काठमाडौं । भाद्र ७ गते आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । प्रज्ञा भवनको पारिजात हलमा सम्पन्न अन्तरक्रिया उमा भुजेलले नेतृत्व गरेको पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको हो । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीकी संयोजक उमा भुजेलले मौखिकरुपले पार्टीको अवधारणा राख्दै कम्युनिस्ट आन्दोलनलाई बचाउन सम्पूर्ण कम्युनिस्ट पार्टीहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् । कार्यक्रममा भुजेलले पार्टी एकता र सहकार्यमा जोड दिएकी हुन् ।
‘नेपालमा स्वाधीनताको मुद्दा लिएर अगाडि बढ्नुपर्ने छ । देश नै रहने अवस्था देखिएको छ । यी सबैको रक्षाको नेतृत्व कम्युनिस्ट आन्दोलनले गर्नुपर्नेछ । तर अहिले कम्युनिस्ट शक्तिहरू रक्षात्मक अवस्थामा छन् । ६५ प्रतिशत रहेको कम्युनिस्ट २१ प्रतिशतमा झरेको छ । कम्युनिस्ट पार्टीलाई सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेका छन् । गर या मरको अवस्थामा रहेको आन्दोलनलाई बचाउन सम्पूर्ण कम्युनिस्ट पार्टीहरूबिच एकता, सहकार्य हुनुपर्छ’, उनले भनिन् ।
पूर्व प्रधानमन्त्री, नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार गरे । उनले विगतका कमजोरीप्रति राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।देशको वर्तमान अवस्थालाई अधोगतिको संज्ञा दिँदै उनले जनताको सशक्त हस्तक्षेपबिना यसलाई रोक्न नसकिने दाबी गरे । साझा मुद्दाहरूको पहिचान गरी एकीकृत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले सबै पक्षलाई यसतर्फ गम्भीर हुन ध्यानाकर्षण गराए ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको सरकार निर्वाचित अधिनायकवादतर्फ अगाडि गएको आरोप लगाए । नेता प्रदिप ज्ञवालीले भने , ‘सदनमा रहेका दलहरूले त्यहाँबाट संघर्ष त गर्नुहुनेछ, तर मुलुकको अवस्था सुधार्न त्यो मात्र पर्याप्त छैन । आवश्यक पर्दा जनताका मुद्दाहरू लिएर सडकमा समेत जान तयार हुनुपर्छ र सोहीअनुरूपको तयारी गर्नुपर्छ’ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य रामबहादुर बुढाले विचार मिल्ने क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबिच एकता र मोर्चा बन्दी अवश्यक रहेको बताए । बुढाले प्रतिक्रियावादी सत्ताको विकल्पमा जनवादी सत्ता ल्याउन एकता गर्न सकिन्छ भने । संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जान खोजेका शक्तिहरुलाई पनि छिटै एक भए हुन्छ भन्ने सुझाव दिए । नेता नेताको टाउको जोडेर एकता हुन सक्दैन । एकताका लागि विचार, सिद्धान्त मिल्नुपर्छ’, बुढाले भने ।
नेकपा (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतका कमजोरी यथार्थरूपमा स्वीकार गरेको हो भने पार्टी एकता गर्न आफू तयार भएको बताए । प्रचण्डको भनाइप्रति शङ्का व्यक्त गर्दै उनले भने, ‘हामीले खाली सरकारका लागि गर्यौँ, जनताका लागि केही पनि गरेनौँ । यदि उहाँले हृदयदेखि नै स्वीकारेका भए हामी पार्टी एकता गर्न चाहन्छौँ । उहाँको केही बोलाइबिच चिप्ल्याइ हुन्छन् । वर्ग किन छोड्यौँ ? जनतासँगको सम्बन्ध किन टाढियो ? चुनावी परिणामले कम्युनिस्ट सकियो भन्ने ? कहाँ सकियो कम्युनिस्ट ? चुनावबाट कम्युनिस्ट शासन आउँदैन ।चुनावबाट कम्युनिस्ट शासन आउने भए त २०६४ मा हामी सरकारमा गएकै हो । २०७४मा झण्डै दुई तिहाईको सरकार बनेकै हो । वर्ग संघषर्नबाट मात्र कम्युनिष्ट शासन आउँछ । ’
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्टहरूमाथि प्रहार गरेको भनाई राखे । पुरीले ओली र प्रचण्डका कारणले कम्युनिस्ट आन्दोलन कमजोर भएकाले उनीहरूले नै गल्ती सुधार गर्न सुझाव दिए । राष्ट्रियता र जनजीविकाका सवालमा समान धारणा भएका वामपन्थी शक्तिहरूसँग सहकार्य गर्न आफूहरू तयार रहेको पनि पुरीले बताए । पुरीले जनताका आधारभूत समस्या र राष्ट्रिय हितका विषयमा सहकार्य आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमको सञ्चालन भेषराज भुसालले गरेका थिए ।



