-रामबहादुर बुढा
एस.पी.पी. भनेको के हो ?
The state Partnership Program लाई संक्षिप्तमा एसपीपी भन्ने गरिन्छ । यसको नेपाली अनुवाद “राज्य साझेदारी कार्यक्रम” हो । आम रुपमा बोलिचालीमा “राज्य साझेदारी कार्यक्रम” भन्नुको सट्टा “एसपीपी” नै प्रचलित भएकाले यहाँ यस लेखमा पनि एसपीपी नै भनिनेछ ।
संयुक्त राज्य अमेरिकाको सेना नेश्नल गार्डसित अन्य देशका सेनाहरुले द्विपक्षीय सम्बन्ध कायम गर्नु, सैन्य क्षमतामा वृद्धि गर्ने उद्देश्यले संयुक्त सैनिक अभ्यास गर्नु, प्राकृतिक प्रकोप, मानवीय सहयोगका कामहरुमा मिलीजुली काम गर्नु नै एसपीपी हो भनिएको छ । (U.S. Embassy in Nepal. n.d)
नेपाली सेनाले अमेरिकी सेनासित संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । त्यसो त भारतीय सेनासित नेपाली सेनाको विशेष सम्बन्ध छ । ब्रिटिश सेना र चिनियाँ सेनासित पनि नेपाली सेनाको सम्बन्ध छ । नेपाली सेनाले चिनियाँ, भारतीय, अमेरिकी, ब्रिटिश सेनासित छुट्टाछुट्टै समयमा संयुक्त अभ्यास गर्ने गरेको छ । तर अहिलेसम्म एसपीपीमा सम्झौता भएको छैन । भू राजनीतिक दृष्टिकोणले तथा नेपालको असंलग्न परराष्ट्र नीतिलाई ख्याल गरेर एसपीपी सम्झौता गर्नु हुन्न भन्ने नेपालमा ठूलो जनमत छ ।
एस.पी.पी. को ऐतिहासिक पृष्ठभूमि
सन् १९८९ मा जर्मनको वर्लिनको पर्खाल ढलेको र सन् १९९० मा सोभियत संघ विघटन भएको अवस्थामा रुसबाट अलग्गिएका देशहरु जस्तै ताजिकिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, काजाकिस्तान र पूर्वी यूरोपका देशहरुसित अमेरिकाको केन्द्रीय कमाण्ड सुरक्षा समन्वय रणनीति स्थापित गर्न १९९० को दशकको प्रारम्भमा एसपीपी सुरुवात गरिएको थियो । (क्तझउभि, २००९) त्यसरी एसपीपीको ऐतिहासिक पृष्ठभूमिमा नै अमेरिकाको सुरक्षालाई बलियो पार्ने र अमेरिका विरोधी शक्तिलाई कमजोर पार्ने उद्देश्य राखेको देखिन्छ ।
एस.पी.पी.का साझेदार राष्ट्रहरु
यूरोप क्षेत्रबाट अल्बानिया (२००१), अर्मानिया (२००२), अष्ट्रिया (२०२१), हंगेरी (१९९३), कोसोभो (२०११), अजरवैजान (२००२), बोस्नीया हर्जगोविना (२००३), बुल्गिरिया (१९९३), क्रोशिया (१९९६), साइपरस(२०२२), चेक गणतन्त्र (१९९३), इस्टोनिया (१९९३), फिन्ल्याण्ड (२०२४), जर्जिया (१९९४), ग्रीस (२०२६), लाट्भिया (१९९३), लिथुआनिया (१९९३), मुल्दोभो (१९९६), मन्टेनेग्रो (२००६), उत्तरी मेसेडोनिया (१९९३), नर्वे (२०२३), पोल्याण्ड (१९९३), पोर्चुगल (२०२५), रोमानिया (१९९३), सर्विया (२००५), स्लोभाकिया (१९९३), स्लोभानिया (१९९३), स्वीडेन (२०२४), स्वीजरल्याण्ड (२०२५), युक्रेन (१९९३), दक्षिण अमेरिका क्षेत्रबाट अर्जेन्टिना (२०१६), बेलिज (१९९६), बोलिभिया (१९९९), ब्राजिल (२०१८), चिली (२००८), कोलम्विया (२०१२), कोस्टारिका (२००६), डोमिनिकन गणतन्त्र (२००३), इक्वीडर (१९९६), साल्भाडोर (२०००), ग्वाटेमाला (२००२), गुएना (२००३), हाइटी (२०११), होन्डुरस (१९९८), जमैका (१९९९) , निकारागुवा (२००३), पनामा (१९९६), पाराग्वे (२००१), पेरु (१९९६), एन्टिगुआ, बाखुडा, वाखोडास, डोमिनीका, ग्रनेडा, सान्टकिट्स र नेभिस, सान्टलुकिया, सान्ट भिकेन्ट र ग्राडिनास सहित क्षेत्रीय सुरक्षा प्रणाली भनेर ७ देशहरुको सुरक्षा संरचना (२००६), सुरिनाम (२००६), ट्रिन्डेड र टोवाको (२००४), उरुग्वे (२००), भेनेजुएला (१९९८) ।
अफ्रिका क्षेत्रबाट– अङ्गोला (२०२४), बेनिन (२०१४), बोट्स्वाना (२०१८), बुर्किना फासो (२०१८), काबो भाडो (२०२१ ) । कोटे डिभोइटे (२०२५), डिजीबोइटे (२०१५), ग्यावन (२०२३), घाना (२००४), केन्या (२०१५), लाइवेरिया (२००९), सेरालिअन (२०२४), जिम्बाबे (२०२३), मौरिसस (२०२५), मोरक्को (२००३), नाइजर (२०१७), नाइजेरिया (२००६), रुवाण्डा (२०१९, सेनेगल (२००८), सिसिलिस (२०२५), दक्षिण अफ्रिका (२००३), तान्जानिया (२००४), टोगो (२०१४), ट्युनिशिया (२००४)
मध्य एसिया क्षेत्र
इजिप्ट (२०२०), जोर्डन (२००४), काजकिस्तान (१९९३), किर्गीस्तान (१९९६), ओमन (२०२२), कतार (२०१८), साउदी अरेविया (२०२४), ताजिकिस्तान (२००३), तुर्किमिनिस्तान (२०२१), युएइई (२०२५), उज्वेकिस्तान (२०१२) ।
हिन्द प्रशान्त क्षेत्र
बंगलादेश (२००८), कम्बोडिया (२००८), इण्डोनेशिया (२००६), मलेसिया (२०१७), मार्शल आइस्ल्याण्ड(२०२५), मंगोलिया (२००३), नेपाल (२०१९), पलाउ (२०२४), पपुवा न्यूगिनी (२०२०), फिलिपिन्स (२०००), श्रीलंका (२०२०), माल्दिभस् (२०२१), थाइल्याण्ड (२००२), पूर्वी टिभो (२०२०), फिजी (२०२४), भियतनाम (२०१२),
त्यसबाहेक ः मेक्सिको (२०२५), मेहमस (२०२५)
(स्रोतः संयुक्त राज्य अमेरिका, नेशनल गार्डको बेवसाइट)
अमेरिकाको नेश्नल गार्डको बेवसाइटमा १२० भन्दा बढी उल्लेखित देशहरुको नाम एस.पी.पी.मा साझेदार भनेर सूचीकृत गरिएको छ । सूचीकृत देशहरु मध्ये अमेरिकाले आफ्नो सैन्य रणनीतिमा हिंडाउन खोजे पनि ती विभिन्न देशहरुले अटेरी गरेको देखिन्छ । जस्तै श्रीलंका २०२० देखि एसपीपीको साझेदार भने पनि यही मार्चको प्रारम्भमा अमेरिकाको इरानसितको युद्धमा श्रीलंकाको माट्टला राजापाक्षे विमानस्थललाई युद्ध विमान, सशस्त्र सज्जित एन्टी सीप मिशाइल राख्न, प्रयोग गर्न माग गरेको थियो ।
तर श्रीलंकाको अनुरा कुमारा दिशानाएके राष्ट्रपति रहेको वर्तमान सरकारले श्रीलंकाको तटस्थता र असंलग्न परराष्ट्रनीति भएकाले विमानस्थल प्रयोग गर्न दिन मिल्दैन, दिंदैनौं भनेर अमेरिकी प्रस्तावलाई सिधै अस्वीकार गरिदिएको छ । सूचीकृत मध्ये नेपाल र भेनेजुएलाको नाममा पछाडि स्टार राखिएको छ । भेनेजुएला १९९८ देखि एसपीपीको साझेदार भनिए तापनि विगतमा त्यहाँका राष्ट्रपति ह्युगो चाभेज र २०१३ देखिका राष्ट्रपति निकोलास मादुरोसित अमेरिकाको कहिले राम्रो सम्बन्ध रहेन । त्यस्तै अफ्रिकाको बुर्किना फासोलाई पनि २०१८ देखि एसपीपीको साझेदार भनेर सूचीकृत गरिएको छ । बुर्किना फासोको वर्तमान सरकारले सैन्य साझेदारी सैन्य कुटनीतिको त कुरै छोडौं इरानसितको युद्ध शुरु भएपछि अमेरिकी नागरिकलाई बुर्किना फासो आउन नदिन भिसा समेत बन्द गरिदिएको छ । नेशनल गार्डले आफ्नो बेभसाइटमा ओमन (२०२२), कतार (२०१८), साउदी अरब (२०२४), युएई (२०२५) जस्ता एसियाका खाडी मुलुकहरुलाई एसपीपीको साझेदारी सूचीमा राखिएको छ । ती देशहरुमा अमेरिकाको बेस क्याम्पहरु राखिएको छ । इरान–अमेरिका÷इजरायल युद्ध शुरु भएपछि इरानले ती अमेरिकी बेसक्याम्पहरुमा आक्रमण गरिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ती देशहरुलाई तिमीहरु इरान विरुद्ध लड, जाउ आक्रमण गर भनिरहेको छ । तर ती देशहरुले इरानका विरुद्ध लड्न जानुको सट्टा अमेरिकालाई नै युद्ध छोट्याउन आग्रह गरेका छन् ।
अन्त्यमा
नेपालस्थित अमेरिकी दुतावासले आफ्नो आधिकारिक वेबसाइटमा एसपीपीबारेमा स्पष्ट पार्नका लागि प्रश्न उत्तरशैलीमा २०७९ असार ३ गते लामो सामग्री (स्पष्टीकरण–लेख) राखेको छ । शुरुदेखि अन्तिमसम्म पढ्दा यस्तो भान पार्न खोजिएको छ कि एसपीपी भनेको कुनै खतरनाक चीज नै होइन । यो त कुनै सैन्य र सुरक्षा मामला नभएर प्राकृतिक प्रकोप, विपद व्यवस्थापनका लागि मात्र कार्यक्रम हो यो रुपमा प्रस्तुत गरिएको छ । विश्व राजनीतिमा अमेरिकाको प्रतिद्वन्द्वी तत्कालीन सोभियत संघ विघटन भएपछि रुसबाट अलग भएका देशहरुको रक्षा गर्नकै लागि सन् १९९२ मा अमेरिकी सेनाको नेश्नल गार्डको नीति निर्देशन मातहत एसपीपी सुरु भएको थियो । त्यस्तो कार्यक्रमलाई केवल प्राकृतिक विपत्ति जस्तै २०१५ को नेपालको भूकम्प, भुकम्पपछि कोभिड १९ को समस्यामा सहयोग जस्ता कुराहरु सित मात्र जोडेर हेर्न मिल्दैन । अमेरिकी दुतावासले भनेको छ–“एसपीपी सैन्य गठबन्धन हैन न कहिलै थियो । अमेरिकाले नेपालसित सैन्य गठबन्धन खोजेको छैन ।” दुतावासको वेबसाइटमा भनिएको छ कि नेपालले २०१५ र २०१७ मा एसपीपीमा सामेल हुन अनुरोध गरेको थियो । नेपालको अनुरोधलाई स्वीकार गरेर २०१९ मा नेपाललाई एसपीपीमा सामेल गरिएको छ । तर एसपीपी सम्झौता गरिएको छैन । एसपीपी सम्झौता गर्ने योजना पनि छैन । दुतावासको वेबसाइटमा अमेरिकी सैनिक जर्नेल फ्लीन नेपाल भ्रमण आउँदा नेपाली सेनासित एसपीपीबारे कुरा गरेको बताइएको छ । तर एसपीपीबारे के कुरा गरिएको थियो स्पष्ट खुलाइएको छैन ।
नेपालका छिमेकी देशहरु भारत, चीन, पाकिस्तान कुनै पनि एसपीपीसित जोडिएका छैनन् । अमेरिकाले एस.पी.पी. सूचीमा राखेको देश बेलारुस त्यस सूचीबाट बाहिरिएको छ । भू राजनीतिक दृष्टिकोणले, देशको राष्ट्रिय स्वाधीनतालाई ख्याल राखेरै बेलारुस एसपीपीमा संलग्न भएर पनि त्यसबाट बाहिरियो । नेपालका छिमेकी देशहरु किन एसपीपीमा सामेल नभएका होलान् ? बेलारुस किन एसपीपीबाट बाहिरिएको होला ? यत्ति प्रश्नको उत्तर खोज्ने हो भने नेपाललाई एसपीपी चाहिन्छ चाहिंदैन भन्ने कुरा स्पष्ट हुनेछ ।
नेपालस्थित अमेरिकी दुतावासले एसपीपी भनेको सैन्य रणनीति नै होइन भन्ने अर्थमा स्पष्टीकरण प्रकाशित गरेको छ । तर अमेरिकी सेनाका अनुसन्धानकर्ताहरुले जतिले एसपीपी सम्बन्धी अनुसन्धान गरेका छन् । उनीहरु सबैले एसपीपीलाई अमेरिकाको सैन्य रणनीतिक कार्यक्रम बताएका छन् । जस्तै अफगानिस्तानको एसपीपी कार्यान्वयनबारे कर्णेल स्टेम्पल (२००९) , एसपीपीको अवसर र चुनौती बारे कर्णेल डेनियल (२०१३), एक्काइसौं शताब्दीको रणनीतिक उद्देश्यबारे लेफ्टिनेन्ट कर्णेल पाउलवी चेन्सी (२०१२) एसपीपीलाई अमेरिकाको सैन्य रणनीतिक कार्यक्रम भनेका छन् । नेपालमा भ्रम पार्न खोजिंदै छ । सतर्क बन्न जरुरी छ ।
सन्दर्भ
Stemple,P.A.(2009), A State partnership Programme -SPP_ For Afganistan. apps.dtic.mil.
U.S. Embassy in Nepal(N.D.) State Partnership Programm
Fact Sheet.https://np.
usembessy.gov/state.partnership-programme-Factsheet

