काठमाडौं । स्वर्गद्वारीका गुठी पीडितहरुले फागुन ८ गतेदेखि दाङको घोराहीमा आन्दोलन गरिरहेका छन् । “धर्म, संस्कृतिको संरक्षण गर !” “धर्मको नाममा शोषण गर्न पाइँदैन !”“गुठियारहरुको अधिकार सुनिश्चित गर !”लगायतका नारा लगाउँदै, जुलुश गर्नुको साथै उनीहरुले धर्ना दिने काम पनि गरेका छन् । नेकपा (मशाल) दाङका जिल्ला प्रवक्ता रेशम वि.सी. ले त्यस आन्दोलन सम्बन्धमा भने, “२००६ सालमा स्वर्गद्वारी मन्दिरको नाममा रहेको गुठीको जग्गालाई राजगुठी भनिएको थियो ।
२०४६ पछि त्यसलाई निजी गुठी बनाइयो । गुठीको जग्गा खण्डीकरण गर्न पाइँदैन भनेर सर्वोच्चमा मुद्दा परेकाले ०६२ मा सर्वोच्चले निजी गुठी भए पनि विशेष गुठी भएकाले जमिन खण्डिकरण गर्न नमिल्ने भनेर फैसला ग¥यो । ०२१ सालमा भूमि सुधार ऐन लागु भएपछि २०२७ सालमा दाङ जिल्लामा नापी भएको थियो । २०२८÷२०२९ सालमा स्वर्गद्वारी मन्दिरको गुठी जग्गाका सम्बन्धित जोताहा मोही किसानहरुलाई जग्गाको मोही पुर्जा दिइएको थियो ।
सोही प्रमाणका आधारमा उनीहरुले जग्गाको जोतभोग गर्दै आएका छन् ।” प्रवक्ता वि.सी. ले भने, “स्वर्गद्वारी गुठी संचालन समितिमा रोल्पा, प्यूठान र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी पदेन सदस्य हुने व्यवस्था छ । गुठी संचालन समिति र पीडितहरुको बीचमा २०६५ सालमा ०६४ सम्मको कुत नबुझाउने र अवको कुत बुझाउने सहमति भयो । म आफै पनि कुत बुझाउनेवाला साथीहरुसित कुत बुझाउन जाँदा कुत बुझेनन् । पछि एउटा प्रमुख जिल्ला अधिकारीले गुठीको जग्गा कब्जा गरेको बताए ।” वि.सि. अगाडि भन्छन्– “जोतभोग गर्दै आएको जग्गामा मोही किसानहरुले छोराहरु छुट्टिदै जाँदा उनीहरुले घर बनाउन पाएका छैनन् । अहिले उनीहरुले ७५ प्रतिशत जग्गा मोही हक कायम गर्नुपर्दछ र २५ प्रतिशत पनि उचित मूल्यमा आफूहरुले किन्न पाउनु पर्दछ भन्ने माग राखेका छन् ।”
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले हाँकसित भने, “जुलुसमा दाङको झिँगौरा गुठीसित सम्बन्धित किसानहरु धेरै छन् । उनीहरुलाई अधिकार दिने कार्यमा सरकारले बेवास्ता गरेको छ । उनीहरुको माग पूरा हुनुपर्दछ ।” आन्दोलनकारीहरुले माग पूरा नभई आन्दोलन नरोक्ने बताएका छन् ।

