ऋषि कट्टेल, अध्यक्ष, नेकपा
( ६ कम्युनिस्ट पार्टीहरूले २०८२ पौष २५ गते काठमाडौँमा आयोजना गरेको निर्वाचन बहिष्कार सम्बन्धी घोषणा सभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलद्वारा व्यक्त विचार )
कार्यक्रम सफल पार्न यहाँ उपस्थित हुनुु भएका सम्पूर्णमा नेकपा र केन्द्रीय संयुक्त संघर्ष समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । ६ वटा कम्युनिस्ट पार्टीहरू वर्तमान सत्ताले आयोजना गर्न थालेको संसदीय निर्वाचनलाई बहिष्कार गर्न चाहन्छौं। बहिष्कार मात्रै हाम्रो उद्देश्य होइन, हामीले हाम्रो पर्चामा , हाम्रो घोषणामा भनेका छौं कि हामीले देशमा स्वाधीन संयुक्त सरकार निर्माण गर्न चाहन्छौं। सरकार निर्माणपछि नयाँ संविधान निर्माण गरेर देशलाई नयाँ ढंगले अगाडि बढाउन चाहन्छौं। स्वाधीन सरकारले राज्य चलाउने व्यवस्था निर्माण गर्न चाहन्छौं। त्यसकारण हामीले यो चुनावलाई बहिष्कार गरेका हौँ। हामीले बहिष्कार किन पनि गरेका हौं भने २०७२ सालमा निर्माण भएको संविधान पूर्णरुपमा असफल भयो। भदौको जेन्जी विद्रोह मार्फत निर्माण भएको सरकार संविधान अन्तर्गत छैन। ०७९ मा निर्वाचित संसद विघटन भयो। कुन संविधान अन्तर्गत संसद विघटन भयो ? यसरी हेर्दा अहिले देश संवैधानिक रिक्तताको अवस्थामा छ। देशभित्र संवैधानिक होइन सुशीलाको कठपुतली सरकार छ। सरकार सेनाको ब्यारेकमा निर्णय गरेर बनाइएको सरकार हो। संवैधानिक आधारमा बनेको सरकार होइन । सेनाले बनाएको यो सरकार तानाशाही पनि छ।
पुराना भनिएका राजनीतिक दलहरू पूर्णरूपले असफल छन्। ०७९ पछि नै हामीले देख्यौं कि कहिले कांग्रेस एमाले , कहिले कांग्रेस माओवादी ,कहिले एमाले माओवादी गठबन्धन सरकारहरु पटकपटक बन्ने र फेरबदल हुने क्रम चलिरह्यो। के देखिन्छ भने पुराना राजनीतिक दलहरू देश सञ्चालन गर्ने कुरामा पूर्ण रुपमा असफल भएका छन्। भदौ २४ गतेको आन्दोलनपछि उदाएका भनेका वा नयाँ भनिएका राजनीतिक दलहरू पनि देश सम्हाल्न सक्ने हैसियत भएका हामीले देखेका छैनौं। जहाँसम्म देशको स्थायी सत्ताको कुरा छ २४ गतेको घटनामा एउटा नागरिकको घरमा आगो लागि भइरहँदा मलाई बचाउ मेरो घरमा आगलागि भयो भन्दा त्यहाँ राज्य छैन। राजनीतिक सत्ता मात्र होइन राज्यको स्थायी सत्ता पनि असफल भएको छ। देशको सेनालाई स्थायी सत्ता मानिन्छ। उसकै राष्ट्रपतिको भवन जल्दाखेरि उसले केही गर्न सकेन । न पुरानो राजनीतिक शक्तिहरू, न नयाँ राजनीतिक शक्तिहरू, न त देशको स्थायी सत्ता ले देशको अभिभावकत्व लिन सक्ने अवस्थामा छ। यिनीहरू चुनावको नाटक गरिरहेका छन्। देशको जिम्मा कसले लिने हो ? यो चुनावपछिको परिणाम र स्थिति के होला? तपाईं अनुमान गर्नुस् त ! यो चुनाव केका लागि गरिँदैछ ? ०७९ मा गरेको चुनाव एक डेढ् लाख मानिसले हल्ला गरेका भरमा भाडिन्छ भने यो चुनावपछि फेरि ५० हजार जना मान्छेले घेराउ गर्यो भने के हुन्छ ? दोस्रो कुरा, यिनीहरूको संसदमा चुनावबाट कसैले बहुमत लिएर आएर सरकार बनाउने अवस्था छ ? छैन । देशको यस्तो अवस्थामा विदेशी शक्तिहरू स्पष्ट शब्दमा भन्नुपर्दा इन्डो अमेरिकन शक्तिहरु नेपालको आन्तरिकम्यानेज्मेन्ट गर्न तछाडमछाड गरिरहेका छन् । यो अवस्थामा नेपालको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको सार्वभौमिकता रक्षाको प्रश्न सबैभन्दा चुनौतीको विषय बनेको छ। त्यसैले नेपाली जनताले देशको सत्ता आफ्नो हातमा लिनको निमित्त अग्रसर हुनुपर्ने बेला आएको छ। ६कम्युनिस्ट पार्टीले यो अवस्थालाई ध्यानमा राखेर नेपाली जनताको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता , नेपालको अखण्डताको रक्षाका लागि हामीले यो चुनाव बहिष्कार गर्ने निर्णय लिएका हौँ। हामीले एउटा नयाँ क्रान्ति मार्फत , एउटा नयाँ विद्रोह मार्फत यो देशको सत्ताको नेतृत्व गर्ने हिम्मत गरेनौ भने हामीले यो देशको स्वतन्त्रता को रक्षा गर्न सक्ने छैनौँ।
