–वाचस्पति देवकोटा, वामपन्थी नेता
० तपाइँलाई गोरखा जिल्ला र गण्डकी अञ्चलमा ने.क.पा.चौथो महाधिवेशन धारको राजनीति विस्तार गर्नमा योगदान पु¥याएको व्यक्ति भनेको सुनिन्छ ,तपाइँ यसबारे के भन्नु हुन्छ ?
– २०१५ सालदेखि २०२३साल सम्म आठ वर्ष मैले काठमाण्डौ रानीपोखरी नजिकै संस्कृत छात्रावासमा बसेर अध्ययन गरें । त्यहाँ छात्रबासमा बसेका बेला मैले संस्कृतमा आचार्य पहिलो खण्ड,अंग्रेजी वि.ए.पास गरेँ । नेपालीमा एमए पढ्दा पढ्दै छाडेर हिँडे । छात्रवासमा प्रवेश गरेपछि देशको माहौल राजनीतिमय थियो । २०१५ साल फागुन ७ गते देखि चुनाव भएको थियो । त्यसक्रममा सबै विद्यार्थीहरु चुनावमा परिचालित भएका थिए । म पनि चुनाव प्रचार प्रसारमा लागें । पुष्पलाल श्रेष्ठले काठमाण्डौ क्षेत्र नं १ बाट उम्मेदवारी दिनु भएको थियो । म सहित अन्य विद्यार्थी साथीहरु पुष्पलालजीको प्रचारमा लाग्यौं । उहाँको सम्माजनक मत आएको थियो । नेपाली कांग्रेसका गणेशमान सिंहको १० हजार, नेकपाका पुष्पलालको ८ हजार, के. आई सिंहको पार्टी संयुक्त प्रजातन्त्र पार्टीको ६ हजार मत आएको थियो । काठमाडौंको चुनावपछि म गोर्खा पर्चार गर्न गएँ । गोर्खामा नेकपाको तर्फबाट हिक्मत सिंह भण्डारी दक्षिणी क्षेत्रबाट , जगतबहादुर श्रेष्ठ उत्तरी क्षेत्रबाट चुनावमा उम्मेदवार बन्नु भएको थियो ।
२०१७ सालमा राजाको शासन आएपछि केही विद्यार्थीहरु दरबारिया भए । केही विद्यार्थी निस्क्रिय भए । नेकपा निकट नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनमा आबद्ध रेवती खनाल दरबारिया जनसम्पर्क अफिसर भएर पाल्पा गए । बाबुराम पौडेल छात्रावासबाट निस्किएर दिल्ली पढ्न गए । बासुदेव त्रिपाठी राष्ट्रवादी विद्यार्थी मण्डल खोलेर मण्डलेको नेता भए, अरु जागिर खान गए र त्यति बेला कम्युनिष्ट समर्थक भएर राजनीति गर्नु भनेकोे जेल जानु ,यातना खानु , भूमिगत भएर दुःख पाउनु थियो । दरबार हाइस्कूलको माथिल्लो तलामा नेश्नल कलेज चलेको थियो ।त्यहाँ अंग्रेजी पढाई हुन्थ्यो । मैले त्यहाँ पनि पढ्थें । त्रिपुरेश्वरमा त्रिभुवन विश्वविद्यालयको कक्षा चल्दथ्यो । त्यहाँ मैले नेपाली पढ्थें। ती सबै शिक्षण संस्थाहरुमा वामपंथी राजनीति गरिन्थ्यो ।त्यसैले गर्दा गोर्खा र गण्डकी अञ्चलको मात्र नभएर समग्र देशकै राजनीतिमा वामपंथी राजनीतिलाई अगाडि बढाउने कोशिश गरिएको थियो । बस्ने संस्कृत छात्रबासमा पढ्ने फरक–फरक कलेजमा । जहाँ जहाँ पढिन्थ्यो, त्यहाँका विद्यार्थीहरुमा वामपन्थी विचारको प्रचार गर्ने र विद्यार्थीलाई संगठित र आन्दोलित गर्ने काम गरिन्थ्यो ।
० लामो समय विद्यार्थीहरुको बीचमा राजनीतिक गतिविधि गर्नु भएकाले यहाँलाई अ.ने.रा.स्व.वि.यु . स्थापनाको कथा पक्कै थाहा होला ,सुनाउनु न ।
–पञ्चायत शुरु भएपछि पञ्चायती व्यवस्थाले राष्ट्रिय निर्देशन ऐन २०१८ जारी ग¥यो । त्यो राष्ट्रिय निर्देशन ऐन अन्तर्गत मजदुर, किसान, महिला, युवा, विद्यार्थी लगायतको संगठन बनाउने अभियान चल्यो । पञ्चायती व्यवस्थालाई बलियो बनाउन ती संगठनहरु बनाइएको थियो तर कांग्रेस र कम्युनिष्ट समर्थक विद्यार्थीहरुले सरकारले बनाएको विद्यार्थी संगठनमा बस्दैनौं । हाम्रो छुट्टै स्वतन्त्र विद्यार्थी संगठन चाहिन्छ । हामीले शिक्षण संस्था स्तरमा स्वतन्त्र विद्यार्थी युनियन बनाउँछौं भनेर अगाडि बढ्यौं । पञ्चायतले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न रोक्न खोज्यो । दमन ग¥यो । तर हामी दमन प्रर्वाह नगरी स्व.वि.यु. गठन गर्दै जना थाल्यौं । २०१९ सालमा काठमाण्डौ उपत्यका भित्र ३ जिल्लामा ३५ वटा हाइस्कूलमा स्व.वि.यु. गठन ग¥यौं । ती स्ववियुहरुलाई एकीकृत गरेर २०२१ सालमा त्रिचन्द्र कलेजमा उपत्यका स्तरको सम्मेलन गर्न खोज्दा प्रहरीले धरपकड ग¥यो । त्यही पृष्ठभूमिमा काठमाडौं उपत्यकाको मात्र नभई देशभरीका स्व.वि.युलाई नेतृत्व गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अ.ने.रा. स्व. वि.यु.) गठन भएको थियो ।
० राष्ट्रिय पञ्चायतका लागि स्नातक उत्तीर्ण मध्येबाट निर्वाचित हुने परिपाटी पनि देख्नु भएको थियो । त्यसको अनुभव के छ?
– २०२२ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा स्नातकहरुको तर्फबाट निर्मल लामा उम्मेदवार हुनु भएको थियो । ४ जना राष्ट्रिय पञ्चायतमा स्नातकबाट जान पाइन्थ्यो । उहाँ जेलबाट आए पछि उहाँलाई तपाई खुला मोर्चामा काम गर्नु प¥यो । भित्री रुपमा पार्टी पनि चलाउन प¥यो भनेर उम्मेदवार बनाइएको थियो । सोही अनुसार चन्दा संकलन ,ठूलो प्रचार प्रसार समिति बनाएर हामी लागि रहेका थियौं ।त्रिभुवन विश्वविद्यालय त्रिपुरेश्वरमा भव्य चुनावी कार्यक्रम भइरहेको थियो । एक जनाले राजाको बारेमा तपाइँको अभिमत के छ? भनेर सोध्यो । कुटनीतिक ढंगले वा कानुनी प्रक्रिया मिलाएर नबोलिकन उहाँले सिधै जवाफ दिनु भयो । “आगामी दिनमा संसारमा दुई ठाउँ मात्र राजा हुनेछ –“एक ठाऊँ तासको पत्तिमा र अर्को बेलायतमा । त्यस बाहेक कही पनि राजा रहने छैन ।” त्यही दिन बेलुकी काठमाण्डौ टेउड भन्ने ठाउँमा डेराबाट लामाजीलाई प्रहरीले लग्यो । उहाँको उम्मेदवारी रहेन । जेल जानु भयो । उहाँ टेउडमा चन्द्रमान नेवाको घरमा बस्नु हुन्थ्यो ।
० न्यूक्लियस कालमा कुन जिम्मेवारीमा रहेर काम गर्नु भयो?
–पश्चिमाञ्चल न्यूक्लियसमा रहेर काम गरें । पश्चिमाञ्चलमा म वाचस्पति देवकोटा (गोर्खा), चित्रबहादुर के.सी. (वाग्लुङ) खिमानसिङ गुरुङ (प्यूठान) लगायत थियौं । केही समय पछि बिजुवार क्याम्पसमा पढाउँदा पढाउँदै जागीर छाडी होलटाइमर भएर मोहन वैद्य पनि क्षेत्रीय न्यूक्लियसमा आउनु भयो ।
० चौथो महाधिवेशन(२०३१)मा वनारस जानु भयो ?
–२०४० सालको फागुनमा मेरो घरमा आगलागी भयो । म जान सम्भव भएन । चौथो महाधिवेशनको खबर लिएर पछि चित्र बहादुर केसी जी मेरो घर गोर्खाको लिगलिगमा पुग्नु भएको थियो ।
० २०३८ सालमा अयोध्यामा सम्पन्न विस्तारित बैठकमा “चीनमा प्रतिक्रान्ति” दस्तवेज पारित हुने बेला तपाइँ सहभागी हुनुहुन्थ्यो ?
–त्यतिबेला नेकपाको चौ.म.धार र मा.ले.धारकाबीचमा को बढी चीनको नजिक हुने भन्ने प्रतिस्पर्धा थियो । सन् १९७६ मा माओको मृत्यु पछि हुवाको फेङ र देङ्शाओहरु पार्टी नेतृत्वमा आए । चौ.म पक्षले चीनमा सास्कृतिक क्रान्तिलाई सही बताउँदै चीनमा आएको परिवर्तनलाई प्रतिक्रान्ति भन्यो र मा.ले. धारले चिनियाँ कम्युनिष्ट पार्टीले माओको निधन पछि ल्याएको नीतिलाई समर्थन गर्दै गयो ।चीनमा भएको परिवर्तन चिनियाँ जनता कै इच्छा अनुसार भएको हो भन्ने विचार मा.ले.पक्षको रह्यो ।
० तपाइँले नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला धारहरु चौ.म.धार र मा.ले धार (ए.मा.ले.धार) दुवैको अनुभव गर्नु भयो । दुवै धारमा के समानता र के असमानता पाउनु भयो?
– म २०४१ को पाँचौं महाधिवेशनबाट ने.क.पा. (मशाल)को पोलिटव्यूरो सदस्य भएँ , २०४२ मा पार्टी विभाजित भएर मसाल र मशाल भयो । त्यस विभाजनमा म मशाल तर्फ रहें । मशाल, मसाल, कम्युनिस्ट लिग लगायत मिलेर २०४६ मा संयुक्त राष्ट्रिय जनआन्दोलन बनेको थियो ।म त्यो आन्दोलनमा थिएँ । कफ्र्युमा पञ्चायतका पशुपति शमशेरले वार्ताका लागि मलाई खोजेका रहेछन् । कांग्रेस र वाम मोर्चा राजा सित वार्तामा गएका रहेछन् । म पार्टीलाई नसोधिकन जानेवाला थिएन । पार्टीमा अविश्वास जस्तो भयो । २०४८ मा एमालेमा आबद्ध भएँ । दुवै धारमा सकरात्मक र नकरात्मक पक्षहरु छन् । व्यवहारको हिसाबले एमाले तुलनात्मकरुपले अगाडि छ तर सिद्धान्तलाई कम महत्व दिए जस्तो लाग्छ । सिद्धान्तले व्यवहारलाई निर्देशित गरेको हुनु पर्ने हो । चौ.म. /मसाल/मशाल धारमा सिद्धान्तमा कट्टरताको नाममा अव्यवहारिक हुने प्रवृति बढी छ जस्तो लाग्छ ।
० आजको विश्व राजनीतिबारे भन्नु पर्दा के भन्नु हुन्छ ?
–फ्रान्सको पेरिसमा १९६० मा सोभियत संघ र अमेरिकाको बीचमा शीर्ष वार्ताको आयोजना गरिएको थियो । सोभियत संघबाट ख्रुस्चेभ (प्रधानमन्त्री ) र अमेरिकाबाट आइजन हवर (राष्ट्रपति) सामेल हुँदै थिए । ठीक त्यही बेला अमेरिकाले सोभियत संघको आकाशमा जासुसी विमान घुमायो । आइजन हवरलाई खुस्चेभले बेस्सरी हप्काए –“ म यहाँ शिखर वार्तामा बस्ने बेला मेरो देश माथि गुप्तचरी गर्ने ? यो सोभियत देश र जनता माथिको अपमान हैन ? तिमी निर्लज्ज ! माफी माग । अन्यथा म वार्तामा भाग लिँदैन” ।ख्रुस्चेवले पेरिसको वार्ता नै बहिस्कार गरेरहिँडे । संसारभरिबाट अमेरिकाको कमजोरी भयो भनेर भनियो । आइजन हावर पछि जोन अफ केनेडी अमेरिकाको राष्ट्रपति भए । सोभियत संघले १९६२ अक्टोवरमा क्यूवाको समुन्द्रमा (क्यारेवियन सागर)को खोंचमा मिसाइल तैनाथ गरायो । अमेरिकाले सोभियत संघलाई तरुन्त मिसाइल हटाउन भन्यो । सोभियत संघले भन्यो कि क्यूबामाथि आक्रमण गर्दैन “ नो एग्रेसन” भन्ने सहमति पत्रमा हस्ताक्षर गर र मात्र मिसाइल फिर्ता गर्छु भन्यो । दुई देशका राजदुत बसेर सम्झौतामा हस्ताक्षर गरे । अहिले त्यो स्थिति छैन । सोभियत सामाजिक साम्राज्यवाद भने पनि उतिबेला उत्पीडित राष्ट्रहरुले संरक्षण पाउँथे । कम्युनिष्टहरुको आपसी वेमेल र सोभियत संघको विघटनले गर्दा अमेरिकाले मनपरी गर्न पाएको छ तर उत्पीडित शोषित पीडित जनताले त्यसको विरोधमा एक ढिक्का हुनुपर्दछ ।
० जेनजी आन्दोलनको बारेमा के भन्नु हुन्छ ?
–दोस्रो विश्वयुद्धमा सोभियत संघको पक्षबाट बाल कम्युनिष्टहरुको ठूलो समूह परिचालित थिए । जर्मन र इटालियनहरुलाई हराउन कम्युनिष्ट पार्टीले केटाकेटीहरुलाई प्रशिक्षित गरी परिचालित गरेका थिए। केटाकेटीहरु फासीवादी र नाजीहरुका चियो गर्दथे । योङ्ग कम्युष्टि संगठन थिए । साम्राज्यवादीहरुले केटाकेटीहरुलाई राजनीति सिकाउन हुन्न भन्छ । तर आफै यस्ता जेनजी विद्रोहमा प्रयोग गरिरहेका छन् । हामी माथि ठूलो षठयन्त्र भइरहेको छ । कम्युनिष्टहरुले केटाकेटीहरुलाई प्रशिक्षित नगरेको परिणाम जेनजी विद्रोह हो, जुन परिणाम भोग्दैछौं ।
० हाँक साप्ताहिक मार्फत् थप भन्नु केही छ कि ?
– कम्युनिष्टहरुबाट भएका कमी कमजोरीको समीक्षा हुनु प¥यो । जुन कम्युनिष्टहरुले संकिर्णकाद त्याग्नु पर्यो , पैसा लिएर कार्यकर्ताको पदोन्नति गर्ने अनैतिक कार्य रोक्नु पर्यो । हाँक साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 000
धन्यवाद ।

