काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले इरानमाथि साम्राज्यवादी हमला विरुद्ध वक्तव्य निकालेर घोर विरोध जनाएको छ । २०८२ फागुन १८ गते पार्टीका संयोजक लोकनारायण सुवेदीले वक्तव्य जारी गर्दै विरोध जनाउनु भएको हो । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
इरानमाथि साम्राज्यवादी अमेरिकाको शासन सत्ताले जबर्जस्ती लादेको साम्राज्यवादी युद्धकासामु आत्मसमर्पण नगर्ने र विल्कुलै नझुक्ने तर आफ्नो राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको निम्ति अमूल्य जीवन अर्पण गर्न दृढताकासाथ तयार हुने ईरानका सर्बोच्च नेता आयातोल्ला खामेनेईको हत्या भएकोप्रति नेपाल कम्युनिष्ट पार्टी गहिरो दुःख प्रकट गर्दछ ईरानको यो अपूरणीय राष्ट्रिय क्षतिप्रति साम्राज्यबाद विरोधी ईरानी जनतामा हार्दिक समवेदना तथा सहानुभूति प्रकट गर्दछ । यस्ता कुनै पनि प्रकारका बाह्य हस्तक्षेप स्वीकार नगर्ने ईरानका साम्राज्यबाद विरोधी बहादुर जनताको यो दुःखको बेलामा उनीहरुप्रति हार्दिक ऐक्यबद्धता जाहेर गर्दछ । इराकी जनताले साम्राज्यबादद्वारा नाङ्गो आक्रमण र हस्तक्षेप गरेर उत्पन्न गरेको यो राष्ट्रिय शोकलाई शक्तिमा बदल्ने छन् र युद्ध पिपासु साम्राज्यबादी र त्यसको सहयोगी इज्रायली नरसंहारकारी जातीवादी नेतान्याहु गुटलाई प्रतिरोधी जवाफ दिदै निरन्तर संघर्षमा जुटिरहेकोमा उच्च सम्मानकासाथ नेपाल कम्युनिष्ट पार्टी उनीहरु साम्राज्यबाद विरोधी युद्धमा विजयी हुने बिश्वास प्रकट गर्दछ ।
कुनै पनि देशको शासन ब्यबस्था र राज्य ब्यबस्था बदल्ने या कायम राख्ने निर्बाध र नैसर्गिक अधिकार त्यही देशका जनताको अक्षुण्ण अधिकार हो । यो कुरा विश्वको साझा संस्था–संयुक्त राष्ट्र संघको बडापत्र, विश्व मान्य अन्तर्राष्ट्रिय साझा कानुन तथा विश्वभरीका देशहरुको सार्बभौमिता सम्बन्धि सिद्धान्तले खुलस्त पारेको छ र तदनुरुप परस्पर व्यवहार गर्न सबै सम्प्रभूतासम्पन्न राष्ट्रहरुलाई प्रष्ट दिशा निर्देश गरेको छ ।
तर विश्वमा जोर जबर्जस्तीकासाथ हैकम जमाउन निरन्तर उद्यत र विश्वका बहुमूल्य श्रोत साधनमाथि कब्जा जमाउन अतिक्रमण र हस्तक्षेप गर्न नथाक्ने विश्व साम्राज्यवादी अमेरिकाले माथि उल्लेख गरिएका साझा बडापत्र, कानुन र सार्वभौमिकताको सिद्धान्तलाई खुलमखुल्ला लत्याउने, धज्जी उडाउने र निर्लज्ज आक्रमण गर्ने र त्यसका लागि युद्ध थोपर्ने, आम हत्या गर्ने नृशंश र अमानबीय दुष्कार्य गर्ने गर्दछ । साम्राज्यवादका यस्ता अस्वीकार्य हर्कतका विरुद्ध विश्वका न्यायप्रेमी, शान्तिप्रेमी र स्वाधीनता चाहने सम्पूर्ण राष्ट्र समुदाय एकजुट भएर युद्ध, अशान्ति र अन्यायका बिरुद्ध खडा हुनु पर्ने आजको स«बैभन्दा टडकारो र ज्वलन्त अन्तराष्ट्रिय आवश्यकता बनेको पनि नेपाल कम्युनिष्ट पार्टी स्पष्टसँग औंल्याउन चाहन्छ ।
Comments

