हरिश ढकाल
बुटवल । तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा पु¥याएको अकल्पनीय जनधनको क्षतिप्रति पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. बुटवलले गहिरो दुःख व्यक्त गरेको छ।
उक्त महाप्रलयकारी बाढीले बस्ती, सडक, पुल तथा यातायात संरचनामा गम्भीर क्षति पु¥याउनुका साथै सर्वसाधारण नागरिक, यात्रु, यातायात व्यवसायी, चालक, सहचालक तथा मजदुरलाई समेत प्रत्यक्ष प्रभावित बनाएको भन्दै प्रा.लि.ले विपत्तिको यस कठिन घडीमा संयमता अपनाउन र उद्धार तथा राहत कार्यमा जुट्न सबैमा अपिल गरेको हो।
प्रा.लि.का अध्यक्ष दधिराम खरेलद्वारा जारी २०८३ भदौ ११ गते एक प्रेस विज्ञप्तिमा रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेशी, नुवाकोट, त्रिशूली बजार, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीले पु¥याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। विज्ञप्तिमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै घाइते तथा बाढीबाट प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
“यसप्रकारको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ। बिनासकारी बाढीको अवस्था अझै संवेदनशील रहन सक्ने भन्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले आम नागरिक तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। प्रा.लि.ले जोखिमयुक्त नदी तटीय क्षेत्र तथा बाढीपहिरोको सम्भावना रहेका सडकमा अनावश्यक आवतजावत नगर्न, सुरक्षा निकाय तथा स्थानीय प्रशासनले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न र विपद्को अवस्थामा संयमित रहन आग्रह पनि गरेको छ।
विज्ञप्तिमा बाढीबाट यातायात क्षेत्र प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै सडक, पुल तथा यातायात सञ्चालनमा आएको अवरोधले यात्रु र व्यवसायी दुवैलाई ठूलो समस्या सिर्जना गरेको जनाइएको छ। “बाढीका कारण यातायात व्यवसायी, चालक, सहचालक, मजदुर तथा यात्रुहरू समेत प्रभावित भएको घटनाले हामीलाई अत्यन्त दुःखी बनाएको छ,” विज्ञप्तिमा उल्लेख छ।
प्रा.लि.ले विपत्तिको यस घडीमा उद्धार, खोजी, राहत तथा उपचार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी तथा अन्य सरोकारवाला निकायबीच तत्काल प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ। विशेषगरी बाढीका कारण सम्पर्कविहीन भएका तथा जोखिममा रहेका नागरिकको खोजी, घाइतेको उद्धार, प्रभावितलाई तत्काल राहत तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई उच्च प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
बाढीले सडक तथा यातायात पूर्वाधारमा क्षति पु¥याउँदा राहत सामग्री तथा उद्धार टोली प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ हुन सक्ने भएकाले वैकल्पिक मार्ग र आवश्यक यातायात व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने प्रा.लि.को भनाइ छ। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले विपत्तिको समयमा प्रभावित नागरिक, यात्रु, यातायात व्यवसायी, चालक, सहचालक तथा मजदुरहरूको साथमा रहेको स्पष्ट पारेको छ। उद्धार तथा आवश्यक राहत कार्यमा आफ्नो तर्फबाट समेत सक्दो सहयोग र समन्वय गर्न संस्था प्रतिबद्ध रहेको अध्यक्ष खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
बाढीका कारण विभिन्न स्थानमा यातायात सेवा अवरुद्ध हुन पुगेकाले यसबाट यात्रु वर्गमा परेको असुविधाप्रति समेत प्रा.लि.ले क्षमायाचना गरेको छ। प्रा.लि.ले विपत्तिको संवेदनशीलतालाई मध्यनजर गर्दै यात्रु तथा सर्वसाधारणलाई जोखिम मोलेर यात्रा नगर्न, सडकको अवस्था यकिन गरेर मात्र आवतजावत गर्न तथा विपद्को समयमा एक–अर्कालाई सहयोग गर्न आग्रह गरेको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले केवल भौतिक संरचना र यातायात प्रणालीमा मात्र चुनौती थपेको छैन, यसले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन, जीविका र सुरक्षित आवतजावतमा समेत गम्भीर संकट निम्त्याएको छ। यस्तो अवस्थामा तत्काल उद्धारसँगै प्रभावित परिवारको राहत, पुनःस्थापना र क्षतिग्रस्त यातायात पूर्वाधारको पुनर्निर्माणलाई समेत प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
भोटेकोशी–त्रिशूलीको बाढीले मच्चाएको बितण्डाप्रति पश्चिम नेपाल बस व्यवसायीको गहिरो दुःख ब्यक्त, उद्धार र राहतमा जुट्न अपिल
Comments

