– धर्मेन्द्र बास्तोला , महासचिव, नेकपा (बहुमत)
( ६ कम्युनिस्ट पार्टीहरूले २०८२ पौष २५ गते काठमाडौँमा आयोजना गरेको निर्वाचन बहिष्कार सम्बन्धी घोषणा सभामा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव द्वारा व्यक्त विचार )
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सबैलाई थाहा छ कि गत भदौ २३ र २४ गते नेपालमा जेन्जी आन्दोलन भयो, त्यो आन्दोलनपछि नेपालमा नयाँ निर्वाचन गर्ने भनिएको छ। त्यो निर्वाचनले के गर्नेछ ? त्यसबारेमा हामी स्पष्ट हुन जरुरी छ कि यो चुनावले नेपालको पराधीनतालाई बदल्दैछ ? के यो चुनावपछि बन्ने सरकारले नेपाली समाजमा लामो समयदेखि अपेक्षा गरिरहेको समाजको परिवर्तन गर्नेछ ? के यो चुनावपछि बन्ने सरकारले अल्फा पुस्ता, जेन्जी पुस्ता वा त्यो भन्दा अगाडिका पुस्ता, वा हाम्रा नयाँ पुस्ताहरूको मागलाई सम्बोधन गर्नेछ ? उनीहरुको मागलाई, आवश्यकतालाई पुरा गर्नेछ ? पूरा गर्ने छैन बरु आजसम्म कायम रहँदै आएकोन पुरानो नवऔपनिवेशिकतालाई निरन्तरता दिनेछ। नवऔपनिवेशिक व्यवस्थाले नेपाललाई आर्थिक रूपले टाट पल्टाएको छ।नेपाली पूँजी समाप्त पारेको छ। राष्ट्रिय उद्योगहरू समाप्त पारेको छ। नेपाली उद्यमी , व्यवसायीहरूलाई बैंकको ऋणमा डुबाएको छ। नेपालका मजदुर, किसान, विद्यार्थीआम जनताका समस्याहरू यथावत रहेका छन्। के यी तमाम समस्याहरूलाई चुनावले समाधान गर्न सक्छ ? गर्न सक्दैन । यो चुनावले दलाल पुँजीवादी संसदीय प्रतिक्रियावादी व्यवस्थाको लुटलाई निरन्तरता दिनेछ । तसर्थ यस्तो अर्थहीन निर्वाचनलाई हामीले बहिष्कार गर्नुपर्दछ । यो दलाल पुँजीवादी व्यवस्था जसले राष्ट्रपति भवनमा आगो लगायो, जसले सर्वोच्च अदालतमा आगो लगायो ,यही व्यवस्थालाई बचाउनका लागि चुनाव हुँदैछ। यही संविधानलाई कायम राख्न चुनाव हुँदैछ। त्यसकारण नेपालका क्रान्तिकारी पार्टीहरू एक ढिक्का भएर यो निर्वाचनलाई बहिष्कार गर्न आम जनतालाई अपिल गरेका छौँ।
अहिले यहाँ सर्वपक्षीय सरकारको कुरा उठिरहेको छ। तर यो सर्वपक्षीय सरकारले नेपालको नवऔपनिवेशिकताको समस्यालाई समाधान गर्न सक्दैन। नेपालमा अहिले एकाधिकार पुँजीपतिहरूको लुटपाट चलिरहेको छ। त्यो लुटपाटको अन्त्य गर्नका लागि स्वाधीन संयुक्त सरकारको जरुरी छ। नेपालको राजनीतिक प्रणालीमा बदलाव आउन जरुरी छ । त्यो बदलावको निमित्त हामीलाई स्वाधीन संयुक्त सरकारको जरुरी छ। दोस्रो कुरा जनसंविधान बन्न जरुरी छ। हाम्रो देशमा संविधान छ । नेपाली जनताले ६० –६५ वर्ष संघर्ष गरेर , १० वर्ष जनयुद्ध गरेर निर्माण भएको संविधान छ । तर त्यो संविधान दलाल पुँजीपतिहरूको कब्जामा गएको छ। जनताको संविधान बनाइसकेपछि त्यो संविधानले निर्धारण गरेको निर्वाचन प्रणालीका आधारमा निर्वाचन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। केन्द्रीय संयुक्त सङ्घर्ष समितिको मान्यता पनि यही हो । जनतासित हाम्रो अपिल पनि यही हो। केन्द्रीय संयुक्त सङ्घर्ष समितिका संयोजक कमरेडले यहाँ आगामी कार्यक्रमको वाचन गरेर घोषणा गर्नुभएको छ। चरणबद्ध रुपमा हाम्रो कार्यक्रम हुनेछ । यही पुष २९ गते हामीले उपत्यका बन्दको कार्यक्रम राखेका छौं ।

