पंचायती तानाशाहीे दमनको विरुद्ध चोटिलो प्रहार गरौं ! आठौं राष्ट्रिय सम्मेलन सफल पारौं ! !

 

अभिलेख

(अ.ने.रा.स्व.वि.यु. मुख्य इकाई समिति रामपुर क्याम्पस आठौं राष्ट्रिय सम्मेलन सफल पार्न प्रतिबद्ध छ र यस सन्दर्भमा यस समितिले प्रकाशनार्थ पठाएको आह्वानको संक्षिप्त पाठ यसप्रकार छ ः स.)

विगत केही समय अघिदेखि हाम्रो प्यारो संगठन अनेरास्ववियुले विभिन्न किसिमका बाधा अड्चनका विरुद्ध लड्नु परेको । यी विध्न बाधाहरु, संकटका घडीहरुसँग जुध्न हामी हाम्रो संगठनको आठौं रा.स. सम्पन्न गर्नुपर्ने ऐतिहासिक महत्वपूर्ण घडीमा दौडिरहेका छौं । यी विघ्नबाधाहरु मध्ये एकातिर हाम्रो संगठनभित्र बढेको निम्न पुँजीवादी चरित्रको चरम विकास र विश्वकै फाँटमा बढेको नव संशोधनवादी तुफान चल्नु र त्यस तुफानको असर हाम्रो संगठनलाई पर्नु हो भने अर्कातिर पंचायती तानाशाही दमनको पराकाष्टा नाघ्नु हो । यसका उदाहरण के.स.स. कृष्ण सेन, लगायत अन्य बन्दी विद्यार्थीहरु नछाड्नु, गिरफ्तारीको क्रम जारी राख्नु, सीमा क्षेत्रको भारतीय अतिक्रमण र विदेशी नागरिककको अनाधिकार प्रवेशमा आँखा चिम्लेर बस्नु, टंक भूसाल लगायत अन्य हत्याकाण्ड बढाउनु, सैनिक कानुन लगायत अन्य काला कानुन जबरजस्ती थोपर्नु आदि । यद्यपि यस्ता दमनका मारहरु हामी बेला बेलामा जुध्दै आउका थियौं र जुध्दैछौं । यो कुनै नौलो कुरो नभएतापनि यसको असर हाम्रो संगठनको कार्यक्रममा पर्ने असरहरुलाई पनि नकार्न सकिंदैन ।

नेपालको कुनाकाप्चामा पनि न्याय खोज्ने जनतालाई दबाइन्छ, सत्य बोल्ने जनताको मुखमा चुकुल ठोकिन्छ, भ्रष्टाचार, कालो बजार र तस्करलाई प्रोत्साहित गरिन्छ । यसका विरुद्धमा उठ्ने जनता जुडो कराँतेको अभ्यासस्थल र जेलनेल ठोकिन्छ । भर्खरको पिस्कर हत्याकाण्डको विभत्स रुपबाट निसाहय जनतालाई मृत्युका घडीमा पु¥याउने जस्ता अमानवीय कार्यले यस फासिष्ट तानाशाहको चरित्रलाई उदांगो पारिदिएको छ । निसहाय जनताहरुलाई नाँचगान गर्ने, रमाइलो अवसरमा यस किसिमको जघन्य अपराध गर्नु कुन न्यायप्रेमी जनतालाई चित्त बुझ्ने कुरो हो ? यसैगरी ने.वि.संघ नाम धारी मण्डलेहरुको बढ्दा प्रशासनिक साँठगाँठ, जनपक्षीय विद्यार्थीहरुले गर्न लागेको प्रत्येक क्रियाकलापमा बाधा पु¥याउने, धम्काउने र प्रशासनिक सहयोग लिई आतंकको सिर्जना गर्नु नै यिनीहरुको वास्तविक काम भइरहेको छ । यसबाट सदैव सावधान रहन हामी अपिल गर्दछौं ।

यी माथिका परिस्थितिहरुबाट जुध्दै अनेरास्ववियुको इतिहासमा गौरवमय पाना थप्न आठौं राष्ट्रिय सम्मेलनको गरिमामय ऐतिहासिक महत्वपूर्ण घडीमा आएका छौं । यस भन्दा पहिले यही फागुनमा आठौं चितवन जिल्ला सम्मेलन गर्न गइरहेका छौं । हाम्रो जुझारु एकताको परिचय दिंदै आठौं राष्ट्रिय सम्मेलन र आठौं चितवन जिल्ला सम्मेलन सफल पारौं ।
कुनै पनि देशमा मुक्ति आन्दोलनको लागि विद्यार्थीहरुको अग्रणी भूमिका आउँछ । अनेरास्ववियुको निर्दिष्ट लक्ष्य नै यही रहेको छ । यस लक्ष्य परिपूर्ति गर्ने खुटकिलाहरुमा आदरणीय जनताहरुबाट विभिन्न किसिमको सहयोगको लागि अनुरोध गर्दछ र सहयोगको लागि अभिवादन टक्रयाउँछ ।

(नोट ः चितवनस्थित अ.ने.रा.स्व.वि.यु रामपुर क्याम्पस मुख्य इकाई समितिको यो पर्चालाई हाँक साप्ताहिक, वर्ष १, अंक १९, २०४० फागुन २४, मा प्रकाशित गरिएको थियो ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित