सुप्रिम सहकारीमा बचत राखेको प्रमाण सहित उजुरी दिन प्रहरीको आग्रह

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा व्यवस्थापकलाई नियन्त्रणमा लिएको प्रहरीले सहकारीका बचतकर्ता र शेयर सदस्यहरुलाई आफुले जम्मा गरेको रकमको प्रमाणसहित निवेदन दिन आग्रह गरेको छ ।

सहकारी दर्ता रजिष्टारको कार्यालयका प्रतिवेदनका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले सहकारीका अध्यक्ष ओम गुरुङलाई बिहीवार र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई शुक्रबार नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलले आइतबार सूचना जारी गर्दै सहकारीका सदस्य र बचतकर्तालाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।

कहिलेसम्म उजुरी दिन सकिने भन्ने प्रहरीको सूचनामा खुलाइएको छैन । उजुरी दिनेबारे जानकारी लिन ९८५७०९०१२१ मा सम्पर्क गर्न प्रहरीले भनेको छ । सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबहादुर (जीबी) राईले बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोप छ ।

केन्द्रीय कार्यालय बुटवल र भैरहवा सेवा केन्द्रबाट सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका पाँच वटा कम्पनीलाई ऋण दिएको थियो।संस्थापक अध्यक्ष एवं संरक्षक राई सम्पर्कविहीन छन्।राई २०७८ सम्म अध्यक्ष थिए ।

रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । –अर्जुन शर्मा

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित