखो हुनुका साथै अनुशासित पनि बनिन्छ । हामी र हाम्रो संगठनले पनि जनताका जल्दा वल्दा समस्या समाधान गर्न हर सम्भव प्रयत्न गर्दै आएका छौं । आधार कर्ड बनाउन, स्कूल कलेजमा अडमिसन गराउन, असहाय विरामीलाइ आर्थिक सहयोग गर्न, उपचार नपाएकालाई हस्पिटलमा अडमिसन गराउन, सिमानामा हुने अन्याय, अत्याचारको लागि ज्ञापन पत्र दिन, मोर भाग हुदा सहयोग गर्न र नेपाली माथि हुने प्रशासनिक समस्या समाधान गर्न प्रशासन सँग भेटघाट गर्ने जस्ता उपायहरू छन। हामीले संगठित नेपालीहरूलाइ समाजको आईडी कार्ड वितरण गरेका छौं । खानपानमा सावधानी बरतन, विमा र मेडीकल ईन्सुरेन्स बनाउन समेत आग्रह गर्दै आएका छौं ।

 

संगठनमा काम गर्दै गर्दा मलाइ दुख्खको पल भनेको एकातिर भारतमा नेपालीहरूले दुख्ख पाएको देख्दा र अर्को तर्फ पार्टी संगठन विभिन्न वहानामा खिचलो झिकेर विभाजीत हुने गर्छ । जसले संगै काम गरेका साथीहरूसँग छुट्टिन पर्दा दुःख लाग्छ । मेरो खुसीको पल भनेको मूल प्रबाहसँग फूट भए पछि हामीले २०२२ मा हाम्रो प्यारो संगठन अखिल भारत नेपाली एकता समाजलाइ पुनस्थापन गर्न सफल भयौ त्यो मेरो लागि अतिनै खुसीको पल महसुस भएको छ ।

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीहरूलाई आधार कार्ड नभए देश निकाला गर्ने भन्ने त्यस प्रकारको आधिकारिक निर्णय गरेका छैनन। स्थानीय सरकाले कतिपय स्थानमा नेपाली नागरिकता र आधार कार्ड एउटै व्यक्ति संग हुनुहुदैन यो डवल सिटिजनसिप हो भन्ने खालका गलत अफवाह फैलाएर लुटपाट गर्ने, धम्की दिने धरपकट गर्ने, नागरिकता खोसेर लाने जस्ता काम पनि गरे तर भारत सरकारले आधार कार्ड भनेको भारतको नागरिकता हैन । यो बाँच्नको लागि आधारभूत अधिकार प्राप्त गर्ने कार्ड हो भनेर पुन प्रेस कन्फेरेन्स गरेको छ । आधार कार्डको पछि पट्टी Adhar Card is not National Identity भनेर लेखेको पनि छ । तर स्थानीय सरकाले निर्दोष नेपालीहरूलाइ धरपकड गर्ने र तर्साउने काम गर्छन। खास गरी नेपाली हुनका लागि नेपाली नगारिकता र भारतमा कार्यरत छ भन्नका लागि आधार कार्ड हुन जरूरी छ । यो दुवै कार्ड संगै राखेर कुनै असर पर्दैन । अखिल भारत नेपाली एकता समाजले जनता समक्ष यस्ता भ्रमित कुराहरूलाइ स्पष्ट पार्दै आएको छ ।

 

हालै नेपालमा जेनजी पुस्ताले सरकारद्वारा प्रतिबन्धित सोशल मेडीयाको पुर्नस्थापना र भ्रष्टचारको विषयलाई लिएर सरकारका विरूद्ध दिनांक ८ र ९ सेप्टेम्बर २०२५ का दिन जुन आन्दोलन गरिएको थियो उक्त आन्दोलनलाई सरकारले गोली प्राहार गरी करीव ५१ जना मासूम विद्यार्थीहरूलाई कत्लेआम गर्ने काम ग¥यो । त्यसले शान्तिपूर्ण चलेको आन्दोलनलाई हिंसात्मक आन्दोलनमा परिणत गर्न आगोमा घ्यु थप्ने काम ग¥यो । जसको परिणाम स्वरूप ९ सेप्टेम्बरका दिन विजुलीको गतिमा जेनजीले नेपाल कव्जा गर्ने काम भयो । जुन घटना घटेको छ त्यो आमूल परिवर्तका हिसावले ठीक छ । अर्को प्रकारले आन्दोलनमा भएको देशी विदेशी घुसपैठका कारण राष्ट्रिय सम्पति जलाएर खरानी पारियो । लूटपाट गरियो । जेलबाट कैदिहरू छोडियो यस प्रकारका कार्यलाई रोक्न नेपाली सेना मुकदर्शक बनेर बसी रहयो यो चाहि गलत भएको छ । जेनजीहरू एक आपसमा नलडेर एकजुट भएर आमूल परिवर्तनको लागि अगाडि बढ्यो भने त्यो सकरात्मक कदम हुनेछ ।

 

मैले सानोतिनो जागिर गर्दै छु । त्यही जागीर पनि नेपालमा पाइदैन। अखिल भारत नेपाली एकता समाजमा रहेर भारतस्थित नेपालीहरूको सेवा गर्दै बालबच्चा पढाउनु प¥यो । पढाई पुरा भए पछि स्वदेश फर्कनु पर्ला भन्ने सोचेको छु । अर्को कुरा जनताको हक अधिकारको पक्षमा हमेसा आवाज वुलन्द गर्ने विचारमूलक हाँक साप्ताहिकले मलाइ आफ्ना भनाइहरू राख्न दिएकोमा आभारी छु र धन्यवाद दिन चाहान्छु । अझै हाँक पत्रिकाले दुखी गरिवका आवाज बुलन्द गर्न सक्षम बनोस् , हमेसा प्रथम श्रेणीमा रही रहोस भन्ने शुभकामना दिन चाहान्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित