अमेरिकी साम्राज्यवादको नांगो अनुहारः भेनेजुएलामाथि डोनाल्ड ट्रम्पको आक्रमण

 

नरेन्द्रबहादुर थापा

यही मिति २०२६ जनवरी ३, तदनुसार पुष १९, २०८२ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी कराकस लगायतका स्थानहरूमा लक्षित गरी भेनेजुएलामा हवाई हमला सहितको ठूलो सैन्य कारबाही र विशेष कारबाही सञ्चालन गरेको छ।जसमा राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेंसलाई अपहरण गरिएको छ । अमेरिका र भेनेजुएला बीचको यो तनाव नयाँ भने होइन, सन् १९९८ मा ह्युगो चाभेज राष्ट्रपति बनेदेखि सम्बन्ध बिग्रदै गएको थियो र २०१५ पछि अमेरिकी आर्थिक प्रतिबन्ध तीव्र बनेका थिए, जसले भेनेजुएलाको अर्थतन्त्र र तेल उद्योगलाई गम्भीर असर गरेको थियो ।
विश्व साम्राज्यवादको प्रमुख नाइके अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला माथि हालै गरेको नाङ्गो आक्रमण केवल एउटा देश माथिको हस्तक्षेप मात्र होइन, यो सम्पूर्ण स्वतन्त्रता, स्वाधिनता र जनअधिकारमाथिको खुला चुनौती हो ।“ लोकतन्त्र” र “मानव अधिकार”को खोक्रो नारा बोकेर विश्वभर युद्ध, प्रतिबन्ध र षड्यन्त्र फैलाउँदै आएको अमेरिकी साम्राज्यवादको वास्तविक अनुहार उसले गरेको भेनेजुएलामाथिको आक्रमणको सन्दर्भबाट पुनः एकपटक निर्लज्ज रुपमा प्रकट भएको छ ।

डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलामाथि लगाएको आर्थिक नाकाबन्दी, राजनीतिक अस्थिरता सिर्जना गर्ने षड्यन्त्र र सत्तापलटको खुला धम्की कुनै पनि अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको चार्टर वा राष्ट्रहरूको आत्मनिर्णयको अधिकारसँग मेल खाँदैन । यो सिधा–सिधा साम्राज्यवादी दादागिरी हो र बल प्रयोगमार्फत कमजोर राष्ट्रलाई घुँडा टेकाउने पुरानै औपनिवेशिक मानसिकताको निरन्तरता हो ।

भेनेजुएला निर्दोष छ किनकि भेनेजुएलाले कुनै अपराध गरेको छैन । अपराधी त त्यो साम्राज्यवादी शक्ति हो, जसले आफ्ना बहुराष्ट्रिय निगमहरूका नाफाका लागि तेल, खनिज र प्राकृतिक स्रोतहरूमा आँखा गाड्दै, सार्वभौम राष्ट्रहरूलाई अस्थिर बनाउँदै आएको छ । जब कुनै देशले आफ्नो स्रोतमा आफ्नो जनताको स्वामित्व स्थापित गर्न खोज्छ, तब अमेरिकी साम्राज्यवाद “तानाशाही“ “अलोकतान्त्रिक” जस्ता आरोपको खोल ओढाएर हस्तक्षेप गर्न उद्धत हुन्छ। भेनेजुएलाको बोलीभेरियन क्रान्ति यही कारणले नै अमेरिकी साम्राज्यवादको काँडा बनेको हो ।

डोनाल्ड ट्रम्प स्वयम् साम्राज्यवादको सबैभन्दा आक्रमक, उन्मत्त र अहंकारी प्रतिनिधि हुन् । उनको शासनकालमा अमेरिकी साम्राज्यवाद अझै नाङ्गो, अझै हिंस्रक र अझै निर्लज्ज बनेको छ । भेनेजुएला माथिको आक्रमणले यो स्पष्ट सन्देश दिएको छ कि अमेरिकी साम्राज्यवादलाई न लोकतन्त्रको चासो छ, न त मानव अधिकारको; उसलाई चासो छ त केवल आफ्नो वर्चस्व, नाफा र लुटतन्त्रको ।

आज भेनेजुएला माथि भइरहेको यो आक्रमण भोलि कुनै पनि स्वाधीन राष्ट्रमाथि दोहोरिन सक्छ। त्यसैले यो केवल भेनेजुएलाको सवाल होइन, यो सम्पूर्ण उत्पीडित राष्ट्र र जनताको साझा सवाल हो। विश्वका क्रान्तिकारी, प्रगतिशील, शान्ति प्रेमी र न्यायप्रेमी शक्तिहरू एकजुट भई अमेरिकी साम्राज्यवादको यस नाङ्गो आक्रमणको कडा भ्रत्सना गर्नुपर्दछ । हामी प्रष्ट शब्दमा घोषणा गर्छौं। भेनेजुएलाको सार्वभौम सत्तामाथि भएको कुनै पनि किसिमको हस्तक्षेप हामीलाई अस्वीकार्य छ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी साम्राज्यवादको आक्रमणकारी नीति तुरन्त बन्द हुनुपर्छ । भेनेजुएलाका जनतालाई आफ्नै बाटो रोज्ने अधिकार छ । आफ्नो भविष्य आफै निर्धारण गर्ने अधिकार छ ।इतिहास साक्षी छ – साम्राज्यवाद जति आक्रमक हुन्छ, प्रतिरोध त्यति नै सशक्त बन्छ। भेनेजुएला माथिको आक्रमण पनि अन्ततः अमेरिकी साम्राज्यवादकै पतनको अर्को प्रमाण बन्नेछ । जनताको एकता, अन्तर्राष्ट्रिय ऐकबद्धता र क्रान्तिकारी चेतनाले साम्राज्यवादको यो नाङ्गो दादागिरीलाई अवश्य पराजित गर्नेछ ।

अमेरिकी साम्राज्यवाद – मुर्दाबाद !
भेनेजुएलाको स्वाधीनता –जिन्दाबाद !
अन्तर्राष्ट्रिय एकता –जिन्दाबाद !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित