अखिल भारत नेपाली एकता समाजद्वारा शहीद सरोज शर्मा प्रति श्रद्धाञ्जली

काठमाडौ । अखिल भारत नेपाली एकता समाजले शहीद सरोज शर्मा प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । २७ अगस्त २०२६ का दिन समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले एक प्रेस वक्तव्य गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ

“कमरेड सरोज शर्मा (शोभाखर धनन्जय) जी को जन्म विक्रम सम्बत् २००१ असार ५ गते साविक किमडाँडा गाउँ विकास समिति वडा नम्बर ९ कुर गाउँ, हाल सन्धिखर्क नगरपालिका वडा नं.२ अर्घाखाँची जिल्लामा भएको थियो। उहाँ बाल्यकालदेखि नै क्रान्तिकारी विचारदेखि ओतप्रोत हुनुहुन्थ्यो। उहाँले देशमा श्रमजीवी वर्गको आवाज बुलन्द गर्न क्रान्तिकारी विचारमूलक पत्रिका हाँक साप्ताहिकको प्रधान सम्पादक तथा व्यवस्थापक जस्तो गरिमामय पदमा रहेर काम गर्दै आउनु भएको थियो।

देशमा पञ्चायती व्यवस्थाको बर्बर अत्याचार तथा क्रूर दमनका कारण सुरक्षित रहने वातावरण नभएको हुनाले उहाँ पार्टी संगठनको निर्देशनमा भारतको नयाँ दिल्लीमा आएर भारतस्थित नेपालीहरूको अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाजको मुखपत्र नेपाली एकता बुलेटिनको सह–सम्पादक र व्यवस्थापक जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। उहाँले प्रकाशन गर्ने नेपाली एकताले तानाशाही पञ्चायती व्यवस्थाको खरो विरोध गर्ने भएको हुनाले पनि उहाँलाई सिआइडीहरूले टार्गेट गरिरहेको अवस्था थियो।

अचानक २०४३ भाद्र ११ गतेका दिन उहाँ पत्रिकाको कामले दिल्लीको बेलारोडमा गएको समयमा अज्ञात समूहले उहाँको रहस्यमयी ढंगबाट हत्या गरेका थिए। उहाँको हत्याले सिंगो समाज शोकमा डुब्नुका साथै अपूरणीय क्षति व्यहोर्न परेको थियो। अखिल भारत नेपाली एकता समाजले उहाँको हत्याको घोर निन्दा र भर्त्सना गर्दै न्यायिक छानबिनको माग गर्दै उहाँलाई सहिद घोषणा गर्नुका साथै नेपाल सरकारसमक्ष पनि राष्ट्रिय सहिद घोषणा गर्न आवाज उठाएको थियो र अहिले पनि उठाउँदै आएको छ।

उहाँले भारतमा रहेका सम्पूर्ण नेपालीहरूको अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाजमा दिएको योगदान अतुलनीय छ। र उहाँले देखाएको बाटो र उहाँको योगदानको हामीले उच्च मूल्यांकन गर्नु पर्दछ। सहिद सरोज शर्माको ४१ औँ स्मृति दिवसमा अखिल भारत नेपाली एकता समाजले उहाँप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित