नाबालिका गरिमा चौधरीको बलत्कार पछि भएको हत्याको घोर निन्दा एवम् भत्सर्ना

काठमाण्डौ । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ दशधुरेस्थित सुकुम्बासी वस्तीमा बस्ने मनमती चौधरीको ३ वर्षे नाबालिका छोरी गरिमा चौधरीको बलत्कार र हत्याको क्रान्तिकारी महिला संगठन नेपालले घोर निन्दा एवम् भत्सर्ना गरेको छ । संगठनका सम्मेलन आयोजक समितिका संयोजक शारदा महतले २०८३ साल भाद्र ५ गते एक प्रेस वक्तव्य जारी गर्दै सो निन्दा एवम् भत्सर्ना गर्नु भएको हो । वक्तव्यमा यस दुःखद घटनाको निस्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिसहित न्याय दिलाउन माग गरिएको छ । साथै संगठनले घर, समाज र राज्यले महिला सुरक्षा तथा संरक्षणमा ध्यान दिन अनुरोध गरेको छ र
महिलामाथि हुने सबै प्रकारका हिंसाजन्य अपराध नियन्त्रणकालागि प्रभावकारी नीति,सुरक्षा व्यवस्था र कानुनको कार्यान्वयन सुनिश्चित गर्न जोडदार माग गरेको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ –

“बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ दशधुरेस्थित सुकुम्बासी वस्तीमा बस्ने मनमती चौधरीको ३ वर्षे नाबालिका छोरी गरिमा चौधरीको बलत्कार गरी क्रुरतापूर्वक हत्या गरेको अवस्थामा हराएको तीन दिन पछि यही मिति २०८३ साल श्रावण ३० गते आइतबार नजिकैको खाली घरमा भेटिएको छ । गरिमा चौधरीलाई बलत्कार गरी क्रुरतापूर्वक हत्या गरेको यस घटनाको हाम्रो संगठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ ।
यस दुःखद घटनाको निस्पक्ष छानविन गरी दोषी उपर कानुन बमोजिम हदैसम्मको कारबाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति सहित न्याय दिलाउन हाम्रो संगठन सरकारसँग जोडदार माग गर्दछ ।यस जघन्य,अमानवीय पासविक घटनाले सम्पूर्ण महिला समुदाय तथा नाबालिका छोरीहरुमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना गरेको छ । दिनानुदिन महिला तथा नाबालिकाहरुमाथि भइरहेको हत्या,हिंसा, बलत्कार जस्ता अपराधिक घटनाहरु वृद्धि भइरहेको अवस्थामा राज्यका निकायहरु संवेदनशील र जिम्मेवार नबन्दासम्म महिलाको सुरक्षा हुन सक्दैन । घर, समाज र राज्यले महिला सुरक्षा तथा संरक्षणमा ध्यान दिन अनुरोध गर्दछ ।
महिलामाथि हुने सबै प्रकारका हिंसाजन्य अपराध नियन्त्रणकालागि प्रभावकारी नीति,सुरक्षा व्यवस्था र कानुनको कार्यान्वयन सुनिश्चित गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित