मनास्लु संरक्षण क्षेत्रमा गैरकाष्ठ वन पैदावार, पारिस्थितिकी र मानववनस्पति सम्बन्ध

 

–समिर भण्डारी र साथीहरु

मनास्लु संरक्षण क्षेत्र नेपालको तेस्रो र कान्छो संरक्षण क्षेत्र हो, जुन १९९८ मा स्थापना भएको थियो । गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित यो क्षेत्र जैविक विविधता र सांस्कृतिक सम्पदाका दृष्टिकोणले अत्यन्त अद्वितीय छ। गैरकाष्ठ वन पैदावार भन्नाले काठ बाहेक वनबाट पाइने अन्य जैविक स्रोतहरू जस्तै जडीबुटी, फलफूल, चोप, कन्दमूल र रेसाहरूलाई बुझिन्छ, जसको प्रयोग घरायसी आवश्यकता, बजार र धार्मिक वा सांस्कृतिक कार्यका लागि गरिन्छ । नेपालमा करिब ४४.७४५ वन क्षेत्र रहेको छ र झन्डै २००० भन्दा बढी गैरकाष्ठ वन पैदावारका प्रजातिहरू उपयोगी मानिन्छन् । ग्रामीण भेगका बासिन्दाहरू, विशेष गरी गुरुङ समुदाय, जीविकोपार्जनका लागि यस्ता वन पैदावारहरूमा प्रत्यक्ष रूपमा निर्भर छन् । यो अनुसन्धान मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने चुमनुब्री गाउँपालिकाको सिर्दिबास वडा नं ३ को पांसिङ र न्याक क्षेत्रमा केन्द्रित थियो । पांसिङ १८१४ मिटरको उचाइमा र न्याक २२७७ मिटरको उचाइमा अवस्थित छ। अनुसन्धानका क्रममा सन् २०२५ को मार्च महिनामा सिर्दिबासका विभिन्न उचाइमा वैज्ञानिक नमूना संकलन गरिएको थियो भने जडीबुटीका लागि प्रयोग गरि पारिस्थितिकीय नमुना संकलन गरिएको थियो । स्थानीय गुरुङ समुदायको परम्परागत ज्ञान ९नृजातिवनस्पति विज्ञान० संकलन गर्न समूह छलफल र मुख्य व्यक्तिहरूसँगको अन्तर्वार्ता लिइएको थियो । वनस्पतिहरूको घनत्व, आवृत्ति र महत्त्व मूल्य सूचकांक गणनाका आधारमा तथ्याङ्क विश्लेषण गरिएको थियो ।

नेपालले विश्वको कुल भूभागको मात्र ०ं०३% ओगटे पनि यहाँ विश्वको कुल वनस्पतिको ३.२%हिस्सा पाइन्छ । नेपालका ११८ इकोसिस्टमहरूमा विश्वका २% फूल फुल्ने वनस्पति, ३%  उन्यु वर्ग र ६% झ्याउ वर्गका वनस्पतिहरू रहेका छन् । यस्तो जैविक विविधतालाई संरक्षण गर्न स्थानीय स्तरमा वनस्पतिको गणना, वैज्ञानिक नामकरणको अद्यावधिक र पारिस्थितिकीय अवस्थाको अध्ययन अपरिहार्य हुन्छ। नेपालको गोरखा जिल्लामा अवस्थित मनास्लु संरक्षण क्षेत्र जैविक विविधता र सांस्कृतिक सम्पदाका दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। हालै अनुसन्धानकर्ता समिर भण्डारी र उनको टोलीले सिर्दिबास क्षेत्रमा गरिएको मनास्लु संरक्षण क्षेत्रको सिर्दिबासमा गैरकाष्ठ वन पैदावारको वन पारिस्थितिकी र नृजातिवनस्पति विज्ञान विषयक अनुसन्धानले यस क्षेत्रका वनस्पति र स्थानीय गुरुङ समुदायबीचको गहिरो सम्बन्धलाई संकलन गरेको तथ्याङ्क अनुसार उजागर गरेको छ । अनुसन्धानले मुख्य गरी स्थानीय गुरुङ समुदायले प्रयोग गर्ने गैरकाष्ठ वन पैदावारहरूको अभिलेखीकरण र वर्गीकरण गर्ने, स्थानीय बासिन्दामा रहेको परम्परागत ज्ञान र प्रथाको अध्ययन गर्ने, वनस्पतिहरूको पारिस्थितिकीय अवस्था, घनत्व र विविधता सूचकांक गणना गर्ने, सामाजिक र आर्थिक रूपमा महत्त्वपूर्ण प्रजातिहरूको पहिचान गर्ने उद्देश्यहरू थिए।

यस अध्ययनले सिर्दिबास क्षेत्रमा कुल ४७ परिवारका ८४ प्रजातिका सम्भावित गैरकाष्ठ वन पैदावारहरू सूचीकृत गरेको छ। यी वनस्पतिहरूलाई तिनीहरूको जीवन स्वरूपका आधारमा वर्गीकरण गरिएको छ जहाँ जडीबुटी ४१ प्रजाति, झाडी २२ प्रजाति, रूख १७ प्रजाति र लहरो ४ प्रजाति समावेस छन् । गैरकाष्ठ वन पैदावारहरूको अध्ययनका अनुसार, न्याक क्षेत्रमा ६१ प्रजातिहरू पाइएका छन् भने पांसिङमा ४८ प्रजातिहरू मात्र भेटिएका छन् विशेषगरी पांसिङमा मानवीय क्रियाकलाप र प्राकृतिक अवरोध बढी भएकाले त्यहाँ प्रजाति संख्या कम रहेको पाइएको छ ।

सिर्दिबासका गुरुङ समुदायले परापूर्वकालदेखि नै यी वनस्पतिहरूको प्रयोग गर्दै आएका छन्। अनुसन्धानले तिनीहरूको प्रयोगका आधारमा वनस्पतिहरूलाई विभिन्न श्रेणीमा विभाजन गरी औषधिमा कुल ६८ प्रजातिहरू विभिन्न रोगको उपचारका लागि प्रयोग हुने पाइएको छ। खाद्य सामग्रीमा ३३ प्रजातिहरू फलफूल, तरकारी वा मसलाका रूपमा प्रयोग भएको त्यस्तै घाँसपातमा ११ प्रजातिहरू पशु आहारका लागि प्रयोग भएको साथै धार्मिक कार्यमा ८ प्रजातिहरू पूजापाठ र धार्मिक अनुष्ठानमा प्रयोग भएको तत्थयांकले देखाएको छ । विशेष गरी कुरिलो, पाषणभेद, ओखर र टिमुर जस्ता प्रजातिहरू यस क्षेत्रका लागि सामाजिक र आर्थिक रूपमा निकै महत्त्वपूर्ण मानिएका छन्। अनुसन्धानले वनस्पतिहरूको पारिस्थितिकीय सन्तुलन बुझ्न ुमहत्त्व मूल्य सूचकांक र पुनरुत्पादनुको विश्लेषण गरेकोमा पांसिङमा सल्ला र न्याकमा गोब्रे सल्लाको प्रभुत्व बढी देखिएको छ भने रूखहरूको पुनरुत्पादन अवस्थामा केही चिन्ताजनक तथ्याङ्क देखाएको छ। वन डढेलो, अत्यधिक चरिचरन र भूक्षयका कारण साना बिरुवाहरू हुर्कन कठिन बनाएको छ। साना बिरुवा र बेर्नाको संख्या वयस्क रूखको तुलनामा कम हुनुले भविष्यमा वनको संरचनामा असर पर्न सक्ने संकेत गर्दछ। यस अनुसन्धानको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको वनस्पतिहरूको संरक्षण स्थितिको विश्लेषण हो। अध्ययन गरिएका ८४ प्रजातिमध्ये ४९ वटा प्रजातिहरू रेड लिस्टमा सूचीकृत छन्। यसले मनास्लु क्षेत्रका गैरकाष्ठ वन पैदावारहरू विश्वव्यापी रूपमै संरक्षणका लागि कति महत्त्वपूर्ण छन् भन्ने प्रमाणित गर्दछ ।

कुनै पनि क्षेत्रको विकास र संरक्षणका लागि त्यहाँ केकस्ता प्राकृतिक स्रोतहरू छन् भन्ने थाहा पाउनु अनिवार्य हुन्छ। वनस्पतिको व्यवस्थित अध्ययन वा फ्लोरिस्टिक रिसर्चुले यस्ता आवश्यक कुरामा मद्दत पुर्‍याउँछ, नेपालमा पाइने धेरै वनस्पतिहरूमा औषधीय गुण छन्। यस क्षेत्रमा पाइएका ६८ प्रजातिका गैरकाष्ठहरू परम्परागत उपचारमा प्रयोग गरिन्छ यसमा कतिपय बिरुवाहरू रुघाखोकी, पेटको समस्या र घाउखटिरा निको पार्न स्थानीय समुदायले प्रयोग गर्दै आएका छन्। अध्ययनमा पाइएका कुरिलो र टिमुर जस्ता बिरुवाहरू पेटको विकारका लागि अचुक औषधी मानिन्छन्। कुरिलो, पाषणभेद, ओखर र टिमुर, र विभिन्न सुगन्धित वनस्पतिहरूको संकलन र बिक्रीबाट स्थानीय बासिन्दाले आम्दानी गरेका छन् यसले ग्रामीण अर्थतन्त्रका लागि मेरुदण्डको भूमिका खेलेको छ । यी मध्य धेरै वनस्पतिहरू स्थानीय चाडपर्व र धार्मिक अनुष्ठानमा प्रयोग गरिन्छ। यसरी वनस्पति विविधताले स्थानीय संस्कृति र प्रकृति बीचको गहिरो सम्बन्धलाई जोगाइराख्न मद्दत गरेको छ।

व्यवस्थित अध्ययनले कुन समयमा कुन जडीबुटी संकलन गर्ने र त्यसको व्यावसायिक खेती कसरी गर्ने भन्ने मार्गचित्र प्रदान गर्दछ। वनस्पति विविधताको व्यवस्थित अध्ययनले वनमा लुकेका बहुमूल्य जडीबुटीहरूको पहिचान गर्न सघाउँछ। यदि हामीलाई कुन प्रजाति कति संख्यामा छ र कहाँ पाइन्छ भन्ने वैज्ञानिक जानकारी भएन भने, ती स्रोतहरूको अत्यधिक दोहन हुने खतरा रहन्छ। व्यवस्थित अध्ययनले दिगो संकलन, जैविक चोरी नियन्त्रण, नीति निर्माण, चुनौती र संरक्षणका उपायहरू जस्ता बहुआयमिक पाटोमा सहयोग पुर्याउछ।
मनास्लु क्षेत्रका बासिन्दाको जीविकोपार्जनको मुख्य स्रोत कृषि भए पनि गैरकाष्ठ वन पैदावारको व्यापारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको डेटाले प्रस्तुत गरेको छ। स्थानीय मानिसहरूले जडीबुटी संकलन गरी आफ्नो घरायसी आवश्यकता पुरा गर्नुका साथै अतिरिक्त आम्दानी समेत गर्ने गरेका छन्। केही स्थानीय बासिन्दाहरूले यस्ता पैदावार बिक्री गरेर वार्षिक रूपमा उल्लेख्य आम्दानी गर्ने गरेको देखाएको छ। यस क्षेत्रको जैविक विविधतामा केही प्रमुख रहेका चुनौतीहरूमा वन डढेलो, जथाभावी काठ कटान र चरिचरनका कारण प्राकृतिक पुनरुत्पादनमा मानवीय अवरोध, व्यावसायिक लाभका लागि जथाभावी संकलन र नयाँ पुस्तामा परम्परागत औषधीय ज्ञान हस्तान्तरण हुन नसक्नु अर्को ठूलो चुनौती हो । बिश्वको बढ्दो तापक्रम र वर्षाको अनिश्चितताले गर्दा केही बहुमूल्य प्रजातिहरू लोप हुने खतरामा छन् ।

मनास्लु संरक्षण क्षेत्रको दिगो विकासका लागि गैरकाष्ठ वन पैदावारहरूको संरक्षण अनिवार्य छ । अनुसन्धानले स्थानीय बासिन्दाहरूलाई यस्ता वनस्पतिहरूको सही र दिगो संकलन विधिको बारेमा तालिम दिन, परम्परागत ज्ञानको अभिलेखीकरण गरी नयाँ पुस्तालाई यसबारे सचेत गराउन, वन डढेलो नियन्त्रण र चरिचरन व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न र पर्यापर्यटनसँगै जडीबुटी खेतीलाई प्रोत्साहन गर्न प्राथमिकता रहेको बताएको छ। मनास्लु संरक्षण क्षेत्रको पारिस्थितिक सन्तुलन र गुरुङ समुदायको आर्थिक विकासका लागि गैरकाष्ठ वन पैदावारहरूको भूमिका अपरिहार्य छ। यी बहुमूल्य स्रोतहरूको दिगो व्यवस्थापन र संरक्षणले भविष्यमा यो क्षेत्रको समृद्धि सुनिश्चित गर्नेछ। यसले केवल जैविक विविधताको रक्षा मात्र नभएर स्थानीय गुरुङ समुदायको आर्थिक अवस्थामा पनि सुधार ल्याउन मद्दत पुर्‍याउँछ ।

स्रोतः समीर भण्डारी र सहकर्मीहरूद्वारा सिर्दिबास, मनास्लु संरक्षण क्षेत्रमा गरिएको अनुसन्धान प्रतिवेदन

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित