लण्डन । बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
अठार वर्षदेखि संसद् सदस्य रहेका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता थिए । नौ वर्ष मन्त्री रहेका उन चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका हुन् ।
त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उनले निर्वाह गरेकोे प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री सुनकको कार्यायलयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गरेको घोषणा गरेको छ । संवाददाताहरूले नयाँ रक्षामन्त्री शाप्स प्रधानमन्त्रीको कार्यालयमा गएकोे जनाउँदै उनले बेलायती रक्षामन्त्रीका रुपमा आफूले रुसको अन्यायपूर्ण आक्रमणका विरुद्ध युक्रेनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।