काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेका इन्चार्ज सोमन सिंह तामाङलाई सुशीला सरकारको प्रहरीले पुनः गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको छ । फागुन १९ गते बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै अधिवक्ता एवं क्रा.क.पा.ने. का वैकल्पिक पि.बि.एम. सोमान सिंह तामाङको ६ दिनको हिरासतलाई गैरकानूनी घोषित गरेर सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश जारी गरेको थियो । सो आदेश सहितको पत्र बुझी भाइ उजुरमान तामाङलाई जिम्मा बुझेको कागजमा सही गर्न लगाई जिल्ला प्रहरी कार्यालयले छोड्नासाथ सोही प्रहरी कार्यालयको गेट बाहिरबाट फागुन १९ गते साँझ ६ ०० बजेको समयमा पुन: गरिफ्तार गरी ईलाका प्रहरी कार्यालय, बनेपामा ल्याई हिरासतमा राखिएको छ । किन नछोडेको भनेर सोध्दा माथिको आदेश छ भन्ने जवाफ प्रहरीले दिएको थाहा हुन आएको छ । अधिवक्ता एवं राजनीतिज्ञ सोमान सिंह तामाङलाई सर्वोच्च अदालतको आदेशको ठाडो उल्लंघन गरेर यसरी पंचायती शैलीमा पटक पटक गिरफ्तार गर्ने यो सुशिला कार्की सरकारको निरंकुश शैली हो भनेर विरोध भइरहेको छ । नेपाल बार एसोसिएसन काभ्रे प्राञ्चोकले गैरकानुनी ढंगले गिरफ्तार गरी तामाङलाई हिरासतमा राखेको भन्दै विज्ञप्ति जारी गरेको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १० नम्बर ब्युरो सचिव सोमान सिंह तामाङ काभ्रेपलान्चोकको बनेपाबाट यस भन्दा पहिले फागुन १३ गते गिरफ्तार हुनुभएको थियो ।

