साध्यबहादुर भण्डारी
स्थायी समिति सदस्य, नेकपा (एकीकृत समाजवादी)
० भर्खरै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमण गरेका छन् । भारत भ्रमणपछि उनले नेपाल–भारतबीच बनेका परराष्ट्र सम्बन्धका संयन्त्रहरु सक्रिय हुनेछन् भनेर बोले । तपाई लगातार राष्ट्रियता, राष्ट्रिय स्वाधीनताका बारेमा लेख्दै बोल्दै आएको व्यक्ति हुनुहुन्छ । प्रचण्डले भन्न खोजेको कुरा के हो ?
– उनले दुई देशबीच बनेका परराष्ट्र सम्बन्धका संयन्त्रहरु सक्रिय हुनेछन् भनेका छन् । विगतमा नेपाल र भारतका बीचमा विभिन्न विषयमा संयन्त्रहरु बनेका थिए । ती संयन्त्रहरु अब सक्रिय बनाउने भनेपछि हामीले विगतमा के–कस्ता संयन्त्रहरु बनेका थिए भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । २०८० जेठ १७ गते प्रचण्ड दिल्ली भ्रमणमा गएका बेला नेपालको परराष्ट्र सम्बन्धी नीति बनाउने संस्थालाई प्रशिक्षण गर्न भारतको सुष्मा स्वराज ट्रष्टलाई जिम्मा दिएर आएका छन् । अव नेपालको परराष्ट्र नीति भारतको योजनामा बनाइने भएको छ । उनी गत साल भारत भ्रमण जाँदा राष्ट्रघाती नागरिकता विधेयक संसदबाट पारित गराएर राष्ट्रपतिलाई अनुमोदन गर्न लगाई “राष्ट्रघाती नागरिकता ऐनको कोशेली बोकेर भारत गएका थिए । त्यतिबेला सांस्कृतिक नक्सा भनेर भारतले नेपालको विराटनगर, रुपन्देही र कपिलवस्तुलाई समेत गाभेर नक्सा प्रकाशित गरेको थियो । त्यसबारेमा नेपालमा सरकार र पार्टीहरु बोलेनन् । चीनसित हाम्रो तीनवटा विषयमा महत्वपूर्ण सम्झौता भएको छ । १) वि.आर.आई (२) बुआओ मञ्च र (३) संघाईको अपरेशन । चीनसितका सम्बन्धलाई प्रचण्डले पूरै उपेक्षा गरेका छन् । गत सालको जस्तो कि गतसाल भ्रमणमा प्रचण्डले जलस्रोत र विद्युतमा समेत राष्ट्रघात गरेर आएका छन् । यसपालीको भ्रमणमा उनले मोदीलाई ती राष्ट्रघाती सम्झौताहरु पालना गर्नेछु भनेर बचन दिएर आएका छन् । दुई पक्षीय संयन्त्रहरु क्रियाशील हुनेछन भनेको त्यही हो ।
० देशको प्रधानमन्त्रीले यति ठूला ठूला राष्ट्रघात गरे भन्नुहुन्छ । तर राष्ट्रघातका विरुद्धमा देशभक्तिपूर्ण पृष्ठभूमिबाट आएका पार्टी र पार्टी बाहिरबाट आवाज नउठ्नु साँच्चै आश्चर्यको कुरा हो जस्तो लाग्दैन तपाईलाई ?
–पक्कै पनि आश्चर्यको कुरा हो । राष्ट्रघाती प्रचण्डकै वरिपरी झिंगा धपाउँदै हिंड्ने समूह छ ।
इन्साइड नेपालका अमर भुषणले कितावै लेखेका छन् । लामो समय भारतीय गुप्तचर एजेन्सी रअमा काम गरेका व्यक्ति हुन् । उनका अनुसार नेपालमा रअले आफ्ना एजेन्टहरु तयार पारेको छ । विदेशी एजेण्टहरुले नेपाल चलाएका छन् ।
पिपिपि मोडेजमा नेपालका एयरपोर्टहरु भारतलाई बुझाउन खोजेका छन् ।
० प्रचण्डले एयरपोर्ट भारतलाई बुझाउन खोजेको छैन भनेका छन् त ?
–भारत भ्रमण गएका बेला भारतको अदानी गु्रपलाई दिने भनेका छन् । त्यसबारे भएका सहमतिबारे म पछि हाँकलाई बताउँछु ।
० एमसीसी परियोजनामा भारतको पनि सहमति हो ?
–एमसीसी परियोजनामा भारतको सहमति नभएको भए बुटवलदेखि गोरखपुरसम्मको विद्युत ट्रान्समिशनलाई जोड्ने कुरा एमसीसी सम्झौतामा उल्लेख हुने थिएन । भारतको त्यसमा सहमति छ । प्रचण्ड भारत गएका बेला यस भन्दा पहिले नै मोदीसित कुरा गरिसकेका छन् । एमसीसी परियोजनामा अहिले नेपालको मात्र लगानी भएको छ । अमेरिकाको लगानी शुरु भएपछि यहाँ अमेरिकी सेनाले आफ्नो प्रोजेक्टको ख्याल गर्दछ ।
० एमसीसी परियोजनाका पक्षधरहरुले अमेरिकी सेना ल्याउने कुरा सम्झौतामा कहाँ उल्लेख भएको छ , यो गलत हो भन्दै छन् त ?
– आँखामा पहेंली परेका राष्ट्रघातीले भनेको कुरा हो । नेपालमा निर्माण हुने सडक, ट्रान्समिशनको लाइन, उसले किनेको जग्गाको एमसीसीले नै जिम्मा लिन्छ । संसदबाट पारित भएको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन । एमसीसीले भनिसक्यो हामीले व्याख्यात्मक टिप्पणी मान्दैनौं । यो सुरक्षाको जिम्मा उसैले लिन्छ । एमसीसी परियोजनाको ठेक्काबारे मुद्दा चलिरहेको छ ।
० जन्मको आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने जुन विधेयक संसदबाट पारित भएको छ । त्यो कुरा त संविधानमा नै उल्लेख छ नि हैन र ?
–नेपालमा २०६३ सालमा जन्मको आधारमा नागरिकता पाएका विदेशीको सन्तानहरुलाई अहिले वंशजको नागरिकता दिने कानुन बनेको छ । नागरिकता वितरण गर्ने काम भइरहेको छ । जनस्तरबाट अर्को विधेयक ल्याएर यो पूरै असंवैधानिक छ भनेर त्यसलाई विस्थापित गर्ने गरी हामीले अभियान चलाउने भएका छौं । गद्दार प्रधानमन्त्रीले अगाडि बढाएको राष्ट्रघाती नागरिकता विधेयकलाई प्रमाणित गर्ने काम गद्दार राष्ट्रपतिले गरेका छन् । यदि नागरिकता जस्तो गम्भीर विषयलाई ख्याल नगर्ने हो भने देश फिजिकरण हुँदै सिक्किमीकरणतिर जाने खतरा छ । जनस्तरबाट यो राष्ट्र जोगाउने अभियानमा लाग्नै पर्ने भएको छ ।
० तपाईको कुरा सुन्दा त राष्ट्रियताको स्थिति गम्भीर छ । अव देश बचाउन के गर्नुपर्दछ ।
–देश बचाउन चाहने सबै वामपन्थी, देशभक्त शक्तिहरु एउटै मञ्चमा उभिएर लड्नु पर्दछ । मोहन वैद्य, सन्तबहादुर जीदेखि नारायण शर्मासम्म, मोहनविक्रम, चित्रबहादुर के.सीदेखि सिपि मैनालीसम्म, झलनाथ खनाल, माधव नेपाल, साध्यबहादुर भण्डारी, भीम रावलदेखि नारायणमान विजुक्छे, ऋषि कट्टेलसम्मका सम्पूर्ण वामपन्थी शक्तिहरु एक ठाउँमा उभिएर वृहत रुपमा राष्ट्र बचाउ अभियान चलाउनुपर्दछ । त्यस बाहेकका अन्य छरिएका देशभक्तहरु पनि एउटै मञ्चमा उभिएर राष्ट्रघातका विरुद्धमा उभिनु पर्दछ ।
० एकै ठाउँमा उभिन खै सम्भव छ र ?
–एकै ठाउँमा उभिनै पर्दछ । साम्राज्यवादका विरुद्धमा माओले कम्बोडियाका राजा सिंहानुकसित सहकार्य गरेका थिए । माओले जापान विरुद्धको संघर्षमा आफ्नै विरोधी च्याङकाइसकेसित संयुक्त मोर्चा बनाएका थिए । हामीले पनि यहाँ देश बचाउन देशभक्तहरुका बीचमा सहकार्य हुनै पर्दछ ।
० नेकपा (एकीकृत समाजवादी) को अधिवेशन सम्पन्न हुँदैछ । माधव नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भन्ने सुनिन्छ । के हो वास्तविकता ?
– बाहिर त्यो कुरा आएको छ । त्यो हाम्रो आन्तरिक कुरा हो । हामीले आन्तरिक कुरा मिलाउँछौं । राष्ट्रियता र जनतन्त्र, जनजीविकाका बारे व्यापक छलफल गरेर सही निश्कर्षमा जान्छौं । मैले असार १६ बाट सुरु हुने एकीकृत समाजवादीको महाअधिवेशनमा राष्ट्रियतासम्बन्धी एउटा दस्तावेज मैले पनि प्रस्तुत गर्दैछु ।
० हाँक साप्ताहिक मार्फत् थप भन्नु छ कि ?
– मुलुक अहिले ठूलो राष्ट्रिय संकटमा फसेको छ । देशलाई संकटबाट मुक्त गर्न सबै एक ढिक्का भएर लड्नु पर्ने आवश्यकता छ । त्यसतर्फ वामपन्थीदेखि प्रगतिशील, प्रजातन्त्रवादी तथा देशभक्तहरु एक हुनै पर्छ ।