यो चुनाव बहिष्कारको प्रश्न केवल सत्ता परिवर्तनको विषयसँग मात्र सम्बन्धित छैन। यो बहिष्कारको विषय नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नसँग जोडिएको छ। त्यसकारण हरेक स्वाभिमानी नेपालीहरू, हरेक स्वतन्त्रताप्रेमी नेपालीहरू, हरेक मुक्तिकामी जनताले यो बेलामा चुप लागेर बस्नु हुँदैन। यदि हामीले जनताको सत्तालाई बलियो बनाउने ठाउँमा हामी जान सकेनौँ र अहिलेको बिग्रिएको स्थितिलाई नियन्त्रण गर्ने शक्ति आर्जन हामीले गर्न सकेनौं भने हाम्रो देशको अवस्था युक्रेनको अवस्थामा पुग्नेछ। भोलि पुरपुरोमा हात लगाएर केही पाइनेवाला छैन। कमसेकम १ लाख जनता सडकमा आइदिनुभयो भने यी प्रतिक्रियावादीहरू र यी दलालहरुले एमसीसी पास गर्न सक्दैनन् भनेर हामीले भनेका थियौं । हामीले भनेजस्तो गरी जनता सडकमा आएनन् र यी दलालहरूले एमसीसी पास गरारै छाडे। एमसीसी पास भयो भने नेपाल त्रिकोणात्मक सुपरपावरहरूको रणनीतिक क्रीडास्थल बन्नेछ भनेर हामीले भनेका थियौं। त्यसले गर्दा हाम्रो टाउकोमा बम पड्किने स्थिति आउन सक्छ हामीले भनेका थियौं। आज नेपालमा जुन किसिमको विदेशी शक्ति केन्द्रहरूको संघर्ष टकराइरहेको छ। त्यसैको परिणाम नै जेन्जी विद्रोह हो र आजको स्थिति पनि त्यसैले निम्ताएको हो।
विश्व अहिले नयाँ शीत युद्धको बाटोमा गइरहेको छ। पुरानो शीतयुद्ध सकियो, नयाँ शीतयुद्ध सुरु भएको छ। नेपाल अहिले विश्वको यस्तो सामरिक महत्वको ठाउँमा छ कि महाशक्तिहरू नेपाललाई केन्द्र बनाएर आफ्ना योजनाहरू कार्यान्वयन गर्ने ठाउँमा छन्। यस्तो अवस्थामा स्वाधीनता प्रेमी जनताले सत्ता आफ्नो हातमा ल्याउन सकेनन् भने देश बर्बाद हुनेवाला छ। यदि बहिष्कार आन्दोलनलाई ठिक ढंगले बुझेनौ र जनताले सत्ता आफ्नो हातमा लिने स्थिति निर्माण गर्नेतिर हामी लागेनौ भने हामी नेपाली जनताले दुर्भाग्यको स्थिति भोग्नुपर्नेछ । जसरी एमसीसीको बारेमा हामीले ध्यान नदिँदा आजको स्थिति आयो , भविष्यमा पनि दुर्भाग्यहरू भोग्नुपर्नेछ। देश जिम्मेवारी विहीन भएको अवस्थामा, अभिभावकविहीन भएको अवस्थामा जनता आफैं अगाडि सरेर देशको अभिभावकत्व लिने र देशको जिम्मेवारी लिने तहमा जानुपर्ने देखिन्छ ।
यो बहिष्कार आन्दोलन केवल चुनावसँग मात्र सीमित छैन। म फेरि पनि दोहोराएर भन्छु यो बहिष्कार आन्दोलन देशको स्वाधीनतासँग, देशको अखण्डतासँग, नेपाली जनताको जनजीविकासँग, नेपाली जनताको समग्र मुक्ति आन्दोलनसँग जोडिएको आन्दोलन हो। त्यसकारण ६ वटा कम्युनिस्ट पार्टी मेहनत गरिरहेका छौँ, प्रयासरत छौँ , सबै मुक्तिकामी, स्वाधीनता प्रेमी, न्यायप्रेमी, स्वतन्त्रता प्रेमी जनताहरूले यो आन्दोलन र अभियानलाई सहयोग गर्नुहुनेछ । मिडियाकर्मी साथीहरुले पनि सोच्नुस्। आम न्यायप्रेमी जनताले पनि सोच्नुस् कि यो आन्दोलनलाई सही ठाउँमा पुर्याउनको निम्ति यहाँहरुले मद्दत गर्नुहोस्। जनताको सहमतिका साथ, जनताको सहयोगका साथ, जनताको सत्ता निर्माण गर्ने आन्दोलनमा हामी जुटौं। हामी ६वटा पार्टी अहिलेको स्थितिलाई ठिक दिशामा अगाडि बढाउन र नेतृत्व गर्न हामी तयार छौं र त्यसको निम्ति हामी प्रतिबद्ध छौं। आन्दोलन र अभियानलाई सहयोग गर्नको निमित्त पुनः अपिल गर्दै बिदा हुन्छु , धन्यवाद ।

