असोज २५,काठमाडौँ । आज राष्ट्रपति निवासमा राखिएको जेनजीहरूसितको छलफल सोमबारको लागि सारिएको छ। दुईटा कारणले त्यो छलफल सारिएको हो। पहिलो कारण, राष्ट्रपति रामचन्द्र पौडेल जेन्जीहरूसित छलफल गर्दागर्दै वाकवाकी आउने, रिगटा लाग्ने , टाउको दुख्ने जस्तो समस्याले अस्वस्थ भएपछि छलफल स्थगित गर्नु परेको थियो । दोस्रो कारण, वार्तामा बस्न नपाएका जेन्जीहरू आफूलाई छलफलमा बस्न नदिएको भनेर राष्ट्रपति भवन अगाडिको गेटमा वास्तविक जेन्जी को हो र को होइन , विवाद गरिरहेका थिए । कतिपय जेनजीले यो विदेशीहरूले बनाइदिएको सरकार भनेका थिए । कतिपयले आइएनजिओको सरकार भनेका थिए । जेन्जी आन्दोलनको बलमा निर्माण भएको सरकारले जेन जीलाई उपेक्षा ,दमन ग¥यो भन्दै राष्ट्रपति भवन अगाडि आक्रोश पोखेका थिए। स्मरणीय छ १३ जना हुनुपर्नेमा २० थपेर ३० भन्दा बढी जेनजीहरु वार्तामा बस्न पुगेका थिए। जेन्जी भन्दै विभिन्न स्वार्थ समूहहरूले वार्तामा बस्ने गरेको र आफूहरूलाई वार्तामा बस्न नदिएको वास्तविक जेन्जीलाई पन्छाउन थालिएको भन्दै उनीहरूले तीव्र विरोध गरेका थिए । दुई दिन अगाडि आफूलाई जेन्जी प्रतिनिधि बताउने एक आन्दोलनकारीलाई माइतीघरबाट गाँजा खाएको प्रमाणित भएको भन्दै प्रहरीले उनका आफन्तहरूलाई रिहाबिलिटेसन सेन्टरमा पठाउन लगाएको थियो ।जेन्जी समूहका नेता भनेर प्रचारमा आएका हामी नेपाल नामक संस्थाका सुदन गुरुङ लाई तोडफोड र आग्जनीमा संलग्न भएको भन्दै उनीमाथि प्रहरीमा उजुरी पनि परेको छ। सामाजिक सञ्जालहरूमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेनजीको नामबाट देशका महत्वपूर्ण ऐतिहासिक सम्पदाहरू , पुरातात्विक महत्वका सम्पदाहरु जलाउन लगाएको देशद्रोही काम गरेको भनेर उनीमाथि पनि व्यापक विरोध हुने गरेको छ ।