काठमाडौं । पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि बंगलादेशी अलराउन्डर सकिब अल हसनलाई अनुबन्ध गरेको छ । विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर मानिने सकिबको आगमनले खेल प्रेमी नेपालीहरु खुसी भएका छन् ।
पोखराले सकिबलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । गत साता पोखराले मुख्य प्रशिक्षकका रूपमा श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे मेन्डिस नियुक्त गरेको थियो । सकिबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी–२० लिगमा एकनाशको प्रदर्शन गर्दै आइरहेका छन् । उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखराले तेस्रो सिजनको एनपिएलमा बलियो टोलीका रूपमा उपस्थिति जनाउने अड्कल गरिएको छ । ।
सकिबले भारतको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्समा लामो समय बिताएका थिए । उनले सन् २०२४ यता राष्ट्रिय टोलीबाट खेलेका छैनन् । बंगलादेशमा नयाँ सरकार आएसँगै उनी पछिल्लो समयमा अमेरिकामा बस्दै आएका छन् । उनले बंगलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय र १२९ टी–२० खेल खेलेका छन् ।

