काठमाडौं । आज माघ महिनाको प्रथम दिन माघे सक्रान्ति पर्व हो । मधेशमा मैथिल र थारुसमुदायहरुले आज वडो सदभावका साथ यो चाड मनाउने गर्दछन् । थारु समुदायमा आजको दिन लगभग नयाँ वर्षका रुपमा मनाईन्छ। आजकै दिन किरात वशंले काठमाडौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किरात संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो भोज खाने अनि जाग्राम बस्ने चलन छ, अनन्ती नामक चामलको जाँड पश्चिमी थारु समुदायमा वहुत चर्चित छ । यसैगरि छोरीचेलीहरु माईत आउने र फर्कदाखेरि उपहारहरु दिएर पठाउने चलन छ ।
नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् , आज काठमाडौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।
माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ मनाउँछन् । मगरहरुले यसलाई तरुल खाने पर्व पनि भन्छन् ।
माघे सक्रान्तिमा चितवनको देवघाट, गुल्मी, पाल्पा र स्याङ्जाको संगम रिडी, प्यूठानको ऐरावती र गौमुखी बागलुङको जैमिनिमा मेला लाग्दछन् ।

