भारत । अखिल भारत नेपाली एकता समाजले २०२६ को तीजको कार्यक्रम भारतभरी नमनाउने र बाढी पीडितलाई आर्थिक संकलन गर्ने निर्णय गरेको छ। १ सेप्टेम्बर २०२६ मा समाजका अध्यक्ष आनन्द थापाले एक प्रेस वक्तव्य जारी गरी सो निर्णयको जानकारी गराउनुभएको हो । कव्तव्यमा भनिएको छ –
“भारतमा रहेका नेपालीहरूको अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाजले २०२६ को तीजको कार्यक्रम भारतभरी नमनाउने निर्णय गरेको छ। किनभने नेपालमा २६ अगस्त २०२६ तदनुसार २०८३ भाद्र १० गतेका दिन बिहान नेपालको रसुवागढी नाकाबाट भोटेकोशीमा आएको महाविनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदीका तटीय क्षेत्रमा रहेका गाउँबस्ती, सहर–बजार, जलविद्युत् परियोजना, प्रहरी चौकी, आर्मी क्याम्प तथा बैंक, सरकारी तथा गैरसरकारी कार्यालयहरू बगाएको र पुल पुनःनिर्माण गर्दै बगाउने क्रममा ठूलो पैमानामा धनजनको क्षति पुराएको छ।
उद्धारमा लागि नेपाल आर्मी र प्रहरीको टिम लगातार लागि रहेको छ। अहिलेसम्म करिब एक हजारको आसपासमा शव बरामद गरिएको छ भने करिब २५ सयभन्दा बढी बेपत्ता भएको जानकारी आएको छ। ज्यान गुमाउने र बेपत्ता हुनेमा विदेशी नागरिकहरू पनि रहेका छन्। बाढी पहिरोका कारण नदीमा आएको लेदो र पानीले गर्दा उद्धार कार्यमा कठिनाइ भएको छ। उद्धार गर्ने क्रममा सयौँ मजदुरहरू विद्युत् परियोजनाका सुरुङ र टनेलमा फसेको पाइएका छन्। नेपाल आर्मी, चाइना र भारतका विज्ञ उद्धार टोलीले जमिनमुनी दबेका, टनेलमा फसेका र नदीमा बगेका शवहरूको खोजी खोजी तीव्र गतिमा उद्धार गरिरहेका छन्। पानी र लेदोबाट बरामद गरिएका शवहरू छिटो बिग्रने हुँदा व्यवस्थित ढंगबाट राखेर आफ्ना आफन्तलाई बुझाउन कठिन भइरहेको छ। शवहरू धेरै दिन राख्दा रोग फैलिने डरका कारण आवश्यक डीएनए गर्न मिल्ने गरी सुरक्षित ढंगबाट सामूहिक रूपमा जंगलमा अन्त्येष्टि गरिएको छ।
नेपाल आमा यसरी घायल भई दर्दनाक पीडा व्यहोरी रहेको अवस्थामा देश तथा विदेशबाट आर्थिक, नैतिक तथा भौतिक सहयोग गरी परेको घाउमा मलमपट्टी गर्नु नै सबै नागरिकको उत्तम र सही कार्य हुने छ। त्यसर्थ हाम्रो संगठन अखिल भारत नेपाली एकता समाजले पनि २०२६ मा मनाउने महिलाहरूको महान् चाड हरितालिका तीज महोत्सवलाई रद्द गरी बाढी पीडितहरूको सम्झनामा भारतभरी क्यान्डल जलाएर शोक प्रकट गर्नुका साथै उद्धार र उपचारका लागि सक्दो आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाउने निर्णय गरेको छ। राहत कार्य संकलन कार्यक्रम जारी छ र धेरैभन्दा धेरै आर्थिक सहयोग जुटाउन हार्दिक अपिल गर्दछौँ।”

