काठमाडौं । चिनियाँ पक्षबाट प्राप्त ड्रोन भिडियोमा लेहेन्दे खोलाको माथिल्लो क्षेत्रको पछिल्लो स्थिति देखाइएको छ । यस क्षेत्रमा अझै हिमपहिरो, हिउँ, चट्टान र थुप्रिएको माटोका कारण नदी प्रवाह अझै अवरुद्ध हुनसक्ने सम्भावना उत्तिकै रहेको छ ।
चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठुलो ‘ताल’ बनेको जानकारी दिएको छ ।
बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ ।
यो समाचार चीनको ग्लोबल टाइम्समा प्रकाशित भएको हो । आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर र जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको ‘चाइना सेन्ट्रल टेलिभिजन’ले बिहीबार उल्लेख गरेको छ ।सम्भावित फुटाइ र आपत्कालीन उद्धार कार्यको तयारीका लागि बाढीको ‘सिमुलेशन’ र विश्लेषण भइरहेको जनाइएको छ।
नेपाल–चीन सीमाको नेपाली भू–भागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाका (केरुङ)मा क्षति पुऱ्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न मोर्चामा उद्धार टोली परिचालन गरेका छन् ।




