सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले २०८० चैत्र ५ गते एउटा पत्रकार सम्मेलन आयोजना गरी केही अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिकाको नामबाट चुनढुंगा उत्खनन गर्ने सिफारिस गरिएको कुराको खण्डन गरेका छन् ।
वडा नम्बर ९ ढिकुराको सानोडेभाको चुनढुङ्गा खानीका सन्दर्भमा भूमिकास्थानले चुनढुङ्गा उत्खननका लागि विजया सिमेन्टलाई सिफारिस पत्र उपलब्ध गराएको भनी नगरपालिकाबाट जारी भएको भनी नगरप्रमुख झविलाल थापाको किर्ते हस्ताक्षर र कागजात तयार गरी सामाजिक संजालमा गलत प्रचारप्रसार भएको विषयलाई लिएर नगरपालिकाले आयोजना पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख थापाले सो कुरा बताएका हुन ।
नगरप्रमुख थापाले उक्त स्थानमा चुनढुङ्गाको उत्खनन गर्नै नहुने भनी कार्यपालिका बैठकले निर्णय गर्दा पनि उत्खनन हुने स्थान सम्मको लागि बाटो खन्ने कार्य गर्नु कानुन र नीतिलाइ नटेरेको ठहरिने भन्दै उनले आफू कुनै पनि हालतमा उत्खनन गर्न दिने पक्षमा नरहेको पत्रकार सम्मेलनमा बताए ।
किर्ते हस्ताक्षर र कागजात तयार गरी सरकारी कागजातको दुरुपयोग गर्ने सम्बन्धित व्यक्ति वा संस्थालाई कानुनी कार्वाहीको दायरामा ल्याइ कार्वाही गर्ने र किर्ते सिफारिस मार्फत विजया सिमेन्टले प्राप्त गरेको चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरी भूमिकास्थान नगरपालिकालाई जानकारी उपलब्ध गराउन भनी खानी तथा भुगर्भ विभागलाई पत्रचार समेत गरेको नगरप्रमुख थापाले बताए ।
करिव १५ वर्ष अगाडि नरपानी, खाँचीकोटमा चुनढुंगा उत्खनन गर्दा त्यहाँका जनताले विरोध गरेका थिए । तर स्थानीय केही नेताहरुलाई प्रलोभनमा पारेर सिमेन्ट उद्योगले खाँचीमा खानी संचालन गरेको थियो । अहिले जनताको विरोध आउन थालेपछि उद्योगले किर्ते सिफारिसको सहारामा पुनः संचालन गर्न लागेको बताइन्छ । त्यो खानी संचालन भएमा ढिकुरा, नुवाकोट, खिल्जी, असुरकोटसम्म खानेपानी सुक्ने अवस्था रहेको स्थानीयहरु बताउँछन् ।

