काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादको विरोध गर्दै देशभर विरोध प्रदर्शन गरेको छ । उक्त पार्टीले कार्तिक २८ गतेदेखि आगामी पौष ११ गतेसम्मका लागि घोषणा गरेको संघर्षको कार्यक्रम अन्तर्गत कार्तिक २८ गते स्थानीयस्तरमा विरोध कार्यक्रम सम्पन्न गरेको हो । मंसिर १ गते देशव्यापी पर्चा वितरण गर्ने, मंसिर ७ गते महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, बुटवल, बागलुङ, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगन्ज, धनुषा, गाइघाट, धरान र विराटनगरमा जनसभा गर्ने, मंसिर महिनाभरि भ्रष्टाचारी र दलालहरुको भण्डाफोर गर्ने र पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने उक्त पार्टीले जनाएको छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्र, यथास्थितिवादको मुख्य पक्षपोषकहरु हुन् । यथास्थितिवादी प्रवृत्तिले विद्यमान प्रतिक्रियावादी संसदीय व्यवस्थाको रक्षामा जोड दिन्छ । उनीहरुको राष्ट्रघात, कुशासन, भ्रष्टाचारले गर्दा जनअसन्तोष तीव्र रुपमा बढेर गएको थियो । गत भाद्र २३ र २४ गते भड्किएको जेनजी विद्रोह त्यही जन असन्तोषको विस्फोट थियो । जनअसन्तोषलाई साम्राज्यवादी र प्रतिगामी शक्तिहरुले आफ्नो स्वार्थमा दुरुपयोग गर्ने काम गरे । प्रतिगामीहरुले जन असन्तोषलाई आफ्नो पक्षमा प्रयोग गर्ने र राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने कोशिस गरेका थिए । तर प्रतिगामीहरुलाई जनताको सहयोग नभएको, विदेशी शक्ति केन्द्रहरुको पनि सहयोग नभएको र अर्को कुरा स्वयं प्रतिगामीबीचमा पनि एकता हुन नसकेकाले उनीहरुले आफ्नो उद्देश्य पूरा गर्न सकेनन् । प्रतिगामीहरु आफ्नो उद्देश्य प्राप्तिको दिशामा अहिले पनि प्रयत्नरत छन् ।
संसदीय व्यवस्थाका पक्षधर पार्टीहरुको कुशासनले सिर्जना गरेको असन्तोषलाई साम्राज्यवादी र विस्तारवादी शक्ति राम्रैसँग आफ्नो पक्षमा उपयोग गर्न सफल भएका छन् । परिणामतः अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कठपुतली सरकार वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ । पुराना राजनीतिक दलहरु कांग्रेस, एमाले, मा.के. (अब नेपाली कम्युनिस्ट पार्टी) जेनजी आन्दोलनबाट थला परेका छन् र तंग्रिने कोशिश गर्दैछन् । जेनजी आन्दोलनले नयाँ भनिएको रास्वपा र बालेन साह लगायतको मुकुण्डो उघारिदिएको छ ।
साम्राज्यवादीहरुबाट नेपालको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढेर गएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादको विरोध गर्दै स्वाधीन संयुक्त सरकारको नारा अगाडि सारेको छ । देशको राजनीतिक संकटको निकासको बाटोको रुपमा स्वाधीन संयुक्त सरकारको गठनको दिशामा अगाडि बढ्नु पर्ने उक्त पार्टीको मान्यता रहेको छ । उपर्युक्त कार्यनीतिक नारालाई अगाडि सार्दै उक्त पार्टीले स्थानीयस्तरमा विरोधका कार्यक्रमहरु गरेको छ ।
काठमाडौं ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरले असन चोकमा शुक्रबार कोणसभा गरेको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको बताइएको छ । साम्राज्यवाद, विस्तारवाद, यथास्थिति र प्रतिगमनको विकल्प स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर विरोध स्वरुप कोणसभा आयोजना गरेको र यस महानगरमा पनि कोणसभा सम्पन्न गरेको पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका सचिव पेशल दाहालले बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका इन्चार्ज बन्धुदेव पाण्डेले उक्त विषयवस्तु राख्नुभएको थियोे । कार्यक्रमको सन्चालन पेशल दाहालले गर्नुभएको थियो भने कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो सचिव चिन्तामणी पौडेल सहभागी हुनुभएको थियोे ।
कास्की ः “साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !!”
भन्ने मूल नारामा क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालले स्थानीय तहमा देशब्यापी बिरोध प्रदर्शन गर्ने क्रममा गण्डकी प्रदेशको कास्की जिल्ला स्थित पोखराको लखन चोक (पृथ्वी चोक) मा कालो ब्यानर सहित कम्युनिष्ट पार्टीको झणडा सहित एक बिरोध प्रदर्शनका कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई पार्टीका ७ नम्बर क्षेत्रीय ब्युरोका सचिव नारायण अधिकारीको बिशेष सम्बोधन थियो भने कार्यक्रमको सञ्चालन कास्की जिल्ला सचिव बिक्रम थापामगरले गर्नु भएको थियो।कार्यक्रम दिनको ठिक १ः ०० बजे शुरु भइ २ः३० मा सम्पन्न भएको थियो । कार्यक्रमको आयोजना पोखरा महानगर कमिटीले गरेको थियो।
उदयपुर ः क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल उदयपुरले स्वाधीन संयुक्त सरकारको माग गर्दै सम्पन्न गरेको छ । “साम्राज्ययवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधिन संयुक्त सरकारको गठन गरौं ! !”भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कपिलवस्तु ःसाम्राज्यवाद , प्रतिगमन र यथास्थितिवादको विरोध गर्दै ,भ्रष्टाचारको भन्डाफोर गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने मुल नाराकासाथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तु जिल्ला समितिको आयोजनामा कोणसभा तथा प्रचा वितरण कार्यक्रम शुरु भएको छ । मंसिर ५ गतेसम्म चल्ने कार्यक्रमको शुरुवात बाँणगंगाको घेरुवा बनगाईमा भएको हो । घेरुवा बनगाईमा सम्पन्न कोणसभामा वक्ताहरुले सुशीला कार्की नेतृत्वको सरकारको निरन्तरता र निर्वाचन पश्चात् बन्ने सरकारले समेत जनताका समस्या समाधान गर्न नसक्नेहुँदा अबको अग्रगामी राजनीतिक निकास ‘ राष्ट्रिय स्वाधीन सरकार ’को विकल्प नभएको बताएका थिए । कार्यक्रममा पार्टीका युवा नेता दिपक पौडेल र पार्टी जिल्ला सचिव हिमलाल वाग्लेले बोलेका थिए ।
अर्घाखा“चीः २०८२ कार्तिक ३० गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा “साम्राज्यवाद ,प्रतिगमन र यथास्थितिको विरोध गरौं ! राष्ट्रियता, जनतन्त्र, जीविकाको रक्षा गरौं!! स्वाधीन संयुक्त सरकारको गठन गरौं!!” भन्ने मूल नाराका साथ पाणिनीको दुर्गा फाँट , छत्रदेवको चिहानडा र मालारानीको खनदहमा पालिका स्तरीय कोणसभाहरू,पर्चा वितरण, जन भेटघाट कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का पोलिट ब्युरो सदस्य कृष्ण केसी, नरेन्द्र थापा र केन्द्रीय सदस्य राजेन्द्र नेपालीले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जीआन्दोलनको स्पिरिटलाई हाइज्याक गरेर विदेशी साम्राज्यवादको इशारामा बनेको सुशीला कार्की सरकारलाई बर्खास्त गर्दै क्रान्तिकारी देशभक्तहरूको स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने बताउनुभएको थियो। कार्यक्रम तक्मान राउतको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता,कार्यकर्ताहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
कास्की ः क्रान्तिकारी स्वास्थ्यकर्मी संगठन, नेपालको प्रथम राष्ट्रिय भेला घनश्याम विजय ढकाल शहिद स्मृति भवन शहिद चोक पोखरामा आकाश गौतमको अध्यक्षता ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटब्युरो सदस्य दिनेश शर्माको प्रमुख आथित्यता र विक्रम थापाको संचालनमा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी केन्द्रीय समिति सल्लाहकार विशेष अतिथि रामजी थापा, अतिथिहरु ७ नम्बर ब्युरो सेक्रेटरी नारायण अधिकारी, क्रान्तिकारी संयुक्त मोर्चा केन्द्रीय सदस्य मान बहादुर थापा, केन्द्रीय सदस्यहरु शुसिला थापा, बाबुराम सुवेदी, विप्लव निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सचिव मणि न्यौपाने, मजदुर संगठनका केन्द्रीय सदस्य दिपक गुरुङ, सामना परिवारका केन्द्रीय सदस्य जनकलाकार काजीबाबु श्रेष्ठ अतिथिहरु रहनुभएको थियो ।
सल्यानः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर ब्युरो अन्तरगत सल्यानको श्रीनगरमा विरोध प्रदर्शन गरिएको छ । ब्युरो सेक्रेटरी समिरको नेतृत्वमा जिल्ला सेक्रेटरी उज्ज्ववलको संचालनमा भएको कार्यक्रमलाई पार्टीका केन्द्रिय सदस्य बारुदले सम्बोधन गर्नु भएको थियो र सल्यान जिल्ला पार्टीको बैठक र अखिल क्रान्तिकारी सल्यान जिल्ला समितिको बैठक पनि सम्पन्न भएको थियो ।
नवलपरासीः
साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं१ स्वाधीन संयुक्त सरकार गठन गरौं १ भन्ने नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले बर्दघाटमा भण्डाफोर स्वरुप कोण सभा गरेको छ । शुक्रवार बर्दघाटको हरियाली नगर साइड बसपार्कतर्फबाट बर्दघाट नगरपालिका चोक हुदै निकालिएको जुलुसले हाटबजारमा पुगेर कोण सभामा परिणत भएको थियो । भ्रष्टाचार विरुद्धको अभियान संचालन गरिरहेको उक्त पार्टीले जेनजी बिद्रोहलाई दिशाबिहीन बनाएर विदेशी शक्तिकेन्द्रको इशारामा कठपुतली सरकार बनाइएको भन्दै बिरोध प्रदर्शन गरेको हो । कालो ब्यानर सहित कम्युनिष्ट पार्टीको झण्डा र प्ले कार्ड सहित बिरोध कार्यक्रम गरिएको हो । स्वाधीन संयुक्त सरकार गठन गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, भष्ट्रचारीहरु होसियार, दलालहरु खबरदार जस्ता नारा लगाउदै क्राकपा नेपालका नेता कार्यकर्ताले नाराबाजी गरेका थिए । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जेनजीको माग भ्रष्टाचार बिरुद्व र सामाजिक सन्जाल बन्दको विपक्षमा रहेको र त्यो मागको पक्षमा आफुहरुले बिगत देखि आन्दोलन गर्दै आएको बताउदै अबको राजनीतिक निकास स्वाधीन संयुक्त सरकार मात्र रहेको औल्याउनुभयो ।
कोणसभामा क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासी संयोजक चुडामणि भण्डारीले स्वाधीन संयुक्त सरकारको लागि देशभक्त, जनवादी , क्रान्तिकारी र बामपंथीहरु एकजुट हुने समय आएको र त्यसबाट मात्र देश जोगाउन सकिन बताउनुभयो । कार्यक्रमलाई मंसिर ५ गते सम्म सात वटै पालिकाका बिभिन्न स्थानमा सम्पन्न गरेर बृहत जनसभाको तयारी गरिने पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयले बताउनुभयो । ।
गुल्मीः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मी जिल्ला समितिको आयोजनामा सत्यवतीको जोहाङ खैरेनी बजारमा कोण सभा गरिएको छ । पार्टीको केन्द्रीय योजना अनुसार भण्डाफोर कार्यक्रम गरिएको र अन्य पालिकामा समेत कार्यक्रम विस्तार गर्ने केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी टिका रानाले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले स्वाधीन संयुक्त सरकार आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका संचालन क्रान्तिकारी युवा संघ नेपालका नेता संगीन भ्यु थापाले भष्ट्राचारीलाई जनताले खेद्ने दिन आइसकेको बताउनुभयो ।
यसैबीच २६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मी जिल्ला समितिको पूूर्ण बैठक समेत सम्पन्न भएको पार्टीले जनाएको छ ।
सुर्खेत ः क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुर्खेतको आयोजनामा सुख्रेतको विरेन्द्रनगरस्थित मंगलगढी चोकमा विरोध कार्यक्रम सम्पन्न भएको छ । विरोध कार्यक्रमको सम्बोधन केन्द्रीय सदस्य किरणले गर्नु भएको थियो भने सुर्खेत जिल्ला सचिव रत्न ओलीले संचालन गर्नु भएको थियो ।कार्यक्रममा वक्ताहरुले देशमा कठपुतली सरकारको निर्माण भएकाले यस स्थितिमा यो सरकारले स्वतन्त्र ढंगले कार्य गर्न नसक्ने भन्दै स्वाधीन संयुक्त सरकार बन्नुपर्ने धारणा राख्नुभयो ।
बर्दियाः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाको गुलरिया नगर समितिको आयोजनामा प्रतिगमन र यथास्थितिको विरोधमा कोण सभा सम्पन्न भएको छ । पार्टीलेप्रतिगमन र यथास्थितिको विरोधमा कार्तिक २८ गते देश भरीका गाउँ तथा नगर क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो ।साथै भ्रष्टाचार ,वेथितिको विरोधलाई प्रभावकारी बनाउने सो पार्टीले जनाएको छ ।
साम्राज्यवाद , प्रतिगमन ,यथास्थितिको विरोध गरौ स्वाधिन सरकारको निर्माण गरौ ! भन्ने मूूल नाराका साथ देशभरि पार्टीले विरोधका कार्यक्रम निर्धारण गरेको थियो। सोही कार्यक्रम अन्तगत वर्दियाको गुलरियामा कार्यक्रम सम्पन्न भएको हो ।कोणसभालाई पार्टीका वैकल्पिक पि.बि.एम एवंम ३ नं ब्युरो सेक्रेटरी प्रकाशउर्जा ,केन्द्रीय सदस्य तथा वर्दिया जिल्ला ईन्चार्ज बिपिन क्षेत्री गर्नु भएको थियो।
कोणसभाको सन्चालन वैकल्पिक सिसिएम भुकुम्पले गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरुले जेनजी विद्रोह पछि नयाँ सरकार बने पनि जनताको आधारभूत समस्याको समाधान गर्न नसक्ने , कसैको इशारामा चलेको सरकार भन्दै यस्तो सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकारको निर्माण गर्नु पर्ने कुरा राख्नुभएको थियो ।
खोटाङः खोटाङको सदरमुकाम दिक्तेल बजारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा विरोध प्रदर्शन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सल्लाहकार देवीप्रसाद रिजालले प्रमुख वक्ताको रुपमा मन्तव्य राख्दै वर्तमान सुशीला कार्की नेतृत्वको सरकार नेपाली जनताको सरकार नभएर साम्राज्यवाद र विस्तारवादको एजेन्ट हो भन्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,खोटाङको जिल्ला सेक्रेटरी झमप्रसाद आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
ओखलढुंगा ः ःक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १४ नं ब्युरो अन्तर्गत ओखलढुङ्गा बजार रमाइलो डाँडामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको विरोध कार्यक्रम सम्पन्न भएका छ। पार्टीका वैकल्पिक के.स.एवं जिल्ला सेक्रेटरी निर्माण कार्कीको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । के. स. एवं जिल्ला इन्चार्ज आदर्शले मन्तव्य राख्नु भएको थियो । आदर्शले साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादको विरुद्ध आफ्नो पार्टी संघर्ष गरिरहेको स्पष्ट गर्दै देशको राजनीतिक संकटको निकासका लागि स्वाधीन संयुक्त सरकार आबश्यक रहेको बताउनुभयो । पार्टी के स एवं सोलुखोम्बु जिल्ला इन्चार्ज पर्वतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

