– खगेश्वर शर्मा, केन्द्रीय सदस्य, अखिल भारत नेपाली एकता समाज
१) शर्माजी, संगठनको कामले अहिले भारतमा हुनुहुन्छ । संगठनको काम कसरी अगाडि बढिरहेकोछ ?
–म संगठनको कामले भारत आएको छु । भारतमा मैले एकता समाजमा लामो समय काम गरेको थिएँ । बीचमा केही वर्ष नेपालतिर बसें । अहिले पुनः सांगठनिक जिम्मेवारीले भारत आएको छु । भारतको संगठन विगतको तुलनामा अहिले केही कमजोर भएको महशुस गरेको छु । संगठन निर्माण र विस्तारमा बढी मेहनत गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यसै सिलसिलामा भारतमा रहेका दुई संगठन अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच २०२४ जुलाई ६–७ का दिन भारतको तेलंगना राज्यको हैदरावादमा एकता अधिवेशन सम्पन्न भएको थियो । आनन्द थापा केन्द्रीय अध्यक्ष र महेन्द्र बस्याल सहासचिव रहेको अखिल भारत नेपाली एकता समाजको नयाँ केन्द्रीय समिति गठन गरिएको छ ।
यसै दौरानमा संगठनको तल्लो तहसम्म सम्भव भएका ठाउँहरुमा एकता गर्ने निर्णय अनुसार मध्य दक्षिण क्षेत्रको भेला हैदरावादमा १६ जुलाईमा सम्पन्न भयो भने दक्षिण भारतको कर्नाटक राज्यको बेंगलोरमा २१ जुलाई, सुदूर पश्चिमोत्तर क्षेत्रको होसियारपुरमा र २८ जुलाईको अलाहवाद (प्रयागराज) उत्तर प्रदेशमा एकता सम्पन्न भएको छ भने ४ अगस्टको पश्चिमोत्तर क्षेत्रको हरियाणाको फरिदावादमा हुन गइरहेको छ । १५ अगस्टको मुम्बई, पूर्वी भारत, पूर्वोत्तर भारत, उत्तराखण्ड, मध्यप्रदेश, लद्दाखमा कार्यालय मार्फत् त्यहाँ जाने तयारी गरिएको छ । साथसाथै नगरहरुमा पनि एकता अधिवेशन चलाउने निर्देशन गरिएको छ ।
२) अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवाशी नेपाली एकता समाजको बीचमा एकता सम्पन्न गर्नु भयो । यो एकता किन गर्नु परेको हो ?
विचार मिल्ने संगठन अलग अलग बस्नु भन्दा एकीकृत भएर अगाडि बढ्नु नै उपयुक्त हुन्छ । एकताबाट बल पैदा हुन्छ । एकताबाट नै भारतमा रहेका कामदारहरुको समस्या समाधान गर्न सक्ने तथा उर्जाशक्ति बढेर जाने हुनाले एकता गर्नु परेको हो ।
३) यो एकताले भारतमा संगठन निर्माणमा कस्तो प्रभाव पार्ने छ ?
यो एकताले भारतमा रहेका शोषित पीडित नेपालीहरुको पक्षमा काम गर्नेछ र केन्द्रदेखि टोलसम्मका कार्यकर्ताहरु उत्साहित भएको पाइएको छ । यो एकताले दक्षिणपन्थी अवसरवादीहरुलाई चिन्ता परेको छ भने क्रान्तिकारीहरुलाई उत्साहित बनाएको छ ।
४) तपाईले सांगठनिक एकताले संगठन निर्माण र परिचालनमा राम्रो योगदान दिनेछ त भन्नू भयो। तर एकता गरेको लगत्तै केही व्यक्तिहरू संगठनबाट बहिर्गमन भए । जुटने कार्यक्रम बनाएका बेला फुट्ने काम भैरहेको छ । यस्तो अबस्थामा संगठनको कसरी विकास सम्भव छ र ?
– उनीहरुको भित्री चाहना आफ्नो हैकमवादी नीति लागु गर्ने रहेछ उनीहरुले जे सोचेर संगठनमा एकता गरे तर उनीहरुको उद्देश्य पूरा नहुने देखेपछि उहाँहरु वहिर्गमन भएका हुन , यसले संगठनलाई खासै हानी नोक्सानी पु¥याउँदैन ।
५) तपाईले बिगतमा लामो समय भारत प्रवाशमा काम गर्नु भयो । अहिले फेरि संगठनको जिम्माले भारतमा हुनुहुन्छ । विगतमा तपाईले काम गर्दाको अबस्था र अहिलेको अवस्थामा के भिन्नता पाउनु भयो?
–यो मैले माथि पनि भनिसके पहिला स्थायी जागिर हुने साथीहरु संगठनमा धेरै हुन्थे । उनीहरुले संगठनको लागि समय निकाल्न सक्थे । अहिलेको अवस्था फरक छ । जागिरबाट कम समय मिल्ने , दोस्रो कुरा मोवाइलले पनि धेरै साथीहरुलाई सुविधाभोगी बनाइरहेको अवस्था छ । प्राइभेट जागिरमा धेरै घण्टा काम गर्नुपर्दछ, समयको अभावका कारणले पनि विचार हुँदा हुँदै पनि समय दिन नसकेको अवस्था छ । कतिपय कामदारहरु गलत लतमा अस्तव्यस्त रहने, संगठन, पार्टी , सामाजिक भावनाबाट टाढा रहने गरेको पाइन्छ ।
६) भारतमा रहने नेपालीका समस्याहरू के के छन् ?
– भारतमा स्थायी जागिर पाउने सम्भावना १९९० सम्म थियो । अब स्थायी जागिर पाउन मुस्किल छ । सबै नेपालीहर अस्थायी जागिरमा सीमित रहन पुगे ।
सरकारी संस्थाहरु पनि निजीकरण हुँदै जाँदा श्रमिकहरुले पाउने सुविधाबाट पनि बञ्चित हुन पुगे ।
७) डोमिसाइलको समस्या भनेको के हो? त्यसबारे तपाईं आबद्ध संगठनको धारणा के छ ?
– डोमीसाइल इलिजीवीटी सर्टिफिकेट भनेको तीन पुस्ते प्रमाणहरु देखाउन सक्नु पर्ने नै हो, सरकारी कामको लागि अनिवार्य गरेको थियो, अहिले त्यो समस्या खासै देखिएको छैन ।
८) भारतमा नेपालीहरू आधार कार्ड विना कुनै ब्यबहारिक काम गर्न नपाइने समस्याले आक्रान्त छन् । त्यस सम्बन्धमा तपाईको संगठनको धारणा के छ ?
–आधारकार्ड, पेनकार्ड विना होटलमा बास बस्न, बस, रेल, जहाजमा यात्रा गर्दा पनि र बैंक खाता, खोल्न जागिर खान, सिमकार्ड लिन, रुम भाडामा लिएर बस्न, ग्याँस कनेक्सन लिन , मृत्यु प्रमाणपत्र, घाटसम्मको लागिसम्म पनि बाधा आइपरेको आम नेपालीहरुबाट गुनासो सुन्न पाइन्छ, यसबारेमा नेपाल र भारत सरकार बीचमा विगतमा भएका सन्धि सम्झौता अनुरुप नभएको पाइएको छ, तर भारतीय नागरिकहरुले नेपालमा सबै सुविधा पाएका छन् । नेपाली नागरिकहरुले भारतमा त्यो सुविधाबाट वञ्चित हुँदै गैरहेका छन् । यसबारेमा नेपाल सरकार तथा नेपाली दुतावासको ध्यान पुगेको देखिंदैन ।
९ ) भारत स्थित नेपालीहरूको समस्या समाधानमा अखिल भारत नेपाली एकता समाजको भूमिका के छ ?
– तत्काल रुपमा हामीहरुले क्षणिक कुराहरु उठाए पनि नेपाल सरकारले नेपाली युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था नगर्दासम्म भारतमा रहने युवा र अन्य सबै कामदारहरुको खासै समस्याको समाधान हुने देखिंदैन, भारतमा केवल जीवन जिउने बाटो मात्र हो ।
१०) संगठनको आगामी कार्यक्रम के छ ?
–केन्द्रदेखि सुरु भएको एकता अधिवेशन क्षेत्र नगर हुँदै एरिया टोलसम्म पुग्ने तयारीमा छ । नयाँ ठाउँमा अथवा सम्भावना देखिएका ठाउँहरुमा नगर समिति, एरिया, टोल, सम्पर्क जे सम्भावना हुन्छ त्यो गर्दै जाने तयारीमा छौं ।
११) नेपालमा सरकार फेरबदल भएकोछ । नेपालको राजनीतिलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
–यो दलाल संसदीय व्यवस्थाको नै संकट हो । सरकार फेरबदल भएर गरिब निमुखा जनताको समस्या समाधान हुने होइन झन बढेर जाने हो । कौवालाई बेल पाक्यो हर्ष न विस्मात भने झैं जनतालाई त्यसप्रति खास मतलव छैन । जो सत्तामा गएपनि यो व्यवस्थामा देश र जनतालाई लुट्ने हुन् ।
१२) अन्त्यमा हाँक साप्ताहिक मार्फत भन्नू केही छ कि ?
हाँक साप्ताहिक लोकप्रिय पत्रिका हो । यो पत्रिकामाथि चारैतिरबाट प्रहार भइरहँदा पनि निडर भएर अगाडि बढेको छ र यसले निरन्तरता पाइरहने छ भन्ने कामना गर्दछु ।

