– राधिका खतिवडा (ढकाल)
२०४९ सालदेखि २०५६ सालसम्म मैले सिद्धार्थ इङ्गलिश स्कूल लक्ष्मीमार्ग, मोरङमा पढाउने काम गरें । मोरङको बेलवारी, लालभिट्टीमा हाम्रो घर थियो । हाम्रो घरमा जनमोर्चाको कार्यालय थियो । पढ्ने र अखिल (छैठौं) मा काम गर्ने, पार्टीका होलटाइमर साथीहरु आउने जाने चहलपहल भइरहन्थ्यो । हाम्रो परिवारकै पहलमा कैयौं कामरेडहरुको प्रगतिशील विवाह गराएका थियौं ।
२०५४ साल चैत्र २४ गते जनआन्दोलन दिवस मनाउने बेला प्रहरी प्रशासनले हामीलाई गिरफ्तार गर्ने पक्का थियो । त्यो दिन बेलवारीमा हाटबजार लागेको थियो । हामीले हाटबजारका विभिन्न चोकमा उभिएर पालैपालो भाषण गर्न थाल्यौं । एउटालाई प्रहरीले पक्रन्छ, लान्छ, फेरि अर्को चोकमा अर्को साथीले बोल्न थाल्नुहुन्छ । त्यसो गर्दा धेरै साथीहरुलाई बेलबारी चौकीमा थुपा¥यो । मेरो परिवारको सबैलाई लग्यो । प्रहरीहरुले तपाई भोलि स्कूल जानुपर्दछ, केटाकेटी लिएर जानुस् । अरुलाई यही राख्दछौं भनेका थिए । हाम्रा केटाकेटी सबैले हुँदैन कि सबैलाई छोड्नु कि सबैलाई राख्नु भनेर अडान राखे । अन्त्यमा हामीलाई रातीमा प्रहरीले छाड्यो तर केही साथीहरुलाई प्रहरी चौकीमै राखेर केही दिन पछि छाड्यो । त्यतिबेला पूर्वी नेपालमा पार्टीको राम्रो संगठन विकास हुँदै गएको थियो ।
२०५६ सालमा मैले शिक्षक जागिर छाडे र पार्टी काममा लागें । २०५९ सालमा एकातिर मसाल र एकताकेन्द्रको पार्टी एकता भयो र अर्कोतिर देशमा प्रतिगमन पनि भयो । हामी प्रतिगमन विरुद्धको आन्दोलनमा लाग्यौं । एक महिनासम्म विराटनगरमा राजनीतिक दलका प्रतिनिधिहरु अनसन बसेका थिए । त्यो अनसनका बेला हाम्रा केटाकेटीहरु पनि अनसनमा बसे । कहिलेकांही अनुसनमा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला आउनु हुन्थ्यो । यी साना केटाकेटीहरुलाई अनसनमा नराखौं, मानवअधिकारवादीहरु र राजाका मान्छेले केटाकेटीलाई आन्दोलनमा प्रयोग गरेको भन्छन् भन्नुहुन्थ्यो तर हाम्रा केटाकेटीहरु प्रजातन्त्र हामीलाई पनि चाहिन्छ भन्दै अनसनमा बस्थे । कहिलेकाँही गिरिजाप्रसाद कोइरालाले केटाकेटीहरुलाई फ्रुटी किनिदिनु हुन्थ्यो । हाम्रा बच्चाहरु अंकल कति गोरो हुनुहुँदो रहेछ भन्दै फ्रुटी खान्थे ।
प्रतिगमन विरुद्ध आन्दोलनका बेला २०६३ मा बेलवारीमा सपना गुरुङ हत्याकाण्ड भयो । सेनाका मान्छेले स्थानीय सपना गुरुङलाई बलात्कार गरेर मारेछन् । आम जनता उर्लिएर प्रहरी चौकी घेर्न गए । म पनि गए । सेनाले गोली चलायो । आधा दर्जन भन्दा बढी मानिसको हत्या भयो । दर्जनौं घाइते भए । म नालीमा लुकेर बाँचे । स्थानीयस्तरमा योगेन्द्र ढकालजी र केन्द्रबाट परी थापाको नेतृत्वमा त्यो घटनाको छानवीन आयोग बनेको थियो । घाइते र मृतक परिवारलाइई क्षतिपूर्ति दिने काम भएको थियो ।
घरको आर्थिक स्थिति कमजोर भएपछि ०६३ मंसिर पछि म ४वर्ष कुवेत र योगेन्द्र ढकालजी कतार जानु भयो । कुवेतमा रहँदा तालिम नलिई विदेश गएका अनपढ नेपालीहरुको दर्दनाक स्थिति देखें । उनीहरुको घरमा पैसा पठाउन उनीहरुलाई अप्ठ्यारो परेको बेला मद्दत गरेर नेपाली महिलाहरुलाई मद्दत गरेकी थिएँ । २०७० को संविधानसभा निर्वाचनमा र०७४को संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेकी थिएँ । २०७६ मा नेकपा (मसाल) को आठौं महाधिवेशन भएको थियो । त्यो महाधिवेशनमा म मोरङबाट प्रतिनिधि भएकी थिएँ । आठौं महाधिवेशन अघि र पछि फरक मतका साथीहरुलाई नेतृत्वले कार्वाहीगर्दै गएपछि अर्को नेकपा (मशाल) गठन भयो । म मशाललाई समर्थन गरें ।