प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल प्रकृति, मानवता, सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहअस्तित्व, न्याय र दिगो शान्तिको पक्षमा

काठमाडौं । प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालले  प्रकृति, मानवता, सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहअस्तित्व, न्याय र दिगो शान्तिको पक्षमा रहेको स्पष्ट गरेको छ ।  प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालका अध्यक्ष   बिन्दु राज सापकोटाले २०८३ श्रावण १९ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताउनुभएको हो । बिन्दु राज सापकोटाद्वारा जारी वक्तव्य यस प्रकार छ –
“शान्ति, सद्भाव, सामाजिक न्याय र दिगो सहअस्तित्व कायम राख्नका लागि हार्दिक अपिल !
प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको हालै सुनसरी जिल्ला लगायत देशका विभिन्न स्थानमा घटिरहेका हिंसात्मक तथा सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पार्ने घटना प्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय, धार्मिक तथा सांस्कृतिक सहिष्णुता र राष्ट्रिय एकताको भावना प्रत्येक नेपालीको साझा सम्पत्ति हो । यस्ता मूल्य–मान्यतालाई कमजोर बनाउने कुनै पनि प्रकारका हत्या, हिंसा, उत्तेजना, घृणा, असहिष्णुता तथा सामाजिक विभाजन निम्त्याउने गतिविधि राष्ट्रहित, सामाजिक सद्भाव तथा लोकतान्त्रिक संस्कृतिका लागि चिन्ताको विषय हुन् । बारम्बार यस्ता घटनाहरु नेपाल लगायत विश्वका अन्य मुलुकहरुमा समेत घटिरहनु मौजुदा विश्व कर्पोरेट व्यवस्थाको असफलता नै हो । यस्को दीर्घकालिन समाधान प्रकृति–मानव हितैषी कार्यक्रमको आधारमा विश्व कर्पोरेट व्यवस्थाको पुनर्गठनमा निहित छ ।
वर्तमान अवस्थामा यस अभियानको स्पष्ट धारणा छ कि कुनै पनि असहमति, विवाद वा सामाजिक संवेदनशीलतासँग सम्बन्धित विषयहरूको समाधान हिंसा, प्रतिशोध वा उत्तेजनाबाट होइन; शान्तिपूर्ण संवाद, संवैधानिक प्रक्रिया, कानुनी शासन तथा आपसी विश्वासका आधारमा खोजिनु पर्दछ । यही नै सभ्य, जिम्मेवार र लोकतान्त्रिक समाजको परिचायक हो । यस सन्दर्भमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सांस्कृतिक अगुवा, युवा समुदाय, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्पूर्ण नागरिकलाई अपुष्ट सूचना, भ्रामक प्रचार, घृणा फैलाउने अभिव्यक्ति तथा सामाजिक वैमनस्य बढाउने कुनै पनि गतिविधिबाट टाढा रहि अत्यन्त संयमित, जिम्मेवार र विवेकपूर्ण भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं । साथै, नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूलाई शान्ति–सुरक्षा कायम राख्न, नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी कानुन उल्लङ्घन गर्ने जो–कोहीलाई कानुन बमोजिम कारबाही गर्न तथा पीडित पक्षलाई न्याय र आवश्यक संरक्षण उपलब्ध गराउन आग्रह गर्दछौं । कानुनको निष्पक्ष कार्यान्वयनबाट मात्र नागरिकको विश्वास सुदृढ हुने हाम्रो विश्वास रहेको छ ।
प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल प्रकृति, मानवता, सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहअस्तित्व, न्याय र दिगो शान्तिको पक्षमा सदैव दृढ प्रतिबद्ध रहेको पुनः स्पष्ट गर्दछ । वर्तमान परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्यता, सहिष्णुता, विवेक र पारस्परिक सम्मानका साथ जाती,  धर्म, लिङ्ग, क्षेत्र, बर्ग र पार्टी भन्दा माथी उठेर मानवीय भाबनाका साथ सामाजिक सद्भाव कायम राख्दै समुन्नत, समावेशी, शान्तिपूर्ण र प्रकृति–मानव हितैषी नेपालको निर्माणमा एकताबद्ध हुन हार्दिक आह्वान गर्दछौं । ”
“राष्ट्रको शक्ति विविधतामा, समाजको शक्ति सद्भावमा र भविष्यको आधार शान्ति, न्याय तथा सहअस्तित्वमा निहित छ ।”
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित