भ्रष्टाचार विरुद्धको अभियान र त्यसको उद्देश्य

-सन्तबहादुर नेपाली
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी ०८२ आषाढ ५ गते देशव्यापी रुपमा भ्रष्टाचार विरुद्धको अभियानको प्रारम्भ गर्ने भएको छ । त्यो दिन जिल्ला जिल्लामा सभा, कोणसभा वा अन्य कार्यक्रम गरेर अभियानको घोषणा गर्नेछ । आखिर यसप्रकारको अभियान पार्टीले किन प्रारम्भ गर्नुप¥यो त ? भन्ने प्रश्न उठ्न सक्छ र उठनु स्वभाविक पनि हो । यसको पछाडिको कारण धेरै छन् । प्रथमतः सरकारको नेतृत्व गर्ने नेता तथा नोकरशाहहरुको साँठगाँठ र मिलेमतोमा सबै क्षेत्रमा जुन प्रकारले भ्रष्टाचार गरिरहेका छन्, त्यसको बारेमा जनतालाई सुसूचित गर्नु, त्यसका कारणहरुलाई जनसमक्ष राख्नु, त्यसको निवारणका निम्ति जनताको पहल र सक्रियताको आवश्यकताबारे बताउनु र भ्रष्टाचार निरन्तर चलिरह्यो र रोकिएन भने देशले कुन परिणाम भोग्ने छ र जनताको अवस्था के हुनेछ भनेर जनतालाई सजग तुल्याउनु आदि हुनेछ । द्वितीय, आजसम्म भ्रष्टाचारको गीत धेरै सुनाइएको छ । जनताले भ्रष्टाचारका गीत सुनेर निकै मनोरन्जन लिईसके । एक अर्कोको पोल खोलाखोल निकै भइसक्यो । तर भ्रष्टाचारीहरुको कार्वाहीको प्रश्नमा एक अर्कालाई चोख्याउने काम पनि धेरै भई सके । भ्रष्टाचारका मुद्दाका चाङ लागिसके । तर भ्रष्टाचारीबाट असुल उपर गर्ने काम हुन सकेन । कार्वाहीको नाममा कतिपयलाई अधिकतम् २÷४ वर्ष जेल हाल्ने बाहेक केही हुन सकेन । यो अवस्थामा जनताले अब कस्तो उपाय गर्नुपर्ला ? त्यो विषयबारे पनि फैसला गर्न जनतालाई अपिल गर्ने बेला आएको छ । तेस्रो कुरा, भ्रष्टाचारको अन्त (शुन्य सहहनशीलता) के यो दलाल पुँजीवादी संसदीय व्यवस्थाभित्र सम्भव छ ? यदि छैन भने अब के गर्नु पर्ला ? त्यो बारे पनि अब पार्टीले जनतासित नै सल्लाह गर्नुपर्नेछ ।
प्रायः महिलाहरुले भ्रष्टाचार गर्दैनन् भन्ने मान्यता छ । तर हालै मिडियामा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले विलिङ प्रणाली खरिद गर्दा उनी सहित १७ जना विरुद्ध ३३ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । यो प्रकरणले सरकारी पदमा बसेपछि महिलाहरु पनि भ्रष्टाचार गर्दा रहेछन् भन्ने कुरा पनि जगजाहेर भएको छ । महिलाहरु (सबै महिला होइन) भ्रष्टाचारका लागि परिवारदेखि नै स्रोतको काम गरेको पाइन्छ । कतिपय परिवारको अध्ययन गर्दा के पाइन्छ भने श्रीमानले निश्चित खर्चका लागि श्रीमतीलाई पैसा दिन्छन् । त्यसबाट थोरै धेरै बचाएर श्रीमतीले पैसा संकलन गर्छिन् । त्यो पैसा उनीहरु गहना किन्नमा खर्च गर्छन् । कुरो कति रकम ? भन्ने होइन, कुरो चुहावटको हो । घरमा चुहावट शुरु हुन थालेपछि परिवारका सदस्यमा असमानता पैदा हुन्छ । कतिपय महिलाहरु त लुकाएर व्याजमा पैसा लगानी पनि गर्छन् । यो त निम्न आय भएका परिवारको कुरा भयो । त्यो भन्दामाथि हुने खाने परिवारको कुरा बेग्लै छ । उनीहरु जे गरेर भए पनि पैसा खुब कमाउनुपर्छ भन्ने मान्यता राख्छन् । प्रायः यही वर्गका मानिसहरु भ्रष्टाचारमा संलग्न हुने गर्छन ।
कुनै पुरुषले नाजायज रकम कमाउन चाहँदैन भने श्रीमती उनीहरुसित रिसाउँछिन् र भन्छिन्ः “फलाना फलानाले सानो जागिर भए पनि कति कमाईसके, तिमी त हुति नभएको मान्छे हौ । यसरी कसरी परिवार चल्छ ?” यसरी श्रीमानहरु भ्रष्टाचार गर्न नचाहँदा नचाहँदै पनि श्रीमतीलाई खुशी राख्न र उनको आवश्यकताहरु पूरा गर्न भ्रष्टाचार तर्फ आकर्षित हुन्छन् । त्यस्तै भ्रष्टाचार पसलहरुबाट पनि शुरु हुन्छ । तपाईले कम्पनी, संघसंस्था वा कार्यालयका लागि कुनै सामान खरिद गर्नुभयो भयो भने तपाईलाई विक्रेताले “कतिको बिल बनाउँ हजुर ?” भनेर सोध्छन् । दश प्रतिशत छुट्टाएर बील बनाउने कुरा सामान्य भएको छ । सामान्य व्यक्ति त्यसैमा सन्तोष हुन्छ । तर धेरै खाने मानिसले त्यसमा पनि बार्गेनिङ गरेर त्यो प्रतिशत ३० प्रतिशतसम्म बढाउँछन् । यसरी विभिन्न संघसंस्थासित जोडिने मानिसले त्यसप्रकारको आयलाई उनीहरुको सर्कलमा जायज प्रकारको आयको रुपमा लिन्छन् । यी भ्रष्टाचारका प्रारम्भिक रुप हुन् । हाम्रो सामन्ती तथा पुँजीवादी संस्कृतिले घरमा पनि त्यो प्रवृत्तिलाई प्रोत्साहित गरेको हुन्छ । यिनी यस्ता भ्रष्टाचार हुन जसलाई कसैले पनि सामान्य कुरो ठानेर वास्ता नै गर्दैन । तर यिनी भ्रष्टाचारका पहिलो पाठशाला हुन । यी चुहावटमा पल्किएका मानिसहरु जतिजति अवसर प्राप्त गर्छन् र सरकार वा राज्यका अंगहरुमा माथिल्लो पदमा पुग्छन्, त्यति त्यति यिनीहरुको भ्रष्टाचारको आकार बढ्दै जान्छ । त्यसपछि यस्ता मानिसहरु विचौलियाको रुपमा प्रकट हुन्छन् । त्यसपछि राज्यसंयन्त्र माथि नै प्रभाव जमाउँछन् ।
जुन रकम आफ्नो आय भन्दा बढी बाहिरी स्रोतबाट आएको हुन्छ, त्यो कालो धन हो । कालो धन आर्जन गरेर समाजमा धाक, रवाफ देखाउनेहरु नै समाजका सफेदपोश अपराधी हुन् । हाम्रो सामन्ती तथा पुँजीवादी समाजमा त्यस्तै मानिसहरुको मान प्रतिष्ठा गरिन्छ । उनीहरुलाई कालो धनलाई सेतो बनाइएन भने सरकारले त्यसको स्रोत खोज्दा पक्राउ पर्ने डर लागि रहन्छ । त्यसकारण कतिपय मानिसहरु सुन किनेर घरमा थुपार्ने गर्छन वा बैंकको लकरमा राख्छन् । सुन खिया लाग्ने र नष्ट नहुने चीज भएको हुँदा धेरैले सुन किनेर राख्ने गर्छन । त्यसैले महान लेनिनले महिला मुक्तिको कुरा गर्दा भन्नुभएको थियो ः“जुन सुनले महिलालाई श्रीमानको दास बनाएको छ, त्यो सुनलाई समाजवादी व्यवस्था आएपछि चर्पीमा लगाइनेछ । किनकि त्यसमा खिया लाग्दैन ।” पुँजी आर्जनका लागि सुनले धेरै महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । तर पुँजीवादमा यसको ठूलो महत्व र मान्यता भए पनि समाजवादमा यसको कुनै मूल्य छैन । किनकि त्यसले जनताको सेवा गर्दैन ।
हाम्रो देशमा भ्रष्टाचार समाप्त गर्ने कुरा निकै उठेको पाइन्छ । हरेक सरकारले भ्रष्टाचारलाई शुन्य सहनशीलतामा पु¥याउने कुरा गर्छन । तर वर्षेनी हजारौं मुद्दाहरु अख्तियारमा आएका हुन्छन् । अख्तियारले प्रमाणसहित पेश गरेका मुद्दाहरु पनि सरकारको छाँया परेपछि गल्याक गुलुक गल्छन् । जसको सरकार गठन हुन्छ, उसले आफ्ना भ्रष्टाचारमा सजाय सुनाइएकाहरुलाई चोख्याउने काम गर्छ । प्रतिपक्षमा रहेकाहरुलाई पुराना मुद्दा उठाइदिन्छ र प्रतिपक्षलाई उठ्नै नसक्ने गरी थचारिदिन्छ । अख्तियारले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा संलग्न भएको आंशकामा छानवीनको दायरामा राख्यो । रमेश लेखकलाई चोख्याउन शेरबहादुर देउवा मात्र होइन, सम्पूर्ण कांग्रेस पार्टी, प्रधानमन्त्री ओली, एमाले पार्टी पंक्ति सबै एक जुट भएर उभिएको छ । त्यसरी नउभिने हो भने दुवै पार्टीका अन्य व्यक्तिहरुको पुराना फाइल खडा हुन्छन् । नैतिकताका आधारमा राजीनामाको माग गर्दै प्रतिपक्षले ०८२ जेठ १३ देखि बजेट प्र्रस्तुति बाहेक सबै बैठक अवरोध गर्दै आएको छ । ठीक यही बेला पतञ्जलीको जग्गा प्रकरण उठाएर पूर्व प्रधानमन्त्री माधव नेपाललाई मुद्दा लगाइएको छ । त्यस्तै पूर्वमन्त्री अग्नी सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप माथि सर्वोच्चले अनुसन्धान अगाडि बढाउने आदेश दिएको छ । यी काम सर्वोच्चले पहिले पनि गर्न सक्थ्यो । माधव नेपाल र अग्नी सापकोटाको विषय धेरै पहिलेदेखि चर्चित विषय रहँदै आएको छ । तर त्यसमाथि आजसम्म कार्वाही गरिएन । पतंजली जग्गा प्रकरणका दोषीलाई पहिले नै कार्वाही गर्नुपर्ने अवस्था हुँदाहुँदै पनि अहिले प्रतिशोधात्मक रुपमा उठाएको हो कि भन्ने आशंका पैदा भएको छ । तर अर्कोतिर ०६४ को निर्वाचनको बेलामा बम ब्लाष्टमा घाइतेहरुलाई ईटा भट्टीमा हालेर जलाएको आरोपमा जिल्ला अदालतको फैसला अनुसार जेल परेका कांग्रेसी नेता अफताव आलमलाई सरकार कै साँठगाँठमा उच्च अदालतले सफाइ दिएको छ । कांग्रेसीहरु उत्सव मनाइरहेका छन् । अहिले ओलीले एमाले र कांग्रेस नेताहरुका मुद्दा खारेज गराउने र प्रतिपक्षका पुराना मुद्दा ब्यूँताउने काममा व्यस्त छन् । यसले के बताउँछ भने सत्तामा छँदा आफ्नो पक्षका भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने र सत्ता बाहिर छँदा सत्ता पक्षकालाई मुद्दाको दायरामा तान्न संघर्ष गर्ने काम भएको छ । तर भ्रष्टाचारीहरुलाई राज्यको विधि र कानुन अनुसार सजाय दिलाउने, राज्यको सम्पत्तिको संरक्षण गर्ने काम यो राज्य व्यवस्थामा हुन सकेन र सक्दैन ।
अहिले भ्रष्टाचार सर्वव्यापी छ । कर्मचारीहरुमा माथिदेखि तलसम्म सेटिङमा चल्छ । मालदार कार्यालय र विभागहरुमा आफ्ना मान्छेहरु तैनाथ गरिन्छ र तलदेखि माथिसम्म बेधडक भ्रष्टाचार गरिन्छ । तलका कर्मचारीहरु कहिलेकांही पत्रकारहरुको फन्दामा परे पनि उनीमाथि खासै कार्वाही हुने गरेको छैन । उनीहरुलाई माथिको आर्शिवादले सधै रक्षा गरिरहेको हुन्छ । यो अवस्थामा जनताले कसलाई विश्वास गर्ने भन्ने प्रश्न पनि त्यतिकै जटिल छ । सत्तापक्ष र प्रतिपक्षको बीचमा हुने पोल खोलाखोलमा यो वा त्यो कसैको विश्वास गर्न सकिने स्थिति छैन । किनकि आजको प्रतिपक्ष भोलि सत्तापक्ष भयो भने उसले पनि त्यही भ्रष्टाचारलाई रक्षा गर्न थाल्दछ र भ्रष्टाचारीलाई जोगाउन थाल्छ । त्यसकारण यो स्पष्ट छ कि देशमा बढिरहेका भ्रष्टाचारका घटनामा कुनै खास पार्टी वा व्यक्ति मात्र होइन, सिंगो राज्य मशिनरी नै भ्रष्टाचारका लागि जिम्मेवार छ । जनताबाट उठेको राजस्व वा करमाथि ठूलो रजाई भइरहेको छ । संक्षेपमा भन्नुपर्दा जनताको सम्पत्तिमा शासकहरुको रजाई छ ।
भ्रष्टाचारका घटनाहरु पंचायतकालदेखि नै चर्चामा आउने गरेका छन् । तर कुनै पनि काण्डको सन्दर्भमा नेताहरु एकाध बाहेक जेल जानु परेको छैन । अहिले पनि एकाध नेताहरु वा नोकरशाहहरु जेल गए पनि अधिकांश नेता तथा नोकरशाहहरु राजनीतिक आडमा जेल जानु परेको अवस्था छैन । भ्रष्टाचार गरेको रकम फिर्ता गर्नु पनि परेको छैन । देशलाई एफएटीएफले नेपाललाई ग्रेलिष्टमा राखेको छ । सरकार सम्पत्ति शुद्धिकरणका लागि कुनै तयारी गर्दैन । तर कागजमा मिलाउने काम भने गरेको हुन सक्छ । यो सबै दृश्यहरुलाई हेर्दा अब भ्रष्टाचारीलाई कार्वाही गर्ने जिम्मा जनताको काँधमा आएको छ ।जनताले  भ्रष्टाचारीहरुलाई मान सम्मान होइन, सामाजिक बहिष्कार गर्ने, कार्यक्रममा अतिथि बन्न नदिने, पोष्टर टाँस्ने, जस्ता कैयौं सजाय गर्न सक्छन् । तर त्यो कुरा जनताको चेतनामा भर पर्छ । वर्गसंघर्षले नै सामाजिक परिवर्तनको फैसला गर्छ ।मुख्य कुरा भ्रष्टाचारीलाई सामाजिक कार्वाही गर्ने बेला आएको छ । किनकि हाम्रो न्याय प्रणाली, सुरक्षा संयन्त्र राजनीतिक पार्टीका अगाडि घुँडा टेकिसके । उनीहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिइदैन ।

अन्तमा, देशमा बढिरहेको भ्रष्टाचारको अख्तियार वा अन्य संघसंस्था वा पत्रकारहरुले मात्र विरोध गरेर वा केही व्यक्तिलाई जेल हालेर रोकिने वाला छैन । त्यसका लागि घरघरमा जागरण ल्याउनु आवश्यक छ । किनभने माथि उल्लेख गरिए जस्तो भ्रष्टाचारका भ्रुणहरु घरघरमा छन् । जबसम्म भविष्यका नाती पनातीसम्मका लागि सम्पत्ति थुपार्ने सामन्ती र पुँजीवादी प्रवृत्ति र यो दलाल व्यवस्था कायम रहन्छ, तवसम्म भ्रष्टाचार उन्मूलन हुन सक्दैन । समाजवादी व्यवस्थामा मात्र मानिसले सम्पत्ति थुपार्ने उद्देश्य परित्याग गर्छ । किनकि हरेक नागरिकको जिम्मा राज्यले लिएको हुन्छ । नागरिकलाई भ्रष्टाचार गरेर अतिरिक्त पुँजी जम्मा गर्न आवश्यकता नै पर्दैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित