बाँके । देशमा शान्ति सद्भाव र सामाजिक एकता कायम राख्न बाँकेका राजनीतिक दलहरुले अपील गरेका छन् । बाँकेमा क्रियाशील राजीतिक दलहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष प्रेम थापा , नेकपा एमाले अध्यक्ष दीपक जिएम , नेपाली कम्युनिष्ट पार्टीका संयोजक राजन रानामगर , नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेल, रास्वपाका सभापति विवेक कुमार श्रेष्ठ , श्रमसंस्कृति पार्टीका कावा अध्यक्ष राजन रानामगर , रुद्रमढिा न्यौपाने सचिव ,राप्रपा सूर्ययादव जसपा सचिव , उपाध्यक्ष राजमो जगदीश ढकाल र प्रलोपा अध्यक्ष दीपक शर्माले संयुक्त रुपमा प्रेस वक्तव्य प्रकाशित गर्दै सो अपील गरेका हु्न् । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ ।–“
नेपालको विविधता हाम्रो साझा शक्ति हो । विभिन्न धर्म, संस्कृति, भाषा र समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सद्भाव नै हाम्रो समाजको पहिचान तथा लोकतान्त्रिक व्यवस्थाको आधार हो ।
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते राति भएको दुःखद् घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । त्यसक्रममा गोली लागेर ज्यान गुमाएका दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
उक्त घटनापछि देखिएका प्रदर्शन तथा तनावपूर्ण अवस्थाका साथै बिहीबार सिराहा जिल्लामा भएको झडप र त्यसबाट भएको जनधनको क्षतिप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।त्यसक्रममा ज्यान गुमाएका युवा गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
यस्ता घटनाले समाजमा अविश्वास, त्रास र विभाजन बढाउने भएकाले सबै पक्षबाट संयमता अपनाउनु आजको आवश्यकता हो । हामी सम्पूर्ण नागरिक, सामाजिक तथा धार्मिक अगुवा, युवा वर्ग, राजनीतिक दलका कार्यकर्ता तथा सरोकारवाला सबैलाई कुनै पनि अफवाह, भ्रामक सूचना वा उत्तेजनात्मक अभिव्यक्तिको पछि नलाग्न हार्दिक आग्रह गर्दछौं । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट तथ्यहीन सामग्री प्रसारण वा साझा गर्दा त्यसले सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्ने भएकाले सबैलाई जिम्मेवार बन्न अनुरोध गर्दछौं ।
साथै, नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय र आवश्यक राहतको व्यवस्था गर्न जोडदार माग गर्दछौं । बाँके जिल्ला धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा परिचित छ । यहाँका सम्पूर्ण समुदायबीच कायम रहेको भाइचारा, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै कुनै पनि प्रकारका विभाजनकारी गतिविधिलाई असफल पार्न सबैमा हामी हार्दिक आह्वान गर्दछौं ।आउनुहोस्, शान्ति, सहिष्णुता, कानुनी शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिऔँ । सबै नेपालीबीचको पारस्परिक सम्मान, सद्भाव र भाइचारालाई अझ मजबुत बनाउँदै समुन्नत र सभ्य समाज निर्माणमा योगदान पुर्याऔँ ।शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम गरौं ।




