नेपाल –भारत सम्बन्धको मुख्य बाधक भारतीय विस्तारवादी शासक हो

–तुहिन
पि.वि.एम.भाकपा (माले) रेडस्टार

(गत जनवरी १३–१७ सम्म जात उन्मूलन आन्दोलन र गुरु घासीदास सेवादार संघ ,छत्तिसगढको आयोजनामा एक अध्ययन समुहले नेपाल अध्ययन भ्रमण गरेको थियो । समुहको नेतृत्व गर्दै जात उन्मूलन आन्दोलनका संयोजक एवम् भाकपा (माले) रेडस्टारका पि.वि.एम.तुहिन र गुरु घासीदास सेवादार संघका अध्यक्ष लखन सुबोध नेपाल आएका थिए । नेपाल अध्ययन भ्रमणमा आएका अध्ययन समुहका नेता तुहिनलाई हाँक साप्ताहिकले अध्ययनको उद्देश्य, अनुभव र आगामी कार्यक्रमबारे प्रश्न सोधेको छ ।)

० नेपाल अध्ययन भ्रमणमा आएका दुई संगठनहरू जात उन्मूलन आन्दोलन र गुरु घासीदास सेवादार संघ, छत्तीसगढ़को परिचय दिनु हुन अनुरोध छ ।
– जात उन्मूलन आन्दोलन (सी.ए.एम.) भाकपा ( माले ) रेड स्टारसँग सम्बन्धित संगठन हो । यसको स्थापना सन् २०१२ मा दिल्लीमा भएको थियो । पार्टीको तर्फबाट यस संगठनको नेतृत्व गर्न मलाई जिम्मा दिइएको छ ।जात व्यवस्था भारतीय समाजको एक अनौठो विशेषता हो । यसका विरुद्ध शताब्दीऔं देखि जस्तो कि गौतम बुद्धको पालादेखि नै विभिन्न क्षेत्रका विशेषता अनुसार सामाजिक सुधार आन्दोलन चल्दै आएको छ । साम्राज्यवादी वैश्वीकरण–उदारीकरण–निजीकरणमा आधारित नीति लागू भए पछि दलित, आदिवासी, अन्य उत्पीडित वर्ग र तप्का तथा महिलामाथि अत्याचार पनि तीव्र भएको छ । उत्पीडित समुदायलाई केन्द्र सरकार र राज्य सरकारले प्राप्त हुँदै आएका अधिकार र आर्थिक लाभबाट वन्चित गर्दै गएका छन् । यहाँ सम्म कि जात आधारित आरक्षणको व्यवस्थालाई पनि वर्तमान करपोरेट फासीवादी शासनले समाप्त गरिदिएको छ । जात व्यवस्था श्रमको एक निश्चित सामाजिक संगठनबाट विकसित भएको हो । यसर्थ जात व्यवस्थाको उन्मूलनको लागि जात व्यवस्था विरुद्धको संघर्षलाई वर्ग संघर्षको हिस्सा मान्नु पर्दछ । जात व्यवस्था उन्मूलन आन्दोलन र वर्ग संघर्षलाई जोडेर लैजानु पर्दछ।
भारतीय कम्युनिस्ट आन्दोलन अमानवीय जात व्यवस्थाका बारेमा ठोस मूल्यांकन गर्न विफल रहँदै आएको छ । तथापि १९३० मा भाकपाद्वारा तैयार गरिएको दस्तावेजमा “कार्रवाई के लिए मसौदा मंच” कम्युनिस्ट पार्टीको जनताको जनवादी कार्यक्रमको हिस्साको रूपमा जात उन्मूलन दिशामा एक दृष्टिकोण अगाडि सारिएको थियो । सीपीआई (एमएल) रेड स्टार र अरू समान विचारधारा राख्ने शक्तिहरूको पहलमा २२ अप्रिल, २०१२ मा नयाँ दिल्लीमा जात उन्मूलन आन्दोलन (सीएएम) को स्थापना गरिएको थियो । त्यो संस्था स्थापनाका बेला नेपालीहरूको प्रवासी संगठन एकता समाजका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
जात व्यवस्था उन्मुलन आन्दोलन (सीएएम) ब्राह्मणवादी÷ मनुवादी राज्यलाई उखेलेर फाल्ने र देशमा जनताको सत्ता स्थापित गर्नको लागि सबै ब्राह्मणवाद विरोधी शक्तिहरूलाई संगठित गर्ने उद्देश्य राख्दछ । जात उन्मूलन आन्दोलन (सी.ए.एम.) ले भूमिहीनलाई भूमि वितरण गर्नु पर्ने माग सहित क्रान्तिकारी भूमि सुधार अभियान चलाउँदै आएको छ । जात व्यवस्थाले पुरानो आदत, विश्वास, परम्परा, विवाह प्रणाली, नाम, पोशाक र भोजन शैलीलाई निरन्तर प्रभाव पारेको छ । सीएएमले विभिन्न अध्ययन गरेर दीर्घकालीन कार्यक्रम विकसित गर्दैछ । वैज्ञानिक दृष्टिकोण र जनवादी विचार प्रचार प्रसार गरेर सबै जातीय र धार्मिक अन्ध विश्वासलाई हटाउन प्रयास गर्ने छ ।
यसले धर्मनिरपेक्ष सामाजिक मूल्यलाई लागू गर्न प्रयास गर्ने छ । जात व्यवस्थालाई पक्षपोषण गर्ने ब्राह्मणवादी साहित्य, विश्वास, प्रथा र अन्धविश्वास विरुद्ध निरन्तर अभियान चलाउने छ । अन्तरजातीय एवं अन्तरधार्मिक विवाहलाई प्रोत्साहन गर्नेछ । समान र अनिवार्य शिक्षा, आवास, स्वास्थ्य र रोजगार तथा,सार्वजनिक र निजी दुवै क्षेत्रमा शिक्षा, रोजगार र पदोन्नतिमा आरक्षणका लागि संघर्ष गर्नेछ ।जीवनका सबै क्षेत्रमा सबै प्रकारका जातीय उत्पीड़न, दमन र भेदभावका विरुद्ध संघर्ष गर्दै न्यायपूर्ण समाज निर्माण गर्नु यसको उद्देश्य हो ।
गुरु घासीदास सेवादार संघ(जि.एस.एस.) छत्तिसगढको मूल उद्देश्य संकीर्ण जातीय दृष्टिकोणबाट माथि उठेर गुरु घासीदाको मूल विचारलाई आमजनतामा प्रचार गर्ने हो । पीडित मानवको सेवामा सदैव तत्पर रहनु र सामाजिक विकासका हरेक क्षेत्र अर्थ–नीति, धर्मनीति, राजनीति, प्रशासन नीति, समाज– संस्कृति नीति आदिमा सेवाको भावनाबाट काम गर्न उत्प्रेरित गर्नु यसको उद्देश्य हो ।
० नेपाल अध्ययन भ्रमणको उद्देश्य के थियो ?
– जि.एस.एस.एवं सि.एम.ए.को तत्वाधानमा “नेपाल स्टडी अध्ययन दल”को कार्यक्रम बनाइएको थियो । यस कार्यक्रमको उद्देश्यबारे सार्वजनिक रूपमा जारी–प्रचारित पत्रमा निम्न अनुसार बताइएको छ–
१) संसारको एकमात्र हिन्दु राष्ट्र÷राजशाही नेपाल धर्मनिरपेक्ष लोकतांत्रिक देश नेपालमा कसरी रुपान्तरित भयो? यसको साथै नेपालमा मनुवादी÷ ब्राम्हणवादी हिन्दु परम्परा र जात व्यवस्थाको रूप नेपालमा कस्तो छ ?जात व्यवस्था र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को वैचारिक आधार मनुवादी÷ ब्राम्हणवादका विरुद्ध नेपालका क्रान्तिकारी वाम शक्तिहरु र जात व्यवस्था विरोधी शक्तिहरुले कसरी संघर्ष गरिरहेका छन्? यी विषयहरुमा शोध–अध्ययन टीम बनाएर नेपालमा आम वा खास व्यक्तिहरुसित भेटघाट, छलफल गरेर अध्ययन प्रतिवेदन तयार पार्ने उद्देश्य राखिएको थियो।
२) भारत र नेपालका जनताका बीच सुदृढ़ मैत्रीपूर्ण एकता निर्माण गर्ने उपयुक्त बिन्दुको खोजी गर्नु ।
३) नेपालमा धर्मनिरपेक्ष– प्रगतिशील जनसमुहसँग बैठक,अन्तरंग चर्चा,संगोष्ठी÷ सेमिनार आयोजना गरेर एकले अर्कोलाई नजिकबाट चिन्नु ।
४) नेपालयात्राको सम्पूर्ण जानकारी –अनुभवबारे साहित्य प्रकाशित–प्रचारित गर्नुु
० तपाईंले नेपाल अध्ययन भ्रमणको मूल्याङ्कन कसरी गर्नु हुन्छ ?
– नेपाल अध्ययन भ्रमण दुई चरणमा गर्ने कार्यक्रम बनाइएको थियो ।
पहिलो चरण – नेपालमा गएर सम्बन्धित व्यक्तिहरूसँग भेटघाट गर्ने र यस भेटघाटबाट प्राप्त जानकारीको आधारमा अन्तिम शोध–निष्कर्ष निकाल्नको लागि प्रश्नावली तयार गर्ने ।हामीले हाम्रो भ्रमणमा प्राप्त महत्वपूर्ण जानकारीका आधारमा प्रश्नावली तयार गर्दैछौं, यो कार्य जारी छ।
द्वितीय चरण – यस चरणमा हामी प्रश्नावलीलाई सार्वजनिक रूपमा जारी गर्नेछौं र अध्ययन यात्रा÷भेटघाटमा भेटिएका व्यक्तिहरू र सार्वजनिक रूपमा पनि उनीहरूबाट उत्तर हामीलाई पठाउने अपेक्षा राखेका छौं ।प्रश्नहरूको उत्तर प्राप्त भएपछि उत्तरहरूको विश्लेषणपछि निष्कर्षलाई (यात्राको सम्पूर्ण वृत्तान्तसँग) पुस्तकाकार रूपमा प्रकाशित गर्नेछौं।
यात्राको प्रारम्भिक मूल्याङ्कन हामीले गरेको पूर्वानुमान भन्दा निकै उत्साहजनक रहेको छ। जसरी नेपालका विभिन्न बौद्धिक व्यक्तित्व , क्रान्तिकारी संगठनहरूले हामीलाई सहयोग दिएका छन्, त्यो अविस्मरणीय छ। हामी विशेष गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र एकीकृत दलित मुक्ति मोर्चा नेपाल प्रति आभारी छौं। यी संगठनहरूका नेतृत्व तहमा रहेका साथीहरू विशेष गरी कमरेड सन्त बहादुर नेपाली र कमरेड टेक बहादुरमा हामी कृतज्ञ छौं। साथै, कामरेडहरू शोभा विश्वकर्मा, रोशन विशुङ्खे , वीरेन्द्र , ईश्वर तिमिल्सेना, राजू मगरातीसहित अन्य क्रान्तिकारी साथीसँग पनि आभारी छौं। उहाँहरू हाम्रोलागि आफ्नो परिवारजस्तो लागिरहेको छ ।
विशेष गरी भारत र नेपालका राजनीतिक–सामाजिक मुद्दाहरूमा हाम्रा चिन्तन–सोच र बुझाईमा समानता देखिएको छ। धेरै यस्ता तथ्यहरू हामीलाई थाहा भएका छन्, जसलाई नेपाल नगएर प्राप्त गर्न सक्दैनथ्यौं। ठीकसँग भन्नुपर्दा, हाम्रो नेपाल शोध अध्ययन भ्रमण पूर्णरूपमा सफल रह्यो। नेपालमा हाम्रो यात्राका क्रममा बुटवल, चितवन, भरतपुर, रामनगर, लुम्बिनी, कपिलवस्तु, काठमाडौँ, काभ्रेपलान्चोक , जीतगढ़ीमा हामीलाई गरिएको अतिथि सत्कार र आत्मीय व्यवहारले हाम्रो टोलीलाई अति नै खुसी बनायो। हाम्रो टोलीका साथीहरूको मन र मस्तिष्कमा नेपाल र नेपालका साथीहरूको याद ताजा र अमिट रूपमा अंकित भएको छ। विशेषगरी नेपालमा राजशाहीविरुद्ध जनआन्दोलनको विजय र लोकतान्त्रिक नेपालको स्थापनाको संघर्षबाट हामीले धेरै कुरा सिकेका छौं।
० दलित आन्दोलनको सन्दर्भमा नेपालबाट तपाईंले के जानकारी पाउनु भयो ?
– दलित आन्दोलन भारत र नेपालमा लगभग समान परिस्थितिबाट गुज्रिरहेको छ। नेपालमा विभिन्न गोष्ठीहरूमा यस प्रश्नमा जुन समझदारी देखिएको छ, त्यो कमोबेश भारतमा पनि देखिन्छ । हाम्रो विचारमा, दलित मुद्दामा नेपाल–भारतको दक्षिणपन्थीहरूको विचार र कार्य एउटै देखिन्छ। तर, दलित आन्दोलन वा जाति उन्मूलनको मुद्दामा प्रायःकम्युनिस्ट संगठनहरूले जात व्यवस्थालाई केवल बाहिरी संरचनाको हिस्सा मात्र मान्नु, यो भ्रम भारत र नेपाल दुवैमा देखिन्छ। भारतमा बहुलता र विविधता बढी भएको कारण, र दलित आन्दोलनको एउटा हिस्सा भारतमा दक्षिणपन्थी संघी मनुवादी फासीवादी शक्तिहरूले पहिचानको राजनीति मार्फत बढी प्रभावकारी रूपमा आफ्नो पक्षमा आकर्षित गर्न सफल भएका छन्। त्यस्तै नेपालमा दलित प्रश्नमा अधिकांश जन संगठनहरूको सोचमा समानता छ ।दलित मुक्ति लक्ष्य सबैले स्वीकार गरेका छन्, तर रणनीतिक र व्यावहारिक मोर्चामा विभिन्न समूहहरूबीच भिन्नता देखिन्छ । नेपालमा जनयुद्धपछि लोकतन्त्र स्थापना भएको २० वर्षपछि, आज धेरै लोकतन्त्र पक्षधर वाम शक्तिहरूले दलित मुक्ति वा जात व्यवस्था उन्मूलनको सवालमा जागरूकता बढेको छ । तर यदि यी शक्तिहरू बीच नियमित वैचारिक–रणनीतिक सम्पर्क र छलफलहरू भए भने, दूरीहरू कम हुने आभास भएको छ ।
नेपालका दलित संगठनहरू विशेष गरी “एकीकृत दलित मुक्ति मोर्चा” ले भारतको वर्तमान स्थितिबारे राम्ररी जानकारी राख्दछ । उनीहरू, भारतको फासीवादी धार्मिक कट्टरपन्थी हिन्दूराष्ट्रको बढ्दो खतरा र यसको विरुद्ध क्रान्तिकारी वाम र जात व्यवस्था विरोधी शक्तिहरूले प्रभावकारी कदम चाल्दै जाउन् भन्ने ठान्दछन् । हामी विश्वास गर्छौं कि भारत र नेपालमा जनताको जनवादी क्रान्ति गर्नु भनेको जात व्यवस्थाको सवाललाई वर्ग संघर्षसँग जोड्नु हो ।
० नेपाली दलित आन्दोलन र भारतीय दलित आन्दोलनको बीच के के समानताहरू र के के भिन्नताहरू छन् ?
– नेपाली दलित आन्दोलनको सोच–झुकाव आधारभूत रूपले केही सीमाका बाबजुद वाम विचारधारासँग देखिएको छ । तर, २००६ पछि संविधान सभाको गठन र लोकतान्त्रिक संविधान निर्माणमा भएको कठिनाइ र यसका विरोधाभासी राजनीतिक घटनाक्रमहरूले दलित आन्दोलनमा वाम पार्टीसँग असहमतिहरू पनि ल्याएका छन् । भारतमा दलित आन्दोलन पहिला केही हिस्सामा आन्दोलनात्मक वैचारिकीको रुपमा अंशको रूपमा रहेको थियो, तर अहिलेको अवस्थामा दलित मुद्दालाई दक्षिणपन्थी रमध्यपन्थी शक्तिहरूले हाइज्याक गरेका छन् । भारतमा वाम विचारधारासँग भएका ऐतिहासिक भूलका कारण दलित आन्दोलनको संयोजन गर्न सकिएन। अहिले केही सकारात्मक पहलहरू भइरहेका छन्, तर ती अपर्याप्त छन् ।
० भविष्यमा दलित आन्दोलनको सन्दर्भमा नेपाल र भारत बीच कस्तो सम्बन्ध स्थापित हुनु पर्छ?
– भारत र नेपाल दुई सार्वभौम राष्ट्र भए तापनि एकै परिवारजस्तो छन्। एउटा देशमा भएको घटनाको प्रभाव सजिलै अर्को देशमा पर्दछ । यो कुरा दुवै देशका आम जनताले बुझ्छन् र उनीहरू चाहन्छन् कि नेपाल–भारत बीच मित्रता र एकता होस् । यसका लागि सबैभन्दा बढी बाधक भारतको कर्पोरेट फासीवादी गठबन्धन सरकारको विस्तारवादी व्यवहार छ ।
नेपाल र भारतका जनताको बीचमा लामो समयदेखि ऐतिहासिक सांस्कृतिक– सामुदायिक गहिरो सम्बन्ध रही आएको छ। नेपाली जनताहरुले २००६ मा ऐतिहासिक जनआन्दोलनबाट राजतन्त्रको अन्त्य गरेका छन् र नेपालमा एक सच्चा लोकतन्त्र प्राप्तिकोलागि जनताको जनवादी व्यवस्था स्थापनाकोलागि वामपन्थी ,देशभक्त,जनवादी,शोषित पीडित,मेहनतकश जनता लगातार संघर्षरत छन् । सच्चा लोकतन्त्र अर्थात जनताको जनवादी नेपालको निर्माणको हामी भारतीयहरुले पनि प्रेरणा लिनेछौं । तपाइँहरु नेपालमा जनताको दुश्मन साम्राज्यवादी शक्तिहरु र दलाल देशीय कर्पोरेट सामन्ती शक्तिका विरुद्धमा लडिरहनु भएको छ । त्यस्तै गरी हाम्रो भारत पनि साम्राज्यवादीको हिस्सेदार कर्पोरेट घरानाका लठैतहरुको कारण देश बर्बाद भइरहेको छ । यो अवस्थामा हाम्रो देश संसारको सबैभन्दा पुरानो फासीवादी संगठन आरएसएसको निर्देशनमा फासिष्ट मोदीको भाजपा सरकारको अन्धकारमय शासनमा हामी बाँचिरहेका छौं । यो कुरालाई भारत निवासी नेपाली मेहनतकश मजदुर साथीहरुले पनि अनुभव गर्नु भएको छ । पछिल्लो ७५ वर्षमा देशमा सबभन्दा गरिबी ,भुखमरी ,अशिक्षा र महंगी बढिरहेको छ । अडानी र अम्बानी जस्ता महाभ्रष्ट कर्पोरेट पूँजीवादीहरुको लुटले देश तबाह भइरहेको छ ।
यिनीहरुको फासिस्ट संघका लठैतहरुले एक बहुलतावादी ,बहुराष्ट्रिय,बहुधार्मिक,बहुजातीय,बहुभाषीय देशलाई बलपूर्वक एक करपोरेट शासित हिन्दुराष्ट्र बनाउन कोसिस गरिरहका छन् । आरएसएसका वैचारिक आधार,भारतको संविधान होइन बरु मनुस्मृति होे। जस अनुसार तमाम दलित÷ उत्पीडि ,आदिवासी,अल्पसंख्यक,महिला तथा गरिब मेहनतकश जनतालाई मानवताको रुपमा होइन दासको दर्जामा राखेका छन् । बहुसंख्यकवादी हिन्दुराष्ट्र बनाउन यिनीहरुले घृणा र विभाजनको राजनीति गरिरहेका छन् । त्यसैका आधारमा यिनीहरुले काश्मिर देखि मणिपुर,हाथरस उत्तरप्रदेश देखि नूह हरियाणा सम्म धर्म र जातको नाममा उत्तेजना फैलाइरहेका छन्। जसले उनीहरुको देशविरोधी तथा जनविरोधी नीतिको विरोध गर्दछ उनीहरुलाई या त जेलमा थुन्दछन् या उनीहरुको हत्या गरिदिन्छन्।
भारतको अहिलेको सत्ताधारी संघी मनुवादी फासिस्ट शक्ति नेपालसहित छिमेकी देशहरुको पनि दूश्मन हो । यसको रवैया नेपालप्रति घोर विस्तारवादी छ । यसले कालापानी, लिम्पियाधुरा,टनकपुर आदि मुद्दामा नेपाललाई धम्की दिने र दादागिरी देखाउने गर्दछ । आरएसएस फासिस्ट गैंग,नेपालमा राजशाही र हिन्दुराष्ट्रको पुनः स्थापन गराउने षडयन्त्र रचिरहेको छ । यस्तो अवस्थामा हामी सबै प्रगतिशील शक्तिहरु मिलेर मानवता को शत्रु साम्राज्यवाद,फासीवाद र प्रतिक्रियावादी शक्तिहरुका विरुद्धमा लडेर शोषणहीन र जनताको जनवादी नेपाल र जनवादी भारतको स्थापना गर्नु परेको छ । हामीले जात उन्मूलन आन्दोलन र गुरु घासीदास सेवादार संघको तर्फबाट नेपाली मेहनतकश जनतालाई र हाँक साप्ताहिक पत्रिकाका पाठकहरुलाई विश्वास दिलाउन चाहन्छौंकि तपाइँहरुको संघर्षमा हाम्रो एकेबद्धता रहने छ । काँधमा काँध मिलाएर अगाडि बढ्ने छौं।
इन्कलब – जिन्दावाद । साम्राज्यवाद,फासीवाद,भारतीय विस्तारवाद बर्बाद होस् ।
समाजवाद एकमात्र विकल्प हो ।
नेपाल र भारतका जनताको एकता जिन्दावाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित