महासचिव अस्पतालबाट डिस्चार्ज

माघ १५,काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पौष १ गतेदेखि सघन उपचारमा रहनुभएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण स्वास्थ्य सुधार भई अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले २०८१ माघ १५ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो कुराको जानकारी दिएका हुन् । महासचिव किरण २०८१ माघ १४ गते साँझ डिस्चार्ज हुनु भएको प्रेस वक्तव्यमा जनाईएको छ । वक्तव्यमा उहाँको उपचारमा संलग्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर , नर्सहरु, अस्पतालका प्रशासक एवम् कर्मचारीहरु र वहाँको उपचारमा अहोरात्र खटिएका पार्टीका जिम्मेवार कमरेडहरु ,उपचार खर्च जुटाउन सहयोग गर्नुहुने नेता कार्यकर्ता ,समर्थक तथा शुभचिन्तकहरुमा पार्टीको तर्फबाट धन्यवाद प्रकट गरिएको छ। वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ –“
त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा गत पौष १ गतेदेखि सघन उपचारमा रहनुभएका हाम्रो पार्टीका महासचिव क. मोहन वैद्य ‘किरण’ हिजो माघ १४ गते साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास प्रश्वासको दीर्घरोगी उहाँ निमोनियाबाट समेत संक्रमित हुनुहुन्थ्यो । कमरेड किरणको उपचारमा संलग्न डा. निरज बम, शिक्षण अस्पताल महाराजगजका स्वासप्रश्वास विभागका प्रमुख डा. सन्त कुमार दास, सघन उपचार कक्षका डाक्टर प्रमेश श्रेष्ठ तथा डा. सुवाश आचार्य सहित अन्य डाक्टरहरु र परिचारिकाहरुको अथक प्रयास र अस्पतालका सम्बन्धित प्रशासक एवम् कर्मचारीहरुको सहयोगले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो । हाम्रो पार्टी उहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै उहाँको उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने पार्टीका जिम्मेवार कमरेडहरु, उपचार खर्च जुटाउन सहयोग गर्ने हाम्रो पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरु र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित