काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले तिब्बततिरबाट आएको बाढी प्रभावितहरुलाई उद्धार तथा राहतको व्यवस्था गर्न जोडदार माग गरेको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीले २०८३ भाद्र १० गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा यो महाविपत्तिको यस घढीको गहिरो दुःख तथा शोक प्रकट गर्नुका गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण र परिवार जनमा समवेदना प्रकट गरिएको छ । विपदको यस दुःखद घडिमा मोर्चाका घटक पार्टीहरुका कार्यकर्ताहरु जहाँ सम्भव छ, त्यस ठाउँमा सरकार, विभिन्न संघसंस्था, नागरिक समाज सबैसित मिलेर उद्धार तथा राहत कार्यमा लागेर सेवा गर्न सबैसँग हार्दिक अपील समेत गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
“२०८३ भाद्र १० गते विहान ९ः०५मा नेपाल–चीन सिमानामा चीन तर्फबाट भीषण बाढ आएर भोटेकोशी नदी टिमुरे भन्सार, साप्रुबेशी, त्रिशुली बजार, गल्छी, बैरेनी, मलेखु हुँदै मुग्लिन, नारायणघाटतर्फ गएको बाढीले तटीय क्षेत्रका शहर तथा वस्तीहरु, पुल, सडक र ठूला विद्युत परियोजनाहरु ध्वस्त पारेको छ । राष्ट्रका अगाडि आकस्मिक रुपमा आएको यो महाविपत्ति प्रति राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल गहिरो दुःख तथा शोक प्रकट गर्दछ ।
मानवीय क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन । तर पनि सामाजिक संजालमा आएका समाचारका आधारमा कुल मानवीय क्षति तथा भौतिक संरचना, स्कूल, क्याम्पस, विद्युत परियोजनाहरुको अकल्पनीय क्षति भएको देखिन्छ । सामान्यतः प्रहरी, कर्मचारी, पर्यटक तथा आम नागरिक समेत हजारौंको संख्यामा मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । यस शताब्दीकै महाध्वंसले गर्दा देशलाई अपूर्णीय क्षति पुगेको छ । हाम्रो मोर्चा मृत्यु हुने सबै नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । मृत्यु हुनेका आफन्त, इष्टमित्र सबैमा गहिरो समवेदना प्रकट गर्दछ ।
मोर्चाका घटक पार्टीहरुका कार्यकर्ताहरु जहाँ सम्भव छ, त्यस ठाउँमा सरकार, विभिन्न संघसंस्था, नागरिक समाज सबैसित मिलेर उद्धार तथा राहत कार्यमा लागेर सेवा गर्न सबैसँग हार्दिक अपील गर्दछ ।
देशमा आएको यो महाविपत्तिमा परेका नागरिकलाई उद्धार गर्न, घाइतेहरुको उपचार गर्न, जीवित रहेका बाढी पीडितहरुलाई खाने, बस्ने, आवासको व्यवस्था गर्न हाम्रो मोर्चा सरकारसँग जोडदार माग गर्दछ ।”
बाढी पीडितलाई उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग जोडदार माग
Comments

