शताब्दी सलाम जन्म शताब्दीमा क. फिडेल क्याष्ट्रोलाई !

लोक नारायण सुवेदी

साम्राज्यवादका अविछिन्न विरोधी कि मृत्यु कि समाजवाद भन्ने एक मात्र विकल्प शोषित पीडित जनता र राष्ट्रका अगाडि छ भन्थे क्याष्ट्रो । क्यूवाली क्रान्तिका महानायक २०औं शताब्दीका एक उच्चकोटीका आदर्श नेता फिडेल क्याष्ट्रोले आफ्नो ५५ वर्षको राजनीतिक जीवन यात्रामा असाधारण क्रान्तिकारी संघर्षको प्रतिमान कायम गर्दै र अनेक उतार चढाव व्यहोर्दै सफलतकासाथ समस्याहरुको सामना र समाधान गरे । यस क्रममा उनले केवल क्यूवाको सत्ता–संरचनाको स्वरुप मात्र बदलेका होइनन् आफ्नो देशमा अभाव र गरीबसँग जुधिरहेका क्यूबाली जनताका समस्यालाई अत्यन्तै गम्भीरतापूर्वक लिदै जन पक्षीय मूल्य मान्यतामा सदा सर्बदा आफुलाई अडिग तुल्याएर राखे । जनता, देश र क्रान्तिप्रतिको उनको यो अखण्ड निष्ठा र साहसिलो आस्था तथा समर्पणले गर्दा नै उनलाई विश्वका केही छानिएका नेताको पंक्तिमा ल्याएर खडा गरेको पनि हो र अद्यापि गरिरहेको छ ।

वास्तवमा फिडेल क्याष्ट्रोले गहिरो खोज अनुसन्धान र व्यवहारिक अनुभवको आधारमा के कुराको स्थापान र सर्ब स्वीकार्यता विश्वका सबै विकासशील देशहरुमा ल्याउन सके भने जबसम्म विपन्न र सम्पन्न, गरीब र धनी देश आपसमा ब्यापार गर्दछन् त्यो कुनै व्यापार नभए सम्पन्न देशद्वारा विपन्न देशको लुट मात्र हुन्छ । यो क्याष्ट्रोको अनुसन्धानको अत्यन्तै महत्वपूर्ण र व्यवहारिक निष्कर्श आज पनि बिश्व ब्यापार संरचनामा सर्बत्र चरितार्थ र प्रमाणित भइरहेको हामी सुन्न, देख्न र अनुभव गर्न सक्तछौं ।

वास्तवमा ’फिडेल’ को शाब्दिक अर्थ नै ’आस्थावान’ हुन्छ । नाम अनुसार नै देश र जनताप्रतिको क्याष्ट्रोको जीवन मूल्य–मान्यता र निष्ठामा अविचलित र अटल रहन सक्यो । वास्तमा उनी एक मात्र यस्ता एक दीर्घकालीक जनप्रेमी शासक रहेका थिए जसले मूल्यप्रतिको आस्थामा कुनै कमी र कमजोरी आउन दिएनन् । हुन पनि फिडेल क्याष्ट्रोको यही जन परम्पराले गर्दा उनलाई बिश्व समुदायका अगाडि बडो स्वाभीमानकासाथ शीर उच्च पारेर अबिचल सही बाटोमा यात्रा गर्ने र अन्तिम बेलामा पनि त्यसरी नै बिदा हुने शुभ अवसर पनि मिल्यो । यही उनको मूल्य–मान्यताप्रतिको प्रगाढ इमानदारीकै करण क्यूवामा उनका विरोधीहरुले समेत उनलाई आज गर्बकासाथ सम्झना गर्न थालेको देखिन्छ ।
विश्व शीत युद्धको क्रमबाट गुज्रिरहेको बेलामा र खासगरी सोभियत संघको विघटन पछि जस्तो प्रकारले क्यूबा विश्वमा एक्लिएको अवस्था थियो, त्यसले क्यूबाली समाजको एउटा निकै तप्का निकै ठूलो अप्रसन्नता र निराशाको शिकार पनि बन्यो तर फिडेल क्याष्ट्रो कै जीवन्तता र धैर्यशील दूरदृष्टि नै थियो जसल गर्दा जनतामा उत्पन्न त्यो निराशा र अप्रसन्नताको नराम्रो अवस्थालाई चिर्न र क्यूबालाई सही बाटोमा फेरि पनि डो¥याउन सम्भव तुल्यायो र निकै हदसम्म सफलता पनि प्राप्त भयो । क्याष्ट्रोकै सफल नेतृत्व र प्रयत्नका कारण आज क्यूबाको स्वास्थ्य सेवा पूरै विश्वमा सबैभन्दा राम्रो मानिन्छ । यसका अतिरिक्त त्यहाँको एक एक नागरिकलाई शिक्षित र दीक्षित र क्षमतावान तुल्याउने शिक्षाको मूल्य पद्धतिका लागि पनि क्यूबाले अपूर्व प्रगति गरेको देख्न सकिन्छ । यसरी स्वास्थ्य र शिक्षामा क्यूबाले विश्वमै एउटा महत्वपूर्ण र अनुकरणीय अग्रता हासिल गरेर ठूलो उदाहरण कायम गरेको छ । यति हुँदा हुदै पनि अझै अत्याधुनिक सूचना प्रविधिको क्षेत्रमा यसले पर्याप्त पहुँच बढाउन सकिरहेको छैन । त्यसले गर्दा त्यहाँ इण्टरनेट निक्कै महँगो रहेको छ । यद्यपि फेसबुक र गुगलको पहुच भने त्यहाँ पनि बिस्तार भएको र अझ बढी सहज बन्दै गएको छ । बिगत ६० बर्षभन्दा बढीदेखिको अमेरिकी नाकबन्दी र कोभिडले अर्थतन्त्रमा खाशगरी क्यूबाको मूख्य अर्थतन्त्रको जीबन्त क्षेत्र पर्यटन क्षेत्रमा ठूलो नकारात्मक स्थिति देखा परेको छ । तर पनि क्यूबाले त्यहाँका जनताको एकताबघ्द संघर्षको मूलबाटो नछोडिकन समस्या समाधान गरेर छाड्न सक्ने बिश्वास लिन सकिन्छ ।

किनकि विगतका यी सफलताका असल परम्परालाई पनि अब क्याष्ट्रो पछिको क्यूवाको नेतृत्व र त्यहाँका जनताले क्यूवालाई समाजवादी आधुनिकीकरणको बाटोमा दृढताकासाथ हिडाउन अथक मेहनत गर्नु बाहेक अर्काे कुनै बाटो छैन । बिगमा ठूल्ठूला समस्याहरु पार गरेर समाजवादको बाटोबाट अबिचलितरुपमा अभिमुख र अग्रसर रहेको क्यूवाले आफ्ना नेता क्याष्ट्रोको बिचार र व्यवहारको सही दिग्दर्शनमा अडिग रहेर अघि बढ्यो भने उत्पन्न समस्यालाइलाई चिर्दै क्यूबालाई अझ उन्नत अत्याधुनिक समाजवादी राष्ट्रकोरुपमा विश्वमा खडा गर्न सफल हुने कुरा निचिश्त छ । क्रान्ति र जनताको जीवनलाई जोडेर समुन्नति, शान्ति र सम्बृद्धिकासाथ स्वतन्त्रता र स्वाधीनताको निरन्तर अलख जगाउने ती सहासी र अतुलनीय क्यूवाली क्रान्तिकारी नेताको मार्गदर्शनमा क्यूबा निरन्तर अगाडि बढ्न सकोस् । क्यूबाली क्रान्तिका महानायक क्याष्ट्रोलाई उनको शताब्दी जन्म जयन्तिमा उनीप्रति उच्च सम्मानकासाथ अभिवादन !!

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित