काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा प्रवेश गरेका छन्। चीनको सांघाईमा शुक्रबार भएको सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
बान्टमवेट विधातर्फ भएको तीन राउन्डको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भए। निर्णायकमध्ये एकले ढाँटको पक्षमा २९–२८ को स्कोर दिए भने अर्का निर्णायकले समान २९–२८ को स्कोरमा मर्डोकलाई अघि राखेका थिए। तेस्रो निर्णायकको निर्णय ढाँटको पक्षमा गएपछि उनले रोमाञ्चक जित हात पारे।
यससँगै ‘बझाङका बाघ’ भनेर चिनिने ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। फाइनलमा उनले जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्।
ढाँटले यसअघि मे महिनामा मकाउमा भएको क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए। अलिन्टोजोनविरुद्ध उनले दोस्रो राउन्डमा प्रहारमार्फत टीकेओ जित निकालेका थिए।
‘रोड टु यूएफसी’ एसियाका उत्कृष्ट एमएमए प्रतिभालाई युएफसीको व्यावसायिक करारतर्फ अघि बढाउने ‘विन एन्ड एडभान्स’ प्रतियोगिता हो। सिजन–५ को बान्टमवेट फाइनल जित्न सके ढाँट युएफसी करार प्राप्त गर्ने बाटोमा ऐतिहासिक उपलब्धि हासिल गर्नेछन्।
ढाँटको फाइनल प्रवेशसँगै नेपाली खेलकुदमा एमएमएको सम्भावना र अन्तर्राष्ट्रिय पहिचानसमेत थप बलियो बनेको छ। अब उनको लक्ष्य रोड टु यूएफसीको उपाधि जित्दै विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीमा स्थान बनाउनु हुनेछ।

