संयुक्त मोर्चाको महत्त्व

२०८० भाद्र १९ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको घोषणा गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह, सङ्घ-संस्था र व्यक्ति सम्मिलित उक्त मोर्चाले क्रान्तिकारी शक्तिहरूलाई एकजुट बनाउँदै जाने लक्ष्य राखेको छ । नेपालको कम्युनिस्ट आन्दोलन विश्रृङ्खलित भइरहेको वर्तमान अवस्थामा यसप्रकारको संयुक्त मोर्चाको आवश्यकता यत्रतत्र महशुुस भइरहेको छ । यही बेला राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल गठन हुनुलाई सकारात्मक पहलकदमीको रुपमा लिन सकिन्छ ।

मोर्चाका फरक फरक रुपहरू हुन सक्दछन् । जस्तै रणनीतिक संयुक्त मोर्चा, संयुक्त मोर्चा, कार्यनीतिक मोर्चा र कार्यगत एकता । रणनीतिक संयुक्त मोर्चा कम्युनिस्ट पार्टीको रणनीतिक उद्देश्य प्राप्तिको लक्ष्यलाई टेवा पुर्‍याउने गरी गठन गरिन्छ । जस्तो कि चीनमा नयाँ जनवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि माओले रणनीतिक संयुक्त मोर्चाको आवश्यकतामा जोड दिएका थिए । माओले अनुशासित पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिका तीन जादुगरी हतियार बताएका थिए । संयुक्त मोर्चा फरक फरक विचारधारा बोकेका शक्तिहरूका बीचमा निश्चित उद्देश्यका लागि गठन गर्न सकिने मोर्चा हो । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल मूलत: एउटै विचारधारा अर्थात् वर्तमान संसदीय बुर्जुवा व्यवस्थाको विकल्पमा नयाँ प्रगतिशील सत्ता स्थापनाको आवश्यकता ठान्ने पार्टी, समूल र व्यक्तिको मोर्चा हो । कार्यनीतिक मोर्चा खास कार्य वा उद्देश्यकै लागि गठन गरिने मोर्चा हो । कार्यगत एकता कार्यनीतिक मोर्चा भन्दा खुकुलो प्रकारकै मोर्चा हो । कार्यगत एकता काम र उद्देश्यका आधारमा अत्यन्त अल्पकालीन पनि हुन सक्छ ।

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाललाई यस सम्बद्ध घटक र व्यक्तिहरूले स्थायी, दिगो र व्यापक बनाउने बताएका छन् । आमूल परिवर्तन चाहने विभिन्न वामपन्थी पार्टी, समूह, व्यक्तिलाई यस मोर्चाले भेटघाट, छलफल गर्ने र सम्भव भएसम्म यस मोर्चामा सामेल गर्ने, सामेल हुन नसक्ने पार्टी, समूह, व्यक्तिसित सहकार्य, कार्यगत एकता, सहयोग आदान प्रदान गर्ने बताएको छ । सङ्कीर्णता र आग्रह पूर्वाग्रहबाट माथि उठेर कम्युनिष्ट आन्दोलनको पक्षमा गर्न खोजिएको यस मिहेनतलाई सबै न्यायप्रेमी जनसमूहबाट हौसला थप्न आवश्यक छ ।

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको अवधारणापत्र–२०८० मा भनिएको छ, “जनतामा उत्पन्न घोर निराशालाई चिर्न तथा नेपाली जनताको राष्ट्रिय आन्दोलनलाई सही दिशा र गति दिंदै राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार, नागरिक स्वतन्त्रता र जनजीविकाका समस्या हल गर्नका लागि हामी “राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल” निर्माण गर्न अग्रसर भएका छौँ । ”

मोर्चाले सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिको एकतामा जोड,साम्राज्यवादीहरूले नेपालमा जातीय, धार्मिक हिंसा भड्काउने षडयन्त्रको विरोध, मजदुर, किसान उत्पीडित वर्ग समूहको पक्षमा सङ्घर्ष, प्रतिगामी षडयन्त्रको विरोध, असमान सन्धि, सम्झौता, राष्ट्रघातका विरुद्ध सङ्घर्ष-शिक्षा स्वास्थ्यको व्यापारिकरणका विरुद्धमा सङ्घर्ष, जातीय, भाषिक विभेदको अन्त्यका लागि सङ्घर्ष, प्रगतिशील साहित्य र संस्कृतिको संरक्षण र विकास, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रमा जोड लगायतको नीतिबारे मोर्चाले आफ्नो घोषणामा स्पष्ट गरेको छ ।

मोर्चाले यही असोज १९ गते काठमाडौँमा एक वृहत अन्तक्र्रिया कार्यक्रम राखेको छ । कार्यक्रममा नेकपा (मशाल) महासचिव तथा यस मोर्चाका संयोजक सन्तबहादुर नेपालीले अवधारणापत्र पेश गर्ने र नेपालका वाम नेताहरूले सम्बोधन गर्ने बताइएको छ । मोर्चालाई प्रदेश र जिल्ला तहसम्म विस्तार गर्दै जाने पनि भनिएको छ । मोर्चाको सही किसिमले गति लिएमा अवश्य पनि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा अगाडि बढाउन योगदान पुर्‍याउने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित