भ्रष्टाचारीलाई कारबाही होस्

देशमा व्याप्त भ्रष्टाचारको अन्त्य तथा सामाजिक संजालमाथि तत्कालीन केपी ओली सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै देशमा जेनजीहरुले भाद्र २३ र २४ गते आन्दोलन गरे । २३ गतेको आन्दोलनमा विद्यार्थीहरुको हत्या भए पछि २४ गतेको आन्दोलन निकै भयानक बन्यो ।
जुन आन्दोलनले देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार,संसद भवन, सर्वोच्च अदालत, पार्टीका कार्यालयहरु स्थानीय तहका वडा कार्यालयदेखि पालिकाहरु ,मालपोत कार्यालय , प्रहरी चौकीहरु जलाइयो । आगजनी, तोडफोड लुटपाट भए । नेताहरुलाई खोजी खोजी आक्रमण गर्ने र नेताहरुका आवासहरुमा आगजनी गर्ने काम भयो । जेन्जीको मागअनुसार भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकारको निर्माण भयो ।
भ्रष्टाचारको विरुद्धमा चलाइएको आन्दोलनले सरकार परिवर्तन समेत ग¥यो । सरकार परिवर्तनसँगै सरकारको मन्त्रीमण्डल विस्तारको काम जारी छ ।
मुलुकमा अहिले भ्रष्टाचारबाट सबै स्थान र तह अछुतो छैन । राज्ययन्त्रको माथि देखि तल्लो तहसम्म भ्रष्टाचार झाँगिएको छ । भ्रष्टाचार गरेको, अकुत सम्पत्ति आर्जन गरेको, गैरकानुनी सम्पत्ति आर्जन गरेको जस्ता समाचार दिनहुँ जसो आउँछन् ।
राजनीतिज्ञ,व्यापारी, कर्मचारी, ठेकेदार, भ्रष्टाचारमा संलग्न भएको वा भ्रष्टाचार गरेको समाचार आउँछन् । जनताहरू सानो कामको लागि सरकारी कार्यालय जाँदा पनि घुस दिन विवश बनेका छन् ।
भ्रष्टाचार गर्ने अवसर आएमा नैतिक मूल्य मान्यताको ख्याल नगर्ने प्रवृति मौलाउँदो क्रममा रह्यो । नेतृत्वमा बसेर जे पनि गर्ने राज्य प्रणालीको दूरोपयोग गरेर जनता र राष्ट्रलाई सक्दो दोहन गर्ने अनेक प्रकारका काण्डहरु निम्त्याउने ,कारबाही गर्ने जिम्मेवारी लिएर बसेकाहरुले नै अनेक किसिमका भ्रष्टाचारका काण्डहरु घटाउने जस्तै पछिल्लो अवधिमा भिजिट भिषा प्रकरण, केही समय पहिलाको सुन काण्ड, सहकारी ठगी प्रकरण ,भुटानी शरणार्थी प्रकरण ,ललिता निवास प्रकरण अनेकौं घोटला अनियमितताका काण्डहरु मन्त्री ,उच्च तहका नेतृत्वबाट नै भयो । भ्रष्टाचार भयो भनेर वा भ्रष्टाचारी हो भनेर प्रमाणित भए पनि उनीहरुले लाखौं धरौटी बुझाएर छुटिरहेका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८२ असार ५ गतेबाट देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियानको घोषणा गरेको थियो । पार्टीले देशमा भ्रष्टाचारको विरुद्धमा सभा ,कोणसभा ,अन्तरक्रिया, जनभेटघाट, पत्रकार सम्मेलन गरेर सरकार तथा गैरसरकारी स्तरमा जरा गाडेर बसेको भ्रष्टाचारको अन्त्य गर्न संघर्ष जारी राखेको थियो । यसै बेलामा जेन्जीहरुको आन्दोलन भयो । भ्रष्टाचार विरोधी आन्दोलनको रुपमा जेन्जी आन्दोलन भयो । यो आन्दोलनको आडमा संसदको विघटन र नयाँ सरकार बन्यो । अहिले गैरदलीय सरकार बनेको छ । सरकारले भ्रष्टाचार नियन्त्रणमा ध्यान जानु पर्दछ । भ्रष्टाचारीहरुलाई कारबाही गर्नु पर्छ ।
यो वा त्यो बहानामा भ्रष्टाचारीहरु उम्किने अवसर पाउनु हुँदैन । देशका सबै नागरिकको धारणा भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने छ । जेन्जी आन्दोलनको माग पनि यही हो । बदलिँदो राजनीतिले देशलाई कता लैजाने हो ? भन्ने चिन्ता र चासो बढिरहेको अवस्थामा राजनैतिक तरलताको फाइदा उठाउँदै भ्रष्टाचारीहरु उम्किन सक्छन् । तिनीहरुले उम्किने अवस्था आउनु हुँदैन ।
समाजमा पूँजीवादी बस्था रहुन्जेल सम्म भ्रष्टाचारको अन्त्य हुँदैन किनभने पूँजीवादी व्यवस्थाले मान्छेलाई स्वार्थी बन्न उक्साइरहेको हुन्छ । निजी स्वार्थ र लोभले भ्रष्टाचार गर्न प्रेरित गर्दछ ।
भ्रष्टाचारको समस्या दीर्घकालीन समाधानका लागि स्वार्थीहरू जन्माउने पुँजीवादी व्यवस्थाको अन्त्य हुनु पर्दछ । विद्यमान व्यवस्था भित्र पनि सचेत पहलकदमी भएमा केही हद सम्म भ्रष्टाचार न्यूनिकरण गर्न सकिन्छ । त्यसका लागि परिवार ,समाजमा बच्चा देखि नै मानिसहरूलाई लोभी, स्वार्थी हुनुहुन्न ,भ्रष्टाचार खराब हो भन्ने शिक्षा दिनु पर्दछ । शिक्षालयमा विद्यार्थीहरूलाई भ्रष्टाचार विरोधी शिक्षा दिनु पर्दछ । भ्रष्टाचार गर्नेलाई कडा दण्ड सँजायको व्यवस्था गरिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित