एक थान संसदको चुनाव वा एक थान मुर्कट्टा सरकार समस्याको समाधान होइन

आहुति, महासचिव,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल

( ६ कम्युनिस्ट पार्टीहरूले २०८२ पौष २५ गते काठमाडौँमा आयोजना गरेको निर्वाचन बहिष्कार सम्बन्धी घोषणा सभामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी का महासचिव आहुतिद्वारा व्यक्त विचार )

आज हामीले भनेका छौँ कि जेन्जी विद्रोहपछि नेपालको राजनीतिमा खालीपन सिर्जना भएको छ। दलालहरू सत्तामा बसेका छन् । यो सरकारको टाउको कहाँ छ कसैलाई थाहा छैन। दन्ते कथामा वा भूत प्रेतको कथामा हामीले सुनेका छौं टाउको नभएको मुर्कट्टा । त्यस्तै यो सरकारको पनि टाउको छैन कहाँबाट निर्णय हुन्छ कसैलाई थाहा हुँदैन । जस्ता मान्छेहरू मन्त्री भएका छन् तिनीहरू हास्यास्पद लाग्दछन्। अमेरिका घुम्न जान पाउँ भन्ने मन्त्रीहरू छन्। पार्टी बनाउँछ र म पार्टीको सदस्य छैन भन्ने जस्ता हासास्पद कुरा गर्दछन्। नबोल्ने छाँट छ,न नीतिमा निरन्तरता छ,न जनताले चुनेको हो,केही पनि छैन, तर कसैले टपक्क टिपेर माथि राखिदियो– कठपुतली सरकार। सबैतिरबाट के हल्ला गरिँदैछ भने एक थान चुनाव गरेपछि यो समस्या समाधान हुन्छ। यदि त्यसो हो भने के यो सरकार बन्नुभन्दा पहिले संसद् थिएन ? के यो सरकार बन्नुभन्दा पहिले सरकार थिएन ? हामीले भन्यौँ कि एक थान संसदको चुनाव वा एक थान मुर्कट्टा सरकार समस्याको समाधान होइन। पहिलो संविधान सभा किन विघटन गरियो? किनभने देश प्रगतिशील बाटोमा हिँड्ने स्थिति थिएन। दोस्रो संविधानसभापछि नेपालका पाँचवटा आधारभूत समस्याहरूलाई समाधान नगर्ने गरी, जनआन्दोलन र जनयुद्धको भावनालाई कुल्चने गरी संविधान जारी गरियो। त्यसैले अहिलेको समस्याको जड यही नयाँ संविधानमा छ। के नेपालमा असी लाख नेपाली चुलो नबोल्ने स्थिति भए पछि विदेश जानुपरेको चुनाव नभएर हो ? नेपालमा लगातार चुनाव भइरहेको छ ।कहिले स्थानीय भएको छ कहिले संसदको भएको छ चुनाव भइरहेको छ। पाँच पाँच वर्षमा तीन तीन वर्षमा चुनाव त भइरहेकै छन्। पञ्चायतकालमा पनि चुनावहरू हुन्थे। २०४६ सालको पछि पनि चुनावहरू भइरहेकै छन् । ८० लाख नेपाली विदेश नगैकन नेपालीहरूको चुुलो नबल्ने अवस्था जो देशमा सिर्जना भएको छ, के त्यो चुनाव नभएकाले हो? हैन, यसको जड भनेको दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था हो। जसले यो देशमा उद्योगधन्दा चल्नै दिएन। यो देशको कृषि क्षेत्रलाई निराश बनायो ।आइएमएफ र विश्व बैंक जस्ता साम्राज्यवादी संस्थाहरूको नीतिलाई यहाँ लागू गरियो। जसले गर्दा विदेश नगइकन नेपालीहरूलाई बाँच्नै नसक्ने स्थितिमा पुर्याइयो। किसान , मजदुरहरूको वर्गीय समस्या विकराल बन्दै गयो। यो वर्गीय समस्या समाधान गर्नुको सट्टा संविधानले सम्पत्तिमा व्यक्तिको अधिकार सुनिश्चित गर्यो, सम्पत्तिमा समुदायको अधिकार सुनिश्चित गरेन र सम्पत्तिमा राज्यको अधिकार पनि सुनिश्चित गरेन। जसका कारणले कृषि क्षेत्र निराश भयो। उद्योगधन्दा चौपट भयो। २०४० सालको आसपासमा मल कारखाना खोल्ने भनेर ललितपुरका किसानहरूको जग्गा जफत गरियो। अहिले ४० वर्ष भयो एउटा मल कारखाना पनि खुल्न सकेन। जसले गर्दा किसानहरू निराश हुँदै जानुपर्यो, उद्योग धन्दाहरु बर्बाद भए। के कारणले गर्दा यस्तो स्थिति आयो ? यो संविधानले नव उदारवादका विरुद्ध लड्ने कुरा गर्न सकेन। यो नयाँ संविधानले राष्ट्रिय स्वाधीनताका कुरा गर्न सकेन। यो नयाँ संविधानले भूमिसुधारको मुद्दा नै उडाइदियो। जग्गा जमिनमा किसानहरूको अधिकार बनाउनुको सट्टा यो संविधानले जमिन भूमाफियाहरुको जिम्मा लगायो । नेपालका महिलाहरू अरबमा बेचिने स्थिति सिर्जना गरिदियो। महिलाहरू माथिको पुँजीवादी शोषण अन्त्य गर्ने मुद्दा संविधानमा कहिँ पनि परेन। जात व्यवस्थाले नेपाली समाज थिलोथिलो भएको छ। तर दलितहरूको समस्या समाधान गर्ने बारेमा आधारभूत रुपमा यो संविधानले केही गर्न सकेन । नेपालका आदिवासी जनजातिहरूको भाषालाई मार्ने काम भयो। छ वटा प्रदेशमा खस नेपाली भाषीहरूलाई बहुमतमा हालिएको छ।

नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको वैदेशिक हस्तक्षेपको समस्या हो। नेपालको राजनीतिको सूक्ष्म व्यवस्थापनमा समेत वैदेशिक हस्तक्षेप छ। यो वैदेशिक हस्तक्षेप र यो नउपनिवेशिकताबाट निस्कनका लागि यो व्यवस्थाले कुनै काम गरेन । यो संविधानले पनि कुनै काम गर्न सकेन। बरु यहाँ राष्ट्रघाती एमसीसी सम्झौता लिएर थोपरियो। यस्ता बहुराष्ट्रिय कम्पनीहरूबाट नेपालका नदीनालाहरू बेचिन्छन्। एमसीसी सम्झौता अन्तर्गत एमसीए प्रोजेक्ट लागुभएका ठाउंहरुमा घरहरू बनाइँदैछ, भवनहरू निर्माण गरिँदैछ। त्यस्ता ठाउँहरूमा नेपालको कानुन लाग्दैन । एमसीए प्रोजेक्ट चलिरहेका ठाउँहरूमा उनीहरूले ओगटेको जग्गामा कुनै अपराधिक कार्य भयो भने त्यसको कानुन नेपालमा लाग्दैन त्यसको कानुनी कार्य अमेरिकामा हुन्छ। त्यसैले यहाँ नेपालभित्र साना साना अमेरिकाहरू निर्माण गरिँदैछ।

यो व्यवस्थाले जनजीविकाको समस्या पनि समाधान गर्न सकेन र सक्दैन। जनजाति , दलित, महिलाहरूको समस्या आधारभूतले समाधान भएन। वैदेशिक हस्तक्षेप पनि कम भएन। यसरी आधारभूत रूपले समस्याको समाधान नभएको परिस्थितिमा त्यसको जगमा जेन्जी विद्रोह जन्मिएको हो। नेपालका क्रान्तिकारी पार्टीहरूले नेपाली समाजलाई परिवर्तन गर्नका लागि लगातार संघर्ष गर्दै आएका छन्। जेन्जी विद्रोहपछि त्यो विद्रोहलाई अपहरण गरियो र प्रतिगमनतर्फ लाने प्रयत्न गरियो। प्रतिगमनतर्फ लगेर राजा ल्याउने आदि इत्यादि प्रयास भए। नेपाली समाजले त्यो कुरालाई अस्वीकार गरेको हुँदा त्यो सम्भव हुन सकेन। यसले गर्दा यथास्थितिवादलाई कायम राख्ने काम भएको छ। के एक थान सरकारको विघटन भएर अर्को सरकार बनाएर समस्याको समाधान भयो ? तिनै विचार भएका , त्यस्तै सोचाइ भएका , न तिनीसँग कुनै वैदेशिक हस्तक्षेप रोक्ने नीति छ, न गरिबको समस्या समाधान गर्ने कुनै कार्यक्रम छ, न राष्ट्रिय स्वाधीनता संरक्षण गर्ने नीति छ, त्यसै प्रकारका पार्टीहरु मध्येबाट संसद बनाएर के यो समस्याको समाधान हुन्छ ? कुनै हालतमा हुने वाला छैन । यहाँ व्यक्ति बिग्रेका कारणले समस्याहरू सिर्जना भएको हो भन्ने चर्चा गरिएको छ र सम्पूर्ण चिजलाई व्यक्ति केन्द्रित गरिएको छ। व्यक्तिहरू बिग्रेका हुन्, सडेका हुन् , गलेका हुन् , त्यही भएर त उनीहरूलाई जेनजी विद्रोहले बेस्सरी थप्पड हानेको हो। मूलतः समस्या व्यक्तिमा होइन व्यवस्थामा छ। त्यसकारणले व्यक्ति होइन व्यवस्था परिवर्तन गर्ने आन्दोलनलाई अगाडि बढाउन जरुरी छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित