प्रधानमन्त्रीले राष्ट्रघातका लागि बहानाबाजी गर्दैछन्

– झमप्रसाद आचार्य
जिल्ला सचिव
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, खोटाङ जिल्ला संगठन समिति
० अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
–साम्राज्यवादका एजेण्टहरुले शासन गरिरहेका छन् । पहिलो कुरा सरकारबाट योजना र बजेट नआउने तर आइहालेमा आ–आफ्ना पार्टीका मान्छेहरुलाई उपभोक्ता समितिमा राखेर काम गराउने गरिन्छ । काम गरे जस्तो गरी उपभोक्ता समिति सदस्य, नेता, कर्मचारी मिलेर राज्यको सम्पत्ति दोहन गर्ने । यही खेल चल्दै आएको थियो र अहिले पनि त्यही चल्दै आइरहेको छ ।
० जेनजी आन्दोलन पछिको सरकारले यस्ता भ्रष्टाचार, कमिशन रोक्छ भन्छन् त ?
–हुँदैन । हिजोको तरिकाले काम भइरहेको छ । यो जेनजी विद्रोह पछि भएको फागुन २१ को चुनावबाट गठन भएको सरकारले पनि केही गर्नेवाला छैन ।
० सरकारको नीति कार्यक्रम र आ.व. ०८३÷०८४ बजेट पनि सरकारले ल्याइसकेको छ । के बुझ्नु भयो ?
–किसानै किसानहरुको देश हो नेपाल । यो बजेटले किसानको समस्यालाई सम्बोधन गरेको छैन । मजदुरको समस्यालाई ध्यान दिएको छैन । कर्मचारीको तलव बढायो । विदेशी ऋण नेपाली जनताको टाउकोमा थोपर्ने काम गरिएको छ । महंगी बढेको बढैछ ।
० बालेन सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ला ?
–हुकुम्बासीहरुले सुकुम्वासी बस्तीको नाममा बनाइएका छाप्रो र भवनबाट भाडा उठाएर खाँदा रहेछन् । यस्ता विकृति रोकिनु पर्दछ तर हुकुम्बासीहरुलाई ठेगान लाउँछु भन्ने नाममा बालेन सरकारले गरिब, दुःखी सुकुम्बासीहरुलाई वर्षा लाग्ने बेलामा रुवावासी नै गरायो । यो सरकार धनाढ्यहरुको हो । साम्राज्यवादीले चलाएको सरकार हो । यसले समस्या समाधान गर्दैन ।
० प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गत जेष्ठ १७ गते “नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ । त्यो कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ ।” भनेर बोले । यसबारेमा तपाईको प्रतिक्रिया के छ ?
–उनले प्रधानमन्त्री भएपछि बाहना गर्न थालेका छन् । उनी काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेका थिए । त्यस्तो नक्सा कार्य कक्षमा टाँस्न सक्ने मान्छेलाई नेपालको सीमा विवादबारे थाहा छैन भन्ने कुरा पत्याउन सकिन्न । प्रधानमन्त्री भइसकेपछि भारत र चीनलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे “कुटनीतिक नोट” पठायौं भनेका हुन् । सीमा समस्या थाहा नभएको व्यक्तिले कसरी कुटनीतिक नोट पठाए । उनी राष्ट्रघातका लागि बहानाबाजी गर्र्दैछन् ।
० संविधान संशोधनको हल्ला पनि चलाइएको छ नि ?
–मेरो विचारमा राजा फर्काउनका लागि प्रयास गर्दैछन् । संविधान संशोधनको नाटक गरेर जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिलाई खोस्ने प्रयास हुँदैछ । खबरदार त्यसो नगरियोस् । हामी आम न्यायप्रेमी जनतालाई पार्टीको तर्फबाट प्रतिगामी हर्कतका विरुद्धमा सतर्क रहन आह्वान गर्दछौं । समाज र परिवर्तनको गतिलाई अगाडि बढाउन प्रयास गर्नुपर्छ, पछाडि धकेल्ने कसैले कोशिस गर्छ भने जनता एक ढिक्का भएर प्रतिवाद गर्नुपर्छ ।
० गत फागुन २१ गतेको संसदीय निर्वाचन बहिष्कारको कार्यक्रम खोटाङ जिल्लामा गर्नुभयो ?
–ग¥यौं । जिल्लाका विभिन्न ठाउँमा पर्चा वितरण ग¥यौं । जिल्लाको दक्षिणी भेग इन्द्रेणी पोखरीमा, दिक्तेल सदरमुकामको अस्पताल सदरमुकाममै बानियाँचोकमा बहिष्कारको कालो व्यानर टाँस्यौं । सेनाले अर्कोदिन उठाएर लग्यो । हाम्रो खोटाङ जिल्लामा निर्वाचन बहिष्कार कार्यक्रम मूलतः प्रचारात्मक नै रह्यो ।
० खोटाङमा जेनजी विद्रोहको अवस्था कस्तो रह्यो ?
–यहाँ सामान्य नै रह्यो । भाद्र २४ गते जुलुश गरे ।
० यहाँबाट (खोटाङबाट) “माटो” चुनाव चिन्हले फागुन २१ गते चुनाव जित्यो । कसरी?
–पहिलो कुरा कांग्रेस, एमाले, माओवादी प्रति जनताको वितृष्णालाई अरु ठाउँमा घण्टीले समाउन सके जस्तै यहाँ खोटाङमा “माटो” ले त्यो माहोल आफ्नो पक्षमा बनाउन सफल भयो । दोस्रो, श्रम संस्कृति पार्टीको अध्यक्ष र महासचिवको जन्मस्थल खोटाङ नै भएकाले कतिपय स्थान विशेष र कतिपय जातीय सेन्टिमेन्टलाई पनि पक्रन सफल भए ।
० तपाई कसरी राजनीतिमा आउनु भयो ?
–हामीले पंचायतकालमा सामन्तहरुले शोषण गरेको प्रत्यक्ष देख्यौं । खोटाङको दिक्तेल पहिले राईहरुको किपट रहेछ । हामी आचार्यहरुको पूर्खा विरन्ची आचार्य पश्चिम लमजुङबाट यस ठाउँमा आउनु भएछ ।
राईहरुले किपट भूमिलाई विरन्ची आचार्यलाई विर्ता दिएछन् । दिक्तेलको कालिका भगवतीको पुजारी आचार्य भए। राईहरुले संरक्षण गर्ने आचार्यले पुजा गर्नेचलन चल्दै आयो । राईहरु जिम्मेवाल थिए । उनीहरुको बेठी सघाउनु पर्ने, उनीहरुलाई दहीका ठेकी घ्यूका हर्पे, दशैमा खसीको दाहिने साप्रा बुझाउनु पर्ने–यी सबै दृश्य देखेपछि यो शोषण हो भन्ने बुझियो । शोषणको विरोध गर्नुपर्छ भन्ने मानसिकता बन्यो । त्यस मानसिकताले राजनीति तर्फ आकर्षित भइयो । २०३८ सालबाट ७÷८ कक्षाबाटै अनेरास्ववियु (पाँचौं) मा काम गरियो । २०४६ मा बहुदलका लागि आन्दोलनमा सहभागी भइयो ।
२०५४ सालमा भएको स्थानीय निर्वाचनमा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल गाविस वडा नं. ३ को निर्वाचित वडा अध्यक्ष भइयो । यता वडा अध्यक्षका रुपमा जनताको सेवा गरे पनि २०५५ सालदेखि नै माओवादीलाई सहयोग गरियो । माओवादीको कमिटीमा बसियो । माओवादी खला भएपछि खुलेरै लागियो । ०६९ मा पार्टी विभाजन भएपछि बैद्यजीले नेतृत्व गरेको पार्टीमा आबद्ध भइयो ।
२०७४ मा देजमोको तर्फबाट दिक्तेल न.पा.को मेयर उम्मेदवार उठेको थिएँ । अहिलेसम्म यही पार्टी मै क्रियाशील छु ।
० राजनीतिक आन्दोलनमा लाग्दाका स्मरणीय घटना ?
–दिक्तेल वडा नं. ३ को पुच्छारमा रहेको पहिरे रानीवनलाई जिम्मेवालले रसीद काटे, वडा अध्यक्षले भागवण्डामा सदर गरे । अमिन र एउटा युवा ४ जना मिलेर सार्वजनिक वनलाई निजीमा दर्ता गरे ।
हामीले मुद्दा लेख्ने वकील समेत पाइएन । बल्ल तल्ल पूर्ण ब. राईले मुद्दा लेखिदिए । विरोधीहरुको दबदबा भएकाले मुद्दा दर्ता गर्न नसकेर हुलाक मार्फत् जिल्ला वन कार्यालयमा मुद्दा दर्ता गरियो । २०४५ सालको कुरा थियो । मुद्दा जितियो । त्यो अहिले सामुदायिक वन छ । हामीले नै त्यस वनको नेतृत्व गरिरहेका छौं ।
०५४ सालको चुनावमा नेकाका गुण्डाहरुले गाउँमाघर घरै आएर कुटपिट गरे । कांग्रेसहरुले हाम्रा झण्डा फालेर आप्mना झण्डा राखे । जतिसुकै गुण्डागर्दी गरेपनि हामीले चुनाव जित्यौं ।
० खोटाङ जिल्लामा के कस्ता समस्याहरु छन् ?
–जिल्लामा तमाम समस्याहरु छन् । जिल्लाभरी नै बाँदर आतंकले किसानहरु पीडित छन् । अस्पतालमा जाँदा निःशुल्क पाइन्छ भनिएको औषधिहरु पाइँदैन । ठेकेदारहरुले सडक निर्माणको कार्य ढिलो ढाला गरेर काम अवरुद्ध छन् ।
०जेष्ठ २६ गते सुदन गुरुङलाई गृहमन्त्रीमा पुनः नियुक्ति गरिएको घटनालाई कसरी हेर्नु भएको छ ?
– दुई नम्बरी धन्दा गर्ने गिरोहलाई संचालन गर्न त्यस्तै कार्यमा अभ्यस्त व्यक्ति आवश्यक भएकाले सुदनलाई पद बहाली गरिएको होला ।
० क्रान्तिकारी धारको कम्युनिस्ट आन्दोलन अगाडि बढाउन के गर्नुपर्छ ?
–जनतामा कुरा राख्नु प¥यो । संगठन गर्नु प¥यो । क्रान्तिकारीहरुलाई धु्रवीकरण गर्नु प¥यो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित