सानो जाइनिष्ट इज्रायल र ठूला अरब मुलुकका बीचको द्वन्द्व

 

अपत्य शर्मा

विश्व मानचित्रमा ज्यादै सानो राष्ट्रले पनि ठूलो साम्राज्य खडा गरेको देखिन्छ भने ठूलो राष्ट्र पनि सानो राष्ट्रमा परिणत भएको पाइन्छ । नेपाल एउटा सानो राज्यबाट ठूलो राष्ट्रमा परिणत भएको थियो । नेपालको सीमा पूर्वमा टिष्टा नदीदेखि पश्चिमा सतलज नदी जसमा दार्जीलिङ, सिक्किम, नैनीताल, कुमाउ गडवाल र तराईका मैदानी भागसम्म ब्रिटिश इष्ट इण्डिया कम्पनीको उपनिवेश भारतीय भूमिमाथि नेपालको अधिकार कायम थियो । तर १८१६ को सुगौली सन्धिपछि नेपालले एक तिहाई आफ्नो भूमि गुमायो । दुई पक्षका बीचको युद्धमा एक पक्ष जित्ने हुन्छ भने अर्को पक्ष हार्ने हुन्छ जसले आफ्नो भूमि गुमाउँछ । हार्ने पक्षसँग ठूलो आधुनिक हातहतियार, युद्ध कुशल, अनुशासित सेना भए पनि सेना नायकले युद्धमा शत्रुपक्षका कमजोर मर्मस्थलहरुको राम्रो जानकारी राख्न सकेन भने पनि सफलता प्राप्त हुँदैन । युद्ध कलामा प्रारम्भमा कोही पनि दक्ष हुँदैन र युद्धले नै युद्ध दक्षता प्राप्त हुन्छ । आधुनिक युगमा युद्धकलामा व्यापक परिवर्तन हुँदै गएको छ । सानो कमजोर सेना भएको मुलुकले पनि आफू भन्दा कैयौं गुना ठूलो शक्तिशाली सेना अत्याधुनिक हातहतियारहरु लैश भएको सेनालाई परास्त गर्न सक्छ भन्ने इतिहास पुरानो छैन । सात जना छापामारले चे गुभेरा र क्यास्ट्रोको नेतृत्वमा संचालित छापामार युद्धले प्रतिक्रियावादी बाटिष्टाको सत्तामाथि जीत हासिल ग¥यो । भियतनाम, लाओस्, कम्बोडिया, कोरिया आदि कमजोर मुलुकका जनताले अमेरिकी नरभक्षी साम्राज्यवादी शक्तिलाई लज्जास्पद रुपले परास्त गरे । जबकि अमेरिकाद्वारा ७.५ मिलियन टन बम द.भियतनाममा लाओस्, कम्बोडिया र कोरियामा खसालेको थियो । साम्राज्यवादीले आफूसँग भएका विभिन्न खाले बमहरुमा रासायनिक बम, क्लस्टर बम, नापाम बम (एजेन्ट ओरेन्ज) खाद्य पदार्थ नष्ट गर्ने बमहरु खसालिएका थिए । द. भियतनामी जनतालाई भोकै मार्न र भियतकङहरुलाई सजिलोसँग देख्न सकियोस् भनेर सम्पूर्ण बोट विरुवा रुखपात लगायत ध्वस्त पार्ने रासायनिक बमहरु खसालिएका थिए ।

एजेन्ट ओरेन्ज यस्तो घातक रासायनिक बम हो जसले बालीनाली बोटविरुवालाई मात्र नष्ट गर्ने होइन त्यसको असरले क्यान्सर, अपांग जन्मदर, छालाका गम्भीर समस्याहरु, नशासम्बन्धी रोगहरु र वातावरणीय प्रदुषणले गर्दा अनेकौं स्वास्थ्य समस्याहरु ल्याउँछन् ।

इज्रायल एउटा सानो यहुदलीहरुको मुलुकले प्यालेस्टिनी तथा अरेबेली जगतलाई शान्तिको निन्द्रा सुत्न दिएको छैन । विश्वमा यहुदीहरुको संख्या १५.७ मिलियनदेखि १५.८ मिलियन छन् र सबै भन्दा ठूलो संख्या ७ मिलियन भन्दा ज्यादा इज्रायलमा छन् । अमेरिकामा मात्रै करिब ६ मिलियनदेखि ७ मिलियन यहुदी छन् । अमेरिकी सामा्रज्यवादी इज्रायलका विरुद्ध कहिल्यै पनि उभिन सक्दैन । यहुदीहरुको संख्या धेरै भएर मात्र होइन यहुदीहरुको समर्थन गर्नुको पछाडि सामाजिक, आर्थिक तथा राजनैतिक कारण छन् । विश्वमा ४६५ यहुदी अरबौंपति छन् । जसको जम्मा सम्पत्ति २.६६ ट्रिलियन डलर हुन आउँछ । विश्वका अत्यन्त धनाढ्य व्यक्तिहरु ६ जना यहुदी छन् ती हुन् ः लारी इलिसन, लारी पेज, मार्क जुकरवर्ग, सेर्गे ब्रिन, स्टेभ बालमर र माइकल डेल हुन् । अमेरिकामा नै ठूलो संख्यामा यहुदी अरबौंपति छन् । इज्रायलमा मात्र ४१ जना अरबौंपति छन् । (अप्रिल २०२५ ।)

इज्रायलीहरु अरबौंपति मात्र नभएर लडाकु पनि हुन् । साम्राज्यवादीले निर्माण गरेको इज्रायली जाइनिष्टहरुले सानो इज्रायली भूमिमा सीमित नभएर बृहत् इज्रायलको सपना देखेका छन् । इज्रायलको स्थापना औपचारिक रुपमा १४ मई १९४८ मा भएको थियो । स्थापना भएको पहिलो दिनमा नै अमेरिकाले इज्रायललाई मान्यता दिएको थियो । अमेरिकी साम्राज्यवादीको कठपुतली संयुक्त राष्ट्रसंघले इज्रायलको स्थापनाकालमा अरब राज्यको जमीनी सीमा ११,५९२ इस्क्वायर किलोमिटर र यहुदी राज्यको सीमा १५,२६४ इस्क्वायर किलोमिटर भनेर तोक्यो । बेलायती साम्राज्यवादीले पहिलो विश्वयुद्ध ताका सन् १९१७मा “यहुदी जनताको राष्ट्रिय घर” को स्थापना प्यालेस्टिनमा स्थापना गर्ने भनेर सार्वजनिक घोषणा गरेको थियो । यसको अर्थ हजारौं प्यालेस्टिनीहरुलाई घरबारविहीन बनाउनु नै थियो । संयुक्त राष्ट्रसंघले १५, मई १९४८ मा इज्रायल स्थापनाको मान्यता दिएको थियो । जब कि प्यालेस्टिन राज्यको स्थापना नै भएको थिएन ।

हालको इज्रायली क्षेत्र विस्तार गर्ने काम पहिले नै सैनिक आक्रमणबाट भएको हो । इज्रायलले आफ्ना वस्तीहरुको विस्तार बेष्ट बैंक र पूर्वी जेरुसेलममा ग¥यो । १९४८ मा अरवसँग युद्ध गरेर ७७प्रतिशत प्यालेस्टिनी भूमिमाथि अधिकार जमायो । इज्रायलले स्वतन्त्रताको घोषणा गरेपछि मई, १४, १९४८ मा इजिप्ट, जोर्डन, इराक, सिरिया र लेबनानका संयुक्त सेनाले आक्रमण गरे । त्यस लडाईपछि १९४९ मा इज्रायलको अस्तित्वलाई स्वीकारियो र राष्ट्रसंघले छुट्याएको भूमि भन्दा बढी जमिनमाथि अधिकार इज्रायलले गर्ने शर्तमा युद्ध विराम भयो जसलाई नक्वाको युद्ध भनिन्छ । त्यस लडाईमा गाजा पट्टीमाथि इजिप्टले अधिकार जमायो भने वेस्ट बैंक माथि जोर्डनले अधिकार जमायो । इज्रायलले ६ पल्ट अरेबेलि मुलुकहरुसँग युद्ध ग¥यो र अरेवियन मुलुकहरुको ठूलो हार भयो । यी लडाईहरुबाट इज्रायलले गोलान हाइट, गाजापट्टी, सिनाई प्रायद्वीप (पछि इजिप्टलाई फिर्ता ग¥यो) र वेस्ट बैंक (जसमा पूर्वी जेरुसेलम पनि पर्छ ) अधिकार जमायो । इज्रायल र अरबहरुका बीचमा भएको ६ वटा युद्धमा साम्राज्यवादीहरुकै संचारमाध्यमका अनुसार ६०,००० देखि ८०,००० अरबेली मारिएका थिए भने इज्रायली ११००० मारिएका थिए । जहिले पनि शत्रुपक्षको हताहती धेरै देखाउने र आफ्नो कम हताहती भएको देखाउने युद्धको प्रचलन छ । जातिवादी विस्तारवादी इज्रायलले प्रत्येक युद्धमा अरब भूमिमाथि अधिकार जमाउँथ्यो । सन् १९६७ मा भएको ६ दिनको लडाइँमा ६०,००० इस्क्वायर किलोमिटर (करिब २३ हजार इस्क्वायर माइल) इज्रायलले अरब भूमिमाथि अधिकार जमायो । यति धेरै जमिन भनेको इज्रायलले अधिकार गरेका जमिनभन्दा दोब्बर भन्दा बढी हो ।

इज्रायलले अधिकार जमाएको भूमिः
१) इजिप्टको सिनाई प्रायद्वीप र गाजापट्टी, जुनपछि सिनाइ प्रायद्वीप इजिप्टलाई क्याम्प डेभिड शान्ति सन्धि अन्तर्गत इज्रायलले फिर्ता ग¥यो । क्याम्प डेभिड सन्धि अमेरिकी राष्ट्रपति जीमी कार्टर, इजिप्टका राष्ट्रपति अनवर सादात र इज्रायली प्र.म. मेनेखम बेगिनले सेप्टेम्बर १९७८ मा ऐतिहासिक शान्ति सम्झौताको खाका तयार पारेर इज्रायल र इजिप्टले मार्च १९७९ मा सही गरेका थिए ।

(२) वेष्ट बैंक (पूर्वी जेरुसलम सहित) इज्रायलले जोर्डनबाट लियो । त्यसपछि पूर्वी जेरुसलमलाई औपचारिक रुपमै इज्रायलले आफ्नो अधिकार जमायो, जब कि वेस्ट बैंक प्यालेस्टिनीहरुले आफ्नो स्वतन्त्र राज्यको रुपमा राख्न संघर्ष गरिरहेछन् ।

३) सिरियाको गोलान हाइटलाई औपचारिक रुपमै इज्रायलले आफ्नो भूमिमा मिलायो । १९६७ को ६ दिने युद्धमा इज्रायलले तिनवटै अरेबेली सेनालाई परास्त ग¥यो र आफ्नो पहिलेको भूमिभन्दा चार दोब्बर भूमि थप ग¥यो । गाजालाई आफ्नो अलग स्वतन्त्र फिलिस्तिनी राज्यका लागि अक्टोबर ७,२०२३ देखि भएको युद्धमा डिसेम्बर २०२५ सम्म ७०,००० भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भइसकेको छ । यो संख्या गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपरोक्त संख्या भन्दा कैयौं गुना मरेका छन् । जसमा अप्रत्यक्ष रुपले मर्नेहरु भोकले, रोगले घरका भग्नावशेषमा पुरिएर मर्नेहरुको संख्या अज्ञात छ । आफूलाई सभ्य, सुशिक्षित, प्रजातन्त्रवादी, मानव अधिकारवादी भन्ने जातिवादी तथा विस्तारवादी इज्रायल र उसको संरक्षक अमेरिकी साम्राज्यवादीले गाजाका फिलिस्तिनी जनतामाथि गरेका जघन्य, बर्बर आम नरसंहारले इज्रायलका शान्तिप्रेमी मानवतावादी इज्रायली लज्जाले नतमस्तक रहेको पनि यथार्थ हो । विश्व इतिहासको कालखण्डमा इज्रायली जाइनिष्टहरुले आफ्नो मुलुकको कालो इतिहास रच्दै छन् । जातिवादी जाइनिष्ट इज्रायलीलाई सम्पूर्ण विश्वका शान्तिप्रेमी जनताले घृणा र तिरस्कार गर्नुका साथै “युद्ध अपराधी” भनेर अन्तर्राष्ट्रिय अदालतले घोषणा गरेको छ । जातिवादी इज्रायलीका लागि चार पाँच वर्षका बच्चाहरु पनि पछि आतंकवादी हुन्छ भनेर हत्या गरिरहेछ । संयुक्त राष्ट्र संघका कर्मचारी, अन्तर्राष्ट्रिय रेडक्रसका उद्धारकर्मी, डाक्टर, नर्सदेखि पत्रकारहरु जो गाजामा छन् ती सबै हमासका कार्यकर्ता सहयोगी भनेर हत्या गरिरहेछ । इज्रायली सेनाले २०० पत्रकारहरु १५०० स्वास्थ्यकर्मी सन् ७, अक्टोबर २०२३ देखि २०२५ सम्ममा हत्या गरिसकेको छ । अल जजीराका प्रमुख रिपोर्टर अनास अल शरीफ र अरु ६ जना पत्रकारहरुलाई संचारसेवाको पालमा निशाना साँधेर इज्रायली सेनाले हत्या गरिसकेको छ ।

स्वतन्त्र फिलिस्तिनी राज्यका लागि लडिरहेका हमासका लडाकाहरुका कैयौं कमाण्डरहरु र लडाकाहरु मारिए पनि पुनः क्षतिपूर्ति भैरहेछ । हमासका लडाकाहरु आफ्नो प्यारो मातृभूमिका लागि अत्याधुनिक हातहतियार, टैंक, बंकर बस्टर बम आदिले लैश सबैभन्दा शक्तिशाली इज्रायली सेनासँग साधारण हातहतियारले अभूतपूर्व बहादुरीका साथ ठूलठूला भवनहरुका भग्नावशेष तथा सुरुङहरुबाट युद्ध गर्दैछन् । विश्व इतिहासमा सयौं किलोमिटर जटिल सुरुङको संरचना निर्माण गरेर युद्ध भएको शायद छैन । एक जना लडाकु मात्र भए पनि जाइनिष्ट शक्तिसँग लडिरहनेछन् । जबसम्म जीत हासिल हुँदैन । विश्व जनमत फिलिस्तनी जनताका पक्षमा एक छ भने इज्रायल र साम्राज्यवादी शक्ति एकातिर छन् ।

उपरोक्त विवरणले इज्रायली शक्ति अरब जगतका लागि अजेय जस्तो भान परे पनि त्यसका पनि कैयौं ज्यादै कमजोर पक्ष छन्, किन भने जस्तो सुकै अग्लो पहाडको पनि टुप्पो हुन्छ र जस्तो सुकै गहिरो समुद्रको पनि पिँध भए जस्तो शक्तिशाली दुश्मनको पनि कमजोर संवेदनशील अंग हुन्छ । इज्रायल शक्तिशाली हुनुमा अमेरिकी साम्राज्यवादीको संरक्षकत्व हो । जति युद्ध, गृहयुद्ध त्यति मोटो नाफा हातहतियार उत्पादकहरुलाई हुन्छ । यसकारण अमेरिका सधै युद्ध पिपासु र रक्त पिपासु हुन्छ । तर पनि इज्रायल कसरी शक्तिशाली भयो भन्ने बारे सानो चर्चा गरौं ।

१) इज्रायल शक्तिशाली हुनुमा अत्यन्त उन्नत सैनिक प्रविधि ।
२) उच्च शिक्षा र प्रतिबद्ध जनता र अनिवार्य सैनिक सेवा ।
३) एउटा बलियो उन्नत टेक्नोलोजी, आविष्कारक उच्च प्रविधियुक्त अर्थतन्त्र ।
४) महत्वपूर्ण भूराजनैतिक समर्थन ।
५) ठूलो परिमाणमा सेनामा लगानी गर्छ, जसले गर्दा उच्च सैनिक क्षमता वृद्धि गर्न सकेको छ र वार्षिक सैनिक लगानी नै २३ अरब भन्दा बढी छ ।
६) सबैभन्दा ठूलो उद्यमशीलता ।
७) आइडिएफ यसको उन्नत प्रविधि, कठोर कठिन तालिम, बलियो संगठनात्मक संरचना छन् ।
८) इज्रायल रणनैतिक रुपले सुरक्षामा केन्द्रित भएर आविष्कार र सक्षम सशक्त जासुुसी संयन्त्रले गर्दा इज्रायल शक्तिशाली भएको हो । इज्रायलको मोसाव जासुसी संयन्त्र कति शक्तिशाली छ भने इरान, हमास, हौथी तथा हिज्बुल्लाका भित्री राज्य संयन्त्र, संगठन आदिमा घुसपैठ गरेर प्रमुख आणविक वैज्ञानिकहरु र नेतृत्व पंक्ति राजनैतिक नेताहरुको नै हत्या गर्ने गरेको छ । तर पनि कतिपय इज्रायली जासुस पत्ता लगाएर इरान, हमास हिज्बुल्लाहरुले दण्डित पनि गरेका छन् । मोसाबको निर्माण अमेरिकी सि आइएद्वारा गरिएको हो ।

इज्रायललाई अमेरिकी साम्राज्यवादीको संरक्षण नभएको भए फिलिस्तिनी जनता स्वाधीन भइसक्थे । अमेरिका अर्को क्षेत्र इरानमाथि हस्तक्षेप गर्ने वातावरण तयार पार्दै छ । इरानमा भएका प्रदर्शनहरुलाई बहाना बनाएर राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिएको छ । इरानले परमाणु बम बनाउन लागेकोमा इज्रायलमाथि खतरा हुने भनेर रोक्ने प्रयास गर्दैछ । विश्वका अमेरिका लगायत अरु मुलुकहरुले आणविक बम बनाउँदा विश्वशान्तिमाथि खतरा नहुने इरानले बनाउँदा खतरा हुने तर्क आफैमा हांस्यास्पद छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित