काठमाडौं । गत माघ २९ गते (फेब्रुअरी १२ मा) बंगलादेशमा सम्पन्न निर्वाचनबाट बंगलादेश नेश्नल पार्टी (वि.एन.पी.ले स्पष्ट बहुमत प्राप्त गरेको छ । २०२४ जुन–जुलाईको विद्यार्थी विद्रोहपछि यो निर्वाचन सम्पन्न भएको हो । बंगलादेशको राजनीतिक इतिहासमा वी.एन.पी. र अवामी लिग दुई पार्टीका बीचमा शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ । अवामीको नेतृ शेख हसिना प्रधानमन्त्री भएका बेला वी.एन.पी. माथि प्रतिबन्धको नीति र दमनको नीति अपनाएको थिइन् । गत २०२४ को विद्यार्थी विद्रोह पछि हसिना देश छाडेर भारतमा आश्रय लिएकी छिन् । यस पटकको चुनावमा अवामी लिग माथि प्रतिबन्ध लगाइएको छ । विश्लेषकहरुले बंगलादेशमा अमेरिकी साम्राज्यवादको प्रभाव बढेको र भारतीय पक्षधर हसिना निर्वासित हुनु परेको अर्थमा पनि लिने गरेका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मतदान भएका २ सय ९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २ सय १२ क्षेत्रमा बीएनपीको जीत सुनिश्चित भएको छ । जमात् ई इस्लामीले ६० सिटमा विजयी हासिल गरेको दाबी गरेको छ ।
२० वर्षपछि बीएनपीले सत्तामा फर्कने जनादेश पाएको हो । पछिल्लोपटक सन् २००१ देखि २००६ सम्म बिएनपीको सरकारलाई तत्कालीन पार्टी अध्यक्ष बेगम खालिदा जियाले नेतृत्व गरेकी थिइन् ।
अब बीएनपीका अध्यक्ष तरिक रहमान प्रधानमन्त्री हुनेछन् । ६० वर्षका रहमान संस्थापक तथा पूर्व राष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री खलिदा जियाका छोरा हुन् । विगत १८ वर्षदेखि लण्डनमा बस्दै आएका रहमान यसै चुनावको पूर्वसन्ध्यामा ढाका फर्किएका थिए । जमात्ले हार स्विकार्दै शशक्त प्रतिपक्षको भूमिका निर्वाचन गर्ने बताएको छ । ‘हामी सकारात्मक राजनीति गर्नेछौं,’ जमात्का प्रमुख साफिकर रहमानले भने ।
विद्यार्थी आन्दोनलबाट जन्मिएको नेशनल सिटिजन पार्टी (एनसिपी) ले उम्मेदवारी दिएका ३० सिटमध्ये केवल ५ सिट जितेको छ । स्थानीय मिडियाका अनुसार झन्डै ६० प्रतिशतभन्दा धेरैले यस निर्वाचनमा मत खसाले । जबकी सन् २०२४ मा शेख हसिना सरकारले गराएको निर्वाचनमा केवल ४२ प्रतिशत मत खसेको थियो । विद्यार्थी विद्रोहपछि युवाहरु पराजित भएर परम्परागत पार्टीहरु सत्तामा आए जस्तै स्थिति नेपालमा हुने हो वा बंगलादेशको भन्दा फरक परिणाम आउने हो भन्ने बारेमा नेपालमा अडकलबाजी चलिरहेको छ ।

