काठमाडौं । नेपाल विध्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले स्रस्टा सम्मान, कृति विमोचन तथा रचना वाचनको कार्यक्रम सहित आफ्नो सातौँ राष्ट्रिय सम्मेलन मिति २०७९÷०२÷२९ गते गते आइतबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ । प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल विध्युत प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाण्डौको सभाकक्षमा सन्चालन भएको उक्त कार्यक्रममा नेपाल विध्युत प्राधिकरणबाट सेवा निवृत्त हुनुभएका प्रगतिवादी साहित्य साधक श्री मातृका पोखरेल तथा साहित्य स्रस्टा श्री रमेशप्रसाद न्यौपानेलाई प्रमुख अतिथि ज्ञवालीले ताम्रपत्रबाट तथा विध्युतकर्मी साहित्य समाजका अध्यक्ष श्री कृष्णदेव रिमालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। “अमरज्योति साहित्य सम्मान– २०७९” बाट सम्मानित व्यक्तिहरूको व्यक्तित्व र कृतित्वका बारेमा अमरज्योति साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक विष्णु आचार्य “अतृप्त”ले टिप्पणी गर्नु भएको थियो।
उक्त समारोहमा अमरज्योति साहित्यिक त्रैमासिकको ५४ औं अङ्कका साथै प्राधिकरणका क्रियाशील स्रस्टा विष्णु आचार्य “अतृप्त” को “घर फर्कने तिर्खा” कवितासङ्ग्रह लोकार्पण समेत गरिएको थियो । विमोचित कवितासङ्ग्रहको शक्ति र सीमामाथि सङ्क्षिप्त टिप्पणी गर्ने कार्य कार्यक्रमका विशेष अतिथि व्यङ्ग्य निबन्धकार वाशुदेव गुरागाईँ (पिँडालु पन्डित) ले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्रस्टाहरु श्री कृष्णप्रसाद पौडेल, श्री शारदादेवी भट्टराई ,श्री मोहन बहादुर कायस्थ, श्री पुण्य घिमिरे, श्री शिशिर थापा, श्री मदन तिम्सिना, श्री रीता खनाल, श्री मुकुन्द प्रसाद प्रसाईं , श्री केशव रुपाखेती लगायतले आआफ्नो रचना वाचन गरेका थिए भने कवि आविष्कार कला र कवि विष्णु आचार्य “अतृप्त”ले विमोचित कवितासङ्ग्रह “घर फर्कने तिर्खा“ बाट एक–एक वटा कविता वाचन गरेका थिए । २०७९ जेठ २९ गते सम्पन्न भएको विध्युतकर्मी साहित्यिक समाजको सातौं अधिवेशनले श्री कृष्णदेव रिमाल “शब्दसेना” को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपले चयन गरेको छ। समितिका अन्य पदाधिकारीहरूमा श्री शारदादेवी भट्टराई पोख्रेल (उपाध्यक्ष),श्री विष्णु आचार्य “अतृप्त”( सचिव), श्री शारदा पराजुली (सहसचिव),श्री मुकुन्द प्रसाद प्रसाईं (कोषाध्यक्ष) रहेका छन् भने सदस्यहरूमा श्री सङ्गीता अधिकारी पौडेल, श्री आविष्कार कला, श्री रीता खनाल, श्री भोला शर्मा, श्री मनुकुमारी पुलामी र श्री बलराम पुडासैनी रहेका छन् ।
विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष श्री कृष्णदेव रिमालको सभापतित्वमा सन्चालन भएको सो कार्यक्रममा समाजकी सदस्य श्री सङ्गीता अधिकारी पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । समाजका सचिव श्री प्रकाश आचार्यले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणमा साहित्यको जग बसाउन अहोरात्र खटिनु भएका स्रस्टाहरू जुजुकाजी रन्जित, कुलप्रसाद पराजुली, पुन्य घिमिरे, रामेश्वर राउत “मातृदास” विष्णुबहादुर सिंह, कृष्णमोहन जोशी,मन्जुलाल श्रेष्ठ ,मोहनकृष्ण उप्रेती, राजु शर्मा,विन्दु शर्मा, वाइ. आर. घले लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र निर्वाचक मण्डलका पदाधिकारीहरूलाई समाजको तर्फबाट “मायाको चिनो” प्रदान गरिएको थियो ।

