माघ – ४, काठमाडौं ।”कामरेड पुष्पलाल र नेपाली कम्युनिस्ट आन्दोलनको बाटो” विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंको वाल्मीकि विद्यापीठको एक सभा हलमा सम्पन्न भएको छ । पुष्पलाल विचार प्रवर्द्धन केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । पुष्पलाल विचार प्रवर्द्धन केन्द्रका अध्यक्ष खेम नारायण ढुङ्गानाको अध्यक्षता, पुष्पलाल विचार प्रवर्द्धन केन्द्रका सदस्य शशिकला घिमिरेको सन्चालन, शहिदहरू प्रति एक मिनेट मौन धारण र सो संस्थाका कोषाध्यक्ष शम्भु कट्टेलको स्वागतबाट कार्यक्रम अगाडि बढेको थियो । कार्यपत्र प्रस्तुत संस्थाका अध्यक्ष खेमनारायण ढुङ्गानाले र कार्यपत्रको व्याख्या कृष्णहरी भट्टले गर्नु भएको थियो ।
बक्ताहरूले पुष्पलालका विचारको सान्दर्भिकता बारे चर्चा गर्नु भएको थियो । २०२५ मा तेस्रो राष्ट्रिय सम्मेलन गरेर माओत्सेतुङ विचारधारालाई पथप्रदर्शक सिद्धान्त बनाउनु र नयाँ जनवादी कार्यक्रम पेश गर्नु तथा राजतन्त्र र पन्चायतका विरुद्ध संयुक्त आन्दोलन गर्नु पुष्पलालको सकारात्मक योगदान रहेको वक्ताहरूको भनाइ थियो ।पुष्पलालले अगाडि सारेको नयाँ जनवादी कार्यक्रम पूरा अझै नभएकोले त्यसका लागि संघर्ष गर्नु पर्ने बक्ताहरूको भनाइ थियो । एमाले र माओवादी केन्द्र ले आन्दोलनलाई धोका दिएको र विसर्जनवादमा गएको पनि बक्ताहरूको साझा धारणा थियो ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रको भ्रमलाई चिरेर क्रान्तिकारीहरूको सही विचार निर्माण गरेर जानू पर्दछ भन्नु भयो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य राम सिंह श्रीसले पुष्पलालले त्यो बेलामा नयाँ जनवादको जुन कुरा गर्नु भएको छ ,त्यो आधारभूतरूपमा सही भए पनि तर अहिले परिस्थिति बदलिएको छ । सामन्तवाद अब जनताको प्रमुख दुश्मन होइन ।दलाल पुँजीवाद मुख्य समस्या बनेर आएकोछ भन्नू भयो । अहिले नयाँ जनवाद होइन बैज्ञानिक समाजवादी कार्यक्रममा जानू पर्दछ भन्ने कुरा पनि आएकोछ ।यस्ता विचाराधारात्मक कुरामा स्पष्ट हुन जरुरी छ । पुँजीवादी क्रान्ति नगरी समाजवादमा जान सकिदैन – श्रीसको भनाइ थियो । श्रीसले अगाडि भन्नू भयो अहिले संशोधनवाद बलियो छ ,अब क्रान्तिकारी शक्तिलाई बलियो बनाउने उपाय खोज्नु पर्दछ । त्यसका लागि क्रान्तिकारीहरूको निकटता,एकता सहकार्य ,कार्यगत एकता,संयुक्त मोर्चा चाहिन्छ भन्नू भयो । पुष्पलाललाई अहिले कसैले पनि गद्दार भन्दैनन त्यसैले अब के गर्ने बारेमा धेरै दिमाग खियाउनु पर्दछ श्रीसले थप जोड दिनु भयो ।
नेकपा २००६ का संयोजक टंक पौडेल,नयाँ जनवादी मोर्चाका अध्यक्ष दिनेश बर्तौला,पुष्पलाल अध्ययन समाजका सदस्य मुकुन्द आचार्य,वाम बुद्धिजीवी डाक्टर केशबराज खडका,पिपुल्स फोर्सका केन्द्रिय सदस्य निल गगन ,नेकपा पन्ध्र सेप्टेम्बरका पि बि एम टंक भट्टराई , शंकर पोखरेल ( गुल्मी) ,नयाँ जनवादी मोर्चाका सल्लाहकार उदयराज अधिकारी,डाक्टर मोहन सिंह प्रधानले मन्तब्य राख्नु भएकोथियो । संस्थाका सदस्य भवानी के सीले धन्यवाद मन्तब्य राख्नु भएकोथियो । र, अन्त्यमा ढुंगानाले उठेका विषयहरू माथि स्पष्टीकरण दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

