राष्ट्रिय स्वाधिनताका पक्षमा सशक्त उर्जाशील गीत–‘यही माटोमा’

  • नारायण शर्मा

यही माटोमा पसिना पोख्छौं

युवाको आँटले

विदेशी भारी नबोकौं अब

नेपाली काँधले……

साँच्चै कति सुन्दर बन्थ्यो होला यो देश– विदेशी भूमिमा रगत र पसिना बगाइरहेका युवा युवतीहरु स्वदेशमै फर्किएर यहीको माटोमा पसिना बगाएमा ! नेपाली पसिनाले विदेशी भूमि सिंचित भैरहेको छ तर आफ्नै मातृभूमि यहाँ मरुभूमि पल्टिँदै गैरहेको छ ।  देशको यो दुर्दशापूर्ण अवस्थाको यथार्थ तस्विर झल्काउने एउटा चेतनामूलक गीत नेपाली सांगीतिक बजारमा आएको छ ।  हो, जनगायक जीवन शर्माको स्वर र सङ्गितमा देशमा स्वाधिन अर्थतन्त्र निर्माणमा अभिप्रेरित गर्ने नया  प्रगतिशील गीत “यही माटोमा”  सार्वजनिक  भएको छ ।  गितका शब्द युवा साहित्यकार आबिस्कार कलाले लेखेका छन ।  गीतमा  खासगरी नेपाली युवाहरु रोजगारिका निम्ति दिनहु  विदेशिनु पर्ने तितो यथार्थलाई मर्मस्पर्शी  ढंगले  शब्द उनिएको छ ।  देशमै रोजगारिको अवसर सृजना गर्न  र मीठो मसिनो खाएर आफ्नै देशमा जिउन गीतले प्रस्ट  सन्देश दिएको छ ः  

परदेशमा खेती गाउँघर छ खाली

रित्तियो संस्कृति

भाषा र भेष मासिंदै गयो

 फैलियो विकृति….

बैदेशिक रोजगारीको बाढीले देशको उर्बर भूमिलाई मरुभूमि बनाएको मात्र छैन, यहाँको भेषभुषा र संस्कृतिलाई समेत अतिक्रमण गर्दै गैरहेको छ ।  हाम्रो आफ्नो राष्ट्रिय संस्कृति संकटको भूमरीमा फसिरहेको छ भने पाश्चात्य छाडा संस्कृतिले हाम्रो नयाँ पिंढीको दिमागलाई विषाक्त पार्दै लगिरहेको छ ।  बैदेशिक रोजगारीका कारण गाउँघर सुन्य जस्तै भएको छ ।  खेतीयोग्य उर्बर भूूमि बाँझो पल्टिइरहेका छन् ।  छोरो धन कमाउन भन्दै विदेश लाग्छ–बुहारी आफ्ना छोराछोरी पढाउन भन्दै बजार झर्छिन, गाउँको घरमा पिंढी कुर्ने उमेरका बुबा आमा मात्र बाँकी रहेका छन् ।  यो अहिलेको नेपालको यथार्थ हो ।  यही यथार्थ तस्विरलाई गीतकार आविष्कार कलाले यस गीतमा उतारेका छन् । 

‘यही माटोमा’  बोलको यस  गीतको  सङ्गीत सम्योजन नारायण दंगालले गरेका छन् भने सम्पादन  तुलसी बास्कटोले गरेका छन् ।  गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल बाट २०७८ चैत्र १२ गते सार्वजनिक भएको  छ ।  गीतका शब्दहरुले न्यायपूर्ण संगीत पाएका छन् ।  जनगायक जीवन शर्माको संगीत र स्वर पाउँदा गीत झनै ओझपूर्ण बनेको छ ।  गीतको भिडियो ४ मिनेट ४४ सेकेण्डको रहेको छ ।   भिडियोमा देशको प्राकृतिक सुन्दरतादेखि देशभित्रै  पसिना बगाएर काम गरिरहेका श्रमिकहरुको दृष्यलाई कलात्मक ढङ्गले उनिएको छ ।  देशको प्राकृतिक सम्पदा र मनमोहक दृश्यहरुको भरपुर उपयोग गरेर देशलाई समृद्धिको मार्गतर्फ अघि बढाउन सकिने प्रष्ट सन्देश गीतले प्रवाह गरेको छ ।   देशमा बोलिने विभिन्न राष्ट्रिय भाषाहरु र संस्कृतिको संरक्षण गर्न एवं कुसंस्कृति र विकृतिहरुका विरुद्ध जुध्न गीतले अभिप्रेरित गर्दछ ।  गीतमा देशको अहिलेको आर्थिक स्थिति– रेमिट्यान्समा निर्भरतालाई प्रष्ट रुपमा चित्रण गरिएको मात्र छैन त्यसरी रेमिट्यान्सको आधारमा अर्थतन्त्र धानेर देश उभो लाग्न नसक्ने प्रस्ट सन्देस पनि दिइएको छ ः–

पहाड माथि हिमालका चुली

आकासका उचाई

रेमिट्यान्सबाट देश चलाउने

नराखौं सोचाई….

देशका शासकहरु, जो रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिरहेका छन् र त्यसैमा रमाइरहेका छन्, तिनलाई सशक्त रुपमा खबरदारी गरेको छ यस गीतले ।  रेमिट्यान्सबाट देशको अर्थतन्त्र धान्ने सोचाई पराधिन सोचाई हो, दास मनोबृत्ति र लाचारी प्रवृत्ति हो ।  देशका शासकहरु रेमिट्यान्सको आम्दानीमा रमाउँदासम्म देशमा स्वाधिन अर्थतन्त्रको विकास हुन सक्दैन ।  स्वाधिन अर्थतन्त्रको जग बलियो नबनाइकन हामीले स्वाधिन, स्वाबलम्बी र सम्बृद्ध देश बनाउन सक्दैनौं ।  त्यसैले हामीले रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलाउने सोचाईलाई बदल्नुपर्दछ ।  लाखौं लाखको संख्यामा विदेशिइरहेको नेपाली श्रमलाइ देशभित्रै राख्नका निम्ति सरकारले देशमा रोजगारीका अवसरहरु सिर्जना गर्दै जानुपर्दछ ।  सदावहार हिउँ सजिरहने हाम्रा हिमालहरु, कलकल गर्दै पहाडबाट झर्ने हाम्रा झरना र नदीहरु, तराइको यो उर्बर भूमि–साँच्चै के छैन हामीसँग ? प्रकृतिले हामीलाई धेरै कुरा सित्तैमा दिएको छ ।  तर त्यसको सही प्रकारले हामी सदुपयोग गर्न सकिरहेका छैनौं ।  देशका शासकहरु भएका नदिनाला र उद्योग धन्दा विदेशीको पाउमा सुम्पिएर रेमिट्यान्सबाट देश चलाउने सपना पालिरहेका छन् ।  अब साँच्चै देश समृद्ध बनाउने हो भने शासकहरुको उक्त सोचाईमा सबै भन्दा पहिले परिवर्तन गर्नु पर्दछ ।   गीतले प्रष्ट रुपमा त्यही सन्देश प्रवाह गर्न खोजेको छः–

युवालाई बोक्ने जहाज नल्याउ

नेपाली आकासमा

नेपालका सन्तान विदेशमा लगि

नफर्काउ बाकसमा….

बैदेशिक रोजगारीभित्रको यथार्थ कारुणिक गाथा बोलेको छ यो गीतले ।  समस्या देखाउने मात्र होइन त्यो समस्याको समाधान खोज्ने मार्ग पनि देखाएको छ यस गीतले ।  गीत साँच्चै नै हृदयस्पर्शी खालको बनेको छ । 

   यहि माटोमा” गीतमा रचनाकार आविस्कार कलाले अत्यन्त सरल शब्दमा राष्ट्रिय स्वाधिनताको भाव  जगाउने सुन्दर शब्दहरु उनेका छन ।  यस अघि पनि आविष्कार कलाले “सगरमााथा गर्वको छाती” “खबरदार विस्तारवाद” लगायतका राष्ट्रिय भावका गीतहरु ल्याएका थिए ।  यस्तै राष्ट्रप्रेमको भावले ओतप्रोत रहेका उनका सयौं कविता, दर्जनौं कथा र मुक्तकहरु रहेका छन् ।  उनका सिर्जनाहरु हेर्दा प्रष्ट थाहा हुन्छ उनी देशको स्वाधिनता, राष्ट्रियता, संस्कृति र भेषभुषाप्रति निकै गम्भीर र संवदेनशील छन् ।  यस गीतबाट प्रष्ट हुन्छ इन्जिनियरिङ पेशामा निर्माण सामाग्रीको संयोजन गर्न मात्र होइन गितका शब्दहरुमा देशप्रेमको भाव उन्न  पनि  आबिस्कार कला निकै  पोख्त भैसकेका रहेछ्न ।   देश प्रतिको उनको प्रेम यसैगरी छछल्किंदै जाओस् ! आगामी दिनमा पनि राष्ट्रप्रेमका भावले ओतप्रोत यस्तै गीतहरुले निरन्तरता पाउँदै जाउन ।  उर्जाशील गीत “यही माटोमा” र आविष्कार कलाको समग्र सांगीतिक यात्राले सफलताको सिंढी चढ्दै जाओस् हाम्रो हार्दिक शुभकामना !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित