दुवईका लागि दुतावासको शाखा कार्यालय माग गर्दै ज्ञापन पत्र

आवुधावी, युएई । युएई नेपाली एकता समाजले नेपाली दुतावासको शाखा कार्यालय खोल्न माग गर्दै आवुधावी स्थित नेपाली दुतावासको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । २०२४ अक्टोबर २८ मा समाजले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा युएई नेपाली एकता समाजका अध्यक्ष बाबुराम रेग्मी र महासचिव टीकाराम नेपालीले हस्ताक्षर गर्नु भएको छ । ज्ञापनपत्रको पूर्णपाठ यसप्रकार छः
“ श्रीमान् महामहिम राजदूत,
नेपाली दूतावासको कार्यालय ,
आवुधावी ,यु. ए. ई.।
बिषय–ज्ञापन पत्र ।
महोदय ,
यु.ए.ई. नेपाली एकता समाज यु. ए.ई .मा रहनु हुने सबै न्यायप्रेमी नेपालीहरूको साझा सामाजिक संगठन हो । सन् १९९८ मा स्थापना भएको यस संगठनले यु.ए. ई. मा नेपाली दूतावास स्थापना गर्नमा महत्वपूर्ण दवावकारी भूमिका खेलेको गौरवशाली ईतिहास छ । यस संगठनले यु .ए. ई. मा रहने नेपालीहरूको बीचमा बलियो एकता ,सद्भाव कायम राख्नुको साथै देशभक्तिको भावना जागृत गराउने कार्यलाई पनि आफ्नो उद्देश्य राख्दै आएकोछ र संगठनको भेला , सम्मेलन तथा चाडपर्वहरूका बेला नेपाली सँस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएका छन् । नोकरी पेशा लगायत भइ परी आउने आपत विपतहरूमा अग्र पंक्तिमा उभिएर नेपालीहरुलाई साथ सहयोग गर्दै आएकोछ र हल हुन नसक्ने समस्याहरू नेपाली दूतावास तथा नेपाल सरकार समक्ष राख्दै आएको छ ।

यु. ए. ई.नेपाली एकता समाज एउटा जिम्मेवार संगठन भएकाले यु. ए. ई. मा रहने नेपालीहरूको समस्या प्रति गम्भीर छ । युएईमा रहने नेपालीहरूका निम्न समस्याहरू समाधान गर्न नेपाल सरकार र यु. ए .ई. स्थित नेपाली दूताबासको गम्भीरतापूर्वका ध्यान आकर्षण गराउन चाहन्छौ।
१. आज देशका होनहार युवाहरू विदेश पलायन भइरहेकाछन् । उर्वर जमिन बाँझो बगर बन्दै जानु देशको ठूलो दुर्भाग्य हो। शिक्षा ,स्वास्थ्य , संचार,यातायातलाई राज्यले आफ्नो हातमा लिएर गुणस्तरीय स्वास्थ्य, शिक्षा साथै वैज्ञानिक कृषि उत्पादन तथा उद्योग कलकारखानाहरुको विकास गर्न आवश्यक छ । त्यस तर्फ ध्यान दिएमा धेरै हदसम्म विदेश पलायन कम हुन सक्दथ्यो । तर त्यस प्रकारको स्थिति उत्पन्न हुन नसक्नुले दैनिक हजारौं युवायुवतीहरू विदेशीन विवश छन् ।
पछिल्लो समयमा युएईलाई आफ्नो कर्मथलो बनाउने नेपाली युवाहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ र यु.ए.ई.को सातवटै राज्यमा( इमिरेट्समा) नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको ठूलो संख्या छ । दुबई ,शारजाह,उमलकोइन,रसलखेमा आदि ठाउँहरुबाट नेपाली दूतावास आबुधाबी पुग्न निकै कठिन हुने गरेको छ । भौगोलिक रुपमा धेरै टाढा पर्ने भएकोले एकातिर समयको अभाव अर्कोतिर दूतावास पुगेर फर्कँदा पन्ध्र बीस हजार रुपैया खर्च हुने ,छुट्टिको दिन दूतावास बन्द हुने जस्ता कैयौं समस्याहरुले गर्दा लाखौं नेपालीहरुलाई दूतावास छ भन्ने प्रत्यक्ष अनुभुति हुन सकिरहेको छैन।यसरी लाखौं श्रमजीवी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको समस्याहरुलाई मध्यनजर गर्दै उनीहरुलाई युएईमा नेपाली दूतावास छ भन्ने प्रत्यक्ष अनुभुति दिलाउनको लागि युएईको दुबई शहरमा दूतावासको एउटा शाखा कार्यालय राख्न यु.ए.ई. नेपाली एकता समाज माग गर्दछ।आफ्नो देशका नागरिकहरु दूतावासको सम्पर्कबाट टाढा नहोउन, कुनै प्रकारको कठिनाइहरु भोग्न नपरोस् भनेर कैयौं देशले यु.ए.ई.को कैयौं ठाउँहरुमा शाखा कार्यालय राखेका छन् ।दुबईमा एउटा शाखा रहेमा दुबई ,शारजाह, रसलखेमा,उमलकोइन,आजमान,फुजेरामा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धेरै सहज हुन्छ भन्ने विषयमा यहाँको गम्भीर ध्यानआकर्षण गराउन चाह्न्छौ ।
२) अहिले पनि लाखौं नेपालीहरु ५÷६ सय दिराममा काम गर्न बाध्य छन् । श्रम सम्झौता अनुसारको काम र तलव मिल्ने गरेको छैन । यस विषयलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर युएई सरकारसँग वार्ता गरी उचित तलवको व्यवस्था गर्ने विषयमा ध्यानाकर्षण गराउन चाहान्छौं ।
३) कोरोना महामारीको समयमा हवाई टिकट एकतर्फी एकलाखसम्म पुगेको कुरा प्रवासी नेपालीहरुले अझै भुलेका छैनन् । एकातिर प्राकृतिक प्रकोपको बेला, चाडपर्वहरुको बेला हवाई टिकट लगायत अन्य बजारहरुमा मनपरी ढंगबाट मूल्य बृद्धि गरेर श्रमजीवी नेपालीहरुको ढाड सेक्ने काम भइरहेको छ भने अर्कोतिर भिजिट भिसामा नेपालीहरु लिएर युएईमा अलपत्र पार्ने ठूलो रकम खाएर भाग्ने जस्ता घटनाहरु दैनिक घट्ने गरेका छन् । यसप्रकारका घटनाहरु रोकथाम गर्ने विषयमा सरकारद्वारा उचित कदम उठाइयोस् भन्न चाहन्छौं ।
४ नेपाली दुतावास युएईले पहिले भन्दा धेरै चुस्त रुपमा आफ्नो सेवा प्रदान गरेको छ यो धेरै खुशीको कुरा हो । कैयौं नेपालीहरु कम्पनीमा आएर लापत्ता हुने सम्पर्क विहिन हुने घटनाहरु बढ्दै गइरहेका छन् । कुनै पनि तहबाट दुतावासलाई सम्पर्क विहिन भएको सूचना प्राप्त भएको २४ घण्टाभित्र उक्त व्यक्ति पत्ता लगाउने प्रकारको संयन्त्र निर्माण गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित