२०८२ पुष १६ गते
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य तथा ९ नं.व्युरो ईन्चार्ज दिनेश शर्माले जेलेन्स्की खडा गर्ने चुनाव बहिस्कार गर्नु पर्ने बताउनुभएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने बताउनुभयो ।
पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी दान्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको जनाए । “२०१५ सालदेखि अहिलेसम्म चुनाव भएर अरबौं राष्ट्रिय ढुकुटी सकेर खर्च गरेपनि आखिर उहि विदेशी कठपुतलित निर्वाचित भए, के अब यस किसिमको संसदीय चुनवाको औचित्य समाप्त भएन र ?” शर्माको प्रश्न थियो ।
पुराना राजनीतिक पार्टीसँग जनताले आशा नै मारिसकेको बताउँदै शर्माले भने,“नयाँको पनि गति र मति देख्दा पुरानभन्दा झन् खतरनाक ‘जेलेन्स्की’ तयार हुँदैछन्, यस्तो किसिमका विदेशी कठपुतली बनाउने चुनाब वहिस्कार नगरि के गर्ने” शर्माले थप्नुभयो ।
पार्टीका काठमाडौं जिल्ला सचिव केदार खतिवडाले यही व्यवस्थामा हुने निर्वाचनले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न नसक्ने भएकाले बहिस्कारको विकल्प नरहेको बताउनुभयो । आगामी संसदीय निर्वाचनले देशलाई अझ गहिरो संकट तर्फ धकेल्ने निश्चित भएको जनाउँदै खतिवडाले भन्नुभयो ,“सुशीला कार्कीले नेतृत्व गरेको कठपुतली सरकारले निर्वाचनमार्फत पुराना र नयाँ दलालहरुलाई सत्ताको ठेकेदार बनाउँदै साम्राज्यवादी हैकमलाई मजबुत पार्ने षड्यन्त्र भएकोले यो निर्वाचनलाई हाम्रो पार्टी सशक्त बहिस्कार गर्दछ ।”
पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले वर्तमान सत्ता जनपक्षीय नभई प्रतिक्रियावादी दलाल संसदीय व्यबस्था भएको आरोप लगाउनुभयो । “यो जनविरोधी व्यवस्था नफालिकन न त राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्छौं, न त भ्रष्टाचारको पुर्ण उन्मुलन सम्भव छ न त सुसाशनको सम्भावना” दाहालले भन्नुभयो ।



