जेठ ३ गते,मदन–आश्रित स्मृति दिवस

 

वि.सं. २०५० साल जेठ ३ गते चितवन दासढुंगामा नेता मदन कुमार भण्डारी र जीवराज आश्रितको निधन भएको दिन मदन–आश्रित स्मृति दिवस मनाइन्छ। नेकपा एमालेले हरेक वर्ष पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको  स्मृतिमा  देशभर विभिन्न कार्यक्रम आयोजना गर्दछ ।

कास्कीमा नेकपा (एमाले)को कार्यक्रममा मन्तव्य राखेर चितवन फर्कदै गर्दा दासढुंगामा जीप दुर्घटना भई गाडीमा सवार तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको मृत्यु भएको थियो। तर जीप चालक अमर लामा भने जीवितै रहेका थिए । मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनामा मृत्यु भएको नभएर सुनियोजित ढङ्गले उनको हत्या गरिएको थियो भन्ने मत राख्नेहरूको ठूलो पंक्ति छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकारले त्यस घटनालाई दुर्घटना नै भएको प्रतिवेदन प्रकाशित गरेको थियो भने नेकपा एमालेको तर्फबाट दासढुङ्गा घटनाको अध्ययन गर्न के. पी. शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको थियो। ओली आयोगले सुनियोजित हत्या भनेर प्रतिवेदन तयार गरेको थियो।अहिले सम्म मदन–आश्रितको हत्या कसले गरेको थियो भन्ने पुष्टि हुन सकेको छैन । कालान्तरमा जीप चालक अमर लामा नेपाली कांग्रेस पार्टीमा आबद्ध भएका थिए र जीप चालक लामालाई कीर्तिपुरमा अज्ञात व्यक्तिबाट हत्या गरिएको थियो। मदन भण्डारी र जीवराज आश्रित चढेको गाडी त्रिशुलीमा खसेर  मृत्युु हुनु तर चालक लामा जीवितै रहनु र कालान्तरमा लामाको पनि अज्ञात व्यक्तिबाट रहस्यमय ढंगले हत्या हुनुले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु सामान्य दुर्घटना नभएर त्यो सुनियोजित षड्यन्त्र हो भनेर शंका गर्ने प्रशस्त ठाउँ रहेको छ।

नेपालमा टनकपुर सन्धि भइसकेपछि टनकपुर सन्धिको विरुद्धमा नेपालका वामपन्थी राजनीतिक दलहरूले देशव्यापी रुपमा चरणबद्ध आन्दोलनहरु गर्दै आएका थिए। त्यस सन्दर्भमा स्वयं मदन भण्डारी पनि आन्दोलनमा सक्रियतापूर्वक देश दौडाहामा थिए । राष्ट्रवादी चिन्तनलाई प्रचारप्रसार गर्ने काममा लागेको र टनकपुर सन्धि राष्ट्रघाती हो भनेर अडान लिएका कारणले गर्दा खास शक्ति केन्द्रबाट उनको हत्या भएको हो भनेर विश्वास गर्नेहरूको सङ्ख्या पनि नेपालमा ठूलै छ।

२०४७ पौस २२ गते नेकपा माले र नेकपा मार्क्सवादीको बीचमा पार्टी एकता भई नेकपा (एमाले) गठन भएको थियो। नवगठित पार्टी नेकपा एमालेका अध्यक्ष मार्क्सवादीका तर्फबाट मनमोहन अधिकारी र पार्टीको महासचिव मालेका तर्फबाट मदन भण्डारी रहेका थिए। नेकपा एमालेको २०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनबाट मदन भण्डारीले प्रस्तुत गरेको बहुदलीय जनवादको कार्यक्रमलाई पारित गरेको थियो। मदन भण्डारीको मृत्युपछि एमालेले जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रुपमा ग्रहण गर्दै आएको छ। नेकपा एमालेले हरेक वर्ष जेष्ठ ३ गते मदन – आश्रित स्मृति दिवस मनाउने गर्दछ ।

नेकपा एमालेले मदन भण्डारीद्वारा प्रस्तुत र उसको पाँचौं महाधिवेशनबाट पारित बहुदलीय जनवादलाई नवीन सिद्धान्तको रूपमा व्याख्या गर्दै आइरहेको छ। तर बामपन्थी आन्दोलनभित्रकै अन्य विभिन्न राजनीतिक दलहरुले मदन भण्डारीको बहुदलीय जनवाद कुनै मार्क्सवादी सिद्धान्तमा आधारित नभएर कम्युनिस्ट आन्दोलनभित्रका वर्णस्टिन, काउचकी र ख्रुस्चेभ जस्ता दक्षिणपन्थी धाराको सिद्धान्तलाई निरन्तरता दिने व्यक्तिको रुपमा र उनको विचारलाई दक्षिणपन्थी विचारको रुपमा बुझ्ने कम्युनिस्टहरूको सङ्ख्या पनि नेपालमा ठूलै छ। कतिपयले मदन भण्डारीको बहुदलीय जनवादलाई युरो कम्युनिज्म र फेबियनवादी सिद्धान्तको नेपाली नक्कल पनि भन्ने गरेका छन् ।

नेकपा एमालेले मदन भण्डारीको मृत्युपछि भण्डारीको मृत्युलाई व्यापक प्रचारप्रसार गरेर , जनताबाट सहानुभूति प्राप्त गरी संगठनलाई विस्तार गर्ने काममा लागेको थियो ।  खासगरी माधव नेपाल, केपी ओली , ईश्वर पोखरेल वामदेव गौतम लगायतका नेताहरुले बहुदलीय जनवादलाई स्थापित गर्न बिशेष भूमिका खेले । पछिल्लो अवधिमा नेकपा एमालेबाट  विभाजन भएर  माधव नेपाल लगायतका नेताहरु  प्रचण्डसँग पार्टी एकता गर्न पुगे ।  मदन भण्डारीले प्रस्तुत गरेको बहुदलीय जनवादमा जे जस्ता राष्ट्रवादी र सीमितै अर्थमा भएपनि वर्गीय दृष्टिकोण थियो त्यो वर्गीय दृष्टिकोण समेत अहिले नेकपा एमालेमा नरहेको र जनताको बहुदलीय जनवाद भन्दा पनि धेरै दक्षिणपन्थको दिशामा एमाले पुगिसकेको भन्ने आलोचना पनि एमालेलाई हुने गर्दछ।

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित