संसारका युवाहरू एक होऔं

– शालिकराम भण्डारी

राजनीतिक,आर्थिक, सांस्कृतिक, सामाजिक विषयमा विचार व्यक्त गर्दा वास्तविक तथ्य पन्छाउनु हुँदैन । जस्ताको त्यस्तै देखाउनु पर्दछ अन्यथा समाज अनविज्ञ हुन्छ। अन्धकारमा रहन्छ । अन्धो समाजले प्रकाश पाउन सक्दैन । अन्धकारको कालो रात्रिमा मानिसलाई सामान्य कारोबार सञ्चालन गर्न पनि साह्रै अप्ठ्यारो हुन्छ । अन्धो मान्छेले के देख्ने ? नेपाली समाजको अबस्था पनि त्यस्तै भएको छ । भर्खर उज्यालो हुन लागेको थियो । बत्ती बल्न लागेको थियो। त्यसलाई निभाइयो। बाल्ने निभाउने क्रम जारी रह्यो तर पनि बाल्न अगाडि सरेकाहरू रोकिएनन्। अगाडि बढ्दै गए किनकि समय गतिशील छ, अग्रगामी छ, यो विषय बुझ्न नसक्दा नेपालको यस्तो दुर्दशा भएको हो ।

शोषण, दमन प्राचीनकालदेखि हुँदै आएको हो । सामन्तवादी युगमा प्रवेश गरेपछि यसले अलि अलि बुझ्न सुरु गर्‍यो । विश्व इतिहास यही भन्छ । नेपाल पनि विश्व समाजको एउटा अङ्ग हो। त्यसैले यहाँको स्थितिमा पनि केही फरक छैन । अगाडिको समय छोडेर पृथ्वीनारायण शाहले सानातिना भुरे टाकुरे राज्यलाई आफ्नो गोर्खा राज्यमा मिलाएको समयदेखि आजसम्मको इतिहास हेर्दा त्यो समयको आर्थिक राजनीतिक विश्लेषण गर्न उचित होला जस्तो लाग्यो । २५०– २६० वर्ष सम्म देशको धन सम्पत्ति शाह ,राणाहरूले लुट्न सम्म लुटे । सबै उमेरका बच्चा ,युवा वृद्ध ,महिला पुरुषलाई दुख, कष्ठ दिए । दास बनाए । सबै कथा सुनि नसक्नु छ । युवाहरूलाई ज्यू धान्न जीविका चलाउन भारत लगायत विभिन्न मुलुकमा जान प्रेरित गरे । बेलायती सरकारलाई गोरखा पल्टन खोल्न अनुमति दिए किनकि त्यो सरकारलाई खुसी तुल्याउन सके आफ्नो सत्तामा केही घुनपुतलो नलाग्ने शाह राणाहरूको ठम्याइ रह्यो। पल्टनमा भर्ना भएका असंख्य युवाहरु उपनिवेश बचाउन लड्दै गए । पछि दुई महा युद्धहरू भए । तिनमा नेपाली युवाहरुलाई फ्रन्ट लाइनमा राखियो । विदेशीको लागि वीरतापूर्वक लडाई लडे । ठूलो संख्यामा मारिए । यो कुनै कपोलकल्पित भनाइ होइन । यिनै शाह राणाहरूको तानाशाही सामन्ती शासनको परिणाम हो। यिनले यति अपराध गरे कि मनपरि गर्न केही बाँकी राखेनन् । युवाहरुलाई विदेशीको गुलाम बनाए । भूमिपति र जमिन्दारहरूको रक्षा गरे । किसानहरुलाई दास बनाए । ९५ प्रतिशत जनता युवाहरुलाई शिक्षाबाट वञ्चित गरे । स्वास्थ्यको व्यवस्था सुन्यतामा झर्यो । दमन, बन्धन खपी न सक्नु थियो । दमन ,बन्धन खपी नसक्नु थियो । यिनीहरूको परिवार,तलुवा, चटुवाहरू,ठूला ठूला भूमिपति र उच्च तहका प्रशासनिक सेवामा रहेका व्यक्तिहरूलाई मात्र सामन्तवादी राजतन्त्रबाट भएको अपराधपूर्ण व्यवहारको बिबरण जति लेखे पनि, पूराण बाचन गरे पनि सकिँदैन ।

 

यसै सामन्तवादको थिचोमिचो, सामन्ती अर्थव्यवस्थाले जनताका बढ्दो आवश्यकताहरू,ईच्छा ,चाहना आपूर्ति गर्न असमर्थ भयो । राजनीतिक अधिकार जस्तो बोल्ने,लेख्ने,संगठन निर्माण गर्ने, सत्ता परिवर्तन गर्न सक्ने मौलिक अधिकार माथि निरंकुश प्रतिबन्धका कारण विश्वमा पुँजीवाद, पुँजीवादी गणतन्त्र उदाएको हो । लोकतन्त्र स्थापित भएको हो । केही शताब्दीपछि नेपालमा पनि आइपुग्यो । तर यस लोकतन्त्रले नेपालका श्रमिक , मजदुर, भूमिहीन किसान,गरिब तथा निम्न मध्यमवर्गीय किसान, मझौला उद्योग, राष्ट्रिय उद्योगको हित रक्षा गर्न सकेन । गास ,बास कपास ,रोजगारी ,स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आबश्यकताहरूको ब्यबस्था, बन्दोबस्त मिलाउन सकेन । राजतन्त्रले जस्तै नेपाली युवाहरूलाई विदेशीको गुलाम बनायो । मुक्त गर्न सकेन । स्वतन्त्र परराष्ट्र नीति कहिले पनि रहन सकेन । एक प्रकारको अर्ध उपनिवेश नेपाल हुँदै आएको छ। यसै कमजोर लोकतन्त्रलाई पनि निरंकुश राजतन्त्रले हमला गर्दै आएको छ। पहिलो हमला २०१७ साल पुष १ गते गरियो । दोस्रो ५८–५९ मा र तेस्रो हमला नेपालको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेपछ् िभाद्र २३–२४ मा हुन गयो । अहिलेको राजतन्त्र एकलौटे सर्वशक्तिमान छैन । यसमा विदेशी शक्तिहरू पनि संलग्न छन्। ती हुन् अमेरिका र भारत । अहिलेको घटनामा नेपाली सेना पनि मुछिएको छ । त्यो कहाँबाट थाहा पाइयो भने सुशीला कार्कीको नेतृत्वमा मन्त्रीमण्डल गठन, संसद विघटन, ६ महिनापछि निर्वाचन गराउने चालबाट । सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्ने कुरामा राष्ट्रपतिले पहिले हस्ताक्षर गर्न मानेका थिएनन् सेनाले फोर्स गरेपछि माने भन्ने सुन्नमा आएको छ ।

२०१७ सालमा राजा महेन्द्रले राष्ट्रका नाममा सम्बोधन गरेका थिए । अहिले राजतन्त्र समाप्त भइसकेकोले सेनाबाट सुरु गरियो। यसको उद्देश्य ज्ञानेन्द्र राजालाई पुनः गद्दीमा बसाल्नलाई गरिएको हो । अरू दृश्य हेर्दै जानुपर्दछ । पहिलो र दोस्रो हमलामा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप नेपाली जनताले त्यति स्पष्टरूपले थाहा पाउन सकेका थिएनन्। यसपालि सबैको आङमा घाम लाग्यो । अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले कुहेको राजतन्त्रको सही मूल्यांकन गर्न सकेन । सत्ताको निम्ति प्रतिगामीहरु आफ्नो स्वर्गीय आनन्द भुल्न कहिले पनि सक्दैनन् भन्ने कुरा बुझ्न सकेनन् । मनपरि तानाशाही शासन सञ्चालन गर्दै गयो । नियम ,कानुन, संविधान टोकरीमा थन्काइयो । देशको आर्थिक अवस्था ऋणमा भर पर्ने गराइयो । घुस, भ्रष्टाचार, सहकारी ठगी, मिटर ब्याजलाई खुला छोड्यो । अपराध गर्ने आफ्ना पार्टी कार्यकर्तालाई रोक भएन । राज्यका तीनै निकाय कार्यपालिका ,न्यायपालिका, व्यवस्थापिकामा दुई पार्टीको अधिनमा राखियो नेपाली कांग्रेस र एमालेको । अब यस्तो सम्म हुन थालेको थियो दुई पार्टीका नेता, कार्यकर्ताको विरोध गर्न नपाइने । यस्तो कानूनको मस्यौदा संसदमा पेश गरिदै थियो । सामाजिक सञ्जाल पत्रकारितामाथि पूर्ण नियन्त्रण हुँदै थियो। त्यतिले मात्र नपुगेर फेसबुक, युट्युब जस्ता ज्ञानको लागि अति आवश्यक शाधन माथि एकाएक सरकारले रोक लगायो । १३ वर्षदेखि २८ वर्षसम्मका युवाहरूलाई विशेष गरेर अति चोट पुग्यो। उनीहरूले हारगुहार गरे तर तानाशाही सरकारले पटक्कै सुनेन। सर्वत्र हाहाकार, अराजकताको स्थिति उत्पन्न भयो । पुँजीवादी लोकतान्त्रिक गणतन्त्रमा प्राप्त हुने सामान्य मौलिक अधिकार पनि अस्तित्वविहीन भइसकेका थिए ,नाम मात्रका थिए त्यसैले शुद्ध युवाहरू आन्दोलनमा उत्रिएका हुन्। शुद्ध युवाहरूको उद्देश्य थियो सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवा गर्ने । सरकारलाई लज्जित गराउने भबिस्यमा यस्तो सरकार सत्तामा आउन नसकोस् भनेर जनतालाई चेतनशील बनाउने । तानाशाही ,भ्रष्टाचारी ,देशघाती सरकारलाई ठूलो शिक्षा दिने। यसमा सबै वर्गका युवाहरू थिए। यिनै युवाहरु हुन् जेन्जी। यो कुनै राजनीतिक संस्था होइन । सबैले यिनीहरूलाई प्रयोग गर्दछन् । जनहित कार्यका लागि पनि प्रयोग गर्दछन्। ९०–९५ प्रतिशत जनताले पनि यिनीबाट फाइदा पाएका हुन्छन् । तर यसपटक पाँच ,दश प्रतिशतले मात्र पकडमा राखे । जेन जीको नाममा अहिले नेपालमा जे भयो त्यसमा घुसपैठियाहरूको मात्र हात रह्यो । जसको योजनामा घरेलु प्रतिक्रियावाद,भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको प्रमुख हात छ। एनजिओ , आइएनजीओ अथवा त्यस्तै संस्थाहरूमा काम गरिरहेका नेपाली युवाहरूलाई दुरुपयोग गरियो। भर्खर सेनाको निर्देशनमा नियुक्त भएकी प्रधानमन्त्री सुशील कार्कीले यिनलाई राजनीतिक शक्तिको रुपमा मान्यता दिएकी छिन् । यिनबाट भएको धनजनको क्षति र यिनलाई नेतृत्व दिने कमान्डरहरू साह्रै दोषी अपराधी मान्नुपर्छ। यो तथ्य व्यक्त गर्न डराउनु हुँदैन। नत्र देशले केही जान्न बुझ्न सक्ने छैन । युवाहरु हो ! तिमीहरुसँग अपिल छ , प्रगतिको निमित्त काम गर ! अधोगतितिर जाने होइन । देशले तिमीबाट यही आशा गरेको छ । गलत मतिमा लागेर देश, नबिगार । देशै सबैको हो । विदेशी युद्धकारी शक्तिले देश बर्बाद पार्छन् । टुक्रा टुक्रा पार्छन् । घरेलु प्रतिगामी शक्तिले त्यसैलाई समर्थन गर्छन् । तिनलाई राष्ट्रियता,प्रजातन्त्र र नेपाली जनजीविकाको प्रषनमा कुनै खास मतलव कहिले हुँदैन । युवाहरू हो ! तिमीहरूलाई भ्रष्टाचार उन्मूलन गर्ने शक्ति भनिएको छ। हो त्यो कुरा सांचो हो ।तर के गर्ने बाटो देखाइएको छैन । आफ्नो स्वार्थको लागि तिमीलाई उकास्नेका जाल बुझ्ने कोशिश गर !

संसारमा सम्पूर्ण वस्तु दुई फ्याकमा बाँडिएको छ । जस्तो राम्रो र नराम्रो ,कठोर र दयालु ,शोषक र शोषित ,सामन्तवाद र पुँजीवाद, पुँजीवाद र सामन्तवाद ,धनी र गरिब आदि । त्यस्तै ज्ञान ,अर्थतन्त्र राजनीतिमा पनि हुन्छ । दर्शनशास्त्रमा अध्यात्मवाद, भौतिकवाद, अर्थतन्त्रमा सामन्तवाद, पुँजीवाद र समाजवाद। यो अवस्था नेपालको निमित्त पनि हो। दर्शन, अर्थतन्त्र राजनीति नेपाली समाजको निमित्त पनि लागू हुन्छ। त्यसैले यहाँ राजनीतिमा दुई पार्टी छन्। पुँजीवादी शिविरको नेतृत्व नेपाली कांग्रेसले गर्दछ । अरु पुँजीवादी पार्टीहरू यसैका शाखा हाँगाहरू हुन्। समाजवादको नेतृत्व मार्क्सवाद, लेनिनवाद र माओवादले गर्छ। अरु सबै कम्युनिस्टहरु पुँजीवादी हुन् । पुँजीवादी कम्युनिस्टहरुले मार्क्सवाद पुरानो भइसक्यो। एक्काइसौँ शताब्दीअनुसार नयाँ मार्क्सवाद हुनुपर्छ। नेपाली समाजलाई सुहाउने मार्क्सवाद चाहिएको छ भन्छन् । कसैले आफ्ना पार्टी कार्यालयमा मार्क्सको फोटो समेत राख्न चाहँदैनन्। त्यसैले संसारका र नेपालमा जेन्जी युवाहरुले कुन बाटो समात्ने हो , सोच्नुपर्छ । अध्ययन गर्नुपर्छ । ८५ देखि ९० प्रतिशत जनताको लागि काम गर्ने हो कि १० –१५ प्रतिशतका निमित्त । अहिलेको नेपालको घटनाले स्पष्ट गरेको छ नेपाललाई रण भूमि बनाउने अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादको पहिलो चरण सफल भएको छ । बाह्य शक्ति बलियो छ । अहिले यिनीहरूले प्रतिगामीलाई साथ दिएका छन्। भोलि नेपाली कांग्रेस र एमालेलाई सहयोग गर्न सक्दछन । अहिले जे भयो साम्राज्यवाद ,विस्तारवाद र घरेलु प्रतिक्रिवादको मिलेमतोमा भएको च ।

सक्कली जेनजीले बुझ्नेछन् ,दुरुपयोग भएका जेन्जी युवाहरूले पनि बुझ्नैपर्छ । अन्यथा देशको भविष्य अन्धकार हुनेछ । ती युवाहरूलाई राष्ट्रियता ,जनजीविका, जनतन्त्रको संघर्षमा जान रोक लगाइएको छ , निषेध गरिएको छ,लोभ लालचमा फसाइएको छ । साम्राज्यवादीहरूको चाल सधैं एकनास हुन्छ । त्यो हो विश्व कब्जा गर्ने योजना । यसलाई सानोतिनो संघर्षले नष्ट गर्न सक्तैन ।त्यसैले संसारका युवाहरू एक हुनु पर्छ । साम्राज्यवादलाई परास्त गर्न र प्रगति ,विकास, सुख, समृद्धि, न्याय, समानता, शान्तिको स्थापना गर्न युवाहरु एक हुनु पर्छ ।

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित