बट्टार, विदुर, ढुङ्गे भन्दा माथि रसुवा तिर राहत गएकै छैन

– रमेश पौडेल ‘सरोज’
८ नम्बर व्यूूरो ईञ्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

० तपाईहरु अहिले बाढी प्रभावित क्षेत्रमा जानुभएको छ । स्थितिको अवलोकन गर्दा के जानकारी पाउनु भयो ?
– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले आठ नम्बर ब्युरोका नेतृत्व पंक्तिलाई बोलाएर यस क्षेत्रमा बाढी पहिरोले व्यापक मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । त्यसको अध्ययन अवलोकन गरेर आउनुस्, पार्टीलाई प्रतिवेदन बुझाउनुहोस् भनेकाले हामी त्यही जिम्मेवारी अनुसार फिल्डमा छौं । जनता सँग प्रत्यक्ष भेटघाट गरेका छौं । पार्टीको तर्फबाट स्थानीय प्रशासनसँग भेटघाट गर्ने र जनताका समस्याका कुराहरू राख्ने काम पनि गरेका छौं।

० तपाईँ स्वयं नुवाकोटबासी पनि हुनुहुन्छ । नुवाकोटमा के कस्तो अवस्था पाउनुभयो ?

– राहत कार्यमा अत्यन्त ढिला ढाला भएको छ । जति पनि राहत वितरणका लागि विभिन्न संघसंस्थाहरू गएका छन् , उनीहरु बट्टार, विदुर, ढुङ्गेसम्म मात्र पुगेका छन्। त्यहाँ भन्दा माथि रसुवातर्फ जान सकेका छैनन् र त्रिशुली नदीभन्दा पारी पश्चिम त्रिशुली बजार,शान्ति बजार, टुप्चे बजार सम्म पनि राहत पुग्न सकेको छैन। त्रिशुली बजार, इनारपाटी देवीघाट, कोशिटार , सिखाली, महादेव फाँट, सन्टार , तारुका घाट, गोल्फुटार, रसुवाको टिमुरे, स्याफ्रुबेसी लगायत त्रिशुली नदी किनारका सबै बस्तीहरू लाई बाढीले असर गरेको छ । कैयौँ बस्तीहरू पुरै सखापै भएका छन्। बिदुर बजारभन्दा पारिपट्टिका बजारहरूमा कतिपय सरकारी मानिसहरु हेलिकप्टर मार्फत त्यहाँ पुग्ने गरेका छन् हामीले सिडिओसँग केवल त्यहाँ पुगेर मात्र भएन त्यहाँको समस्या पनि छिटो समाधान गर्नुपर्यो ,राहत पुर्याउनु पर्यो भन्ने कुरा हामीले राखेका छौं । सरकार र प्रशासनले राजनीतिक दलहरूसँग समन्वय गर्न ध्यान दिएको हामीले पाएनौँ। भाद्र १३ गते स्वयं नुवाकोटकै प्रकाशरण महत लगायतका केन्द्रीय नेताहरु त्यहाँ पुगिसकेपछि लाजकाज राजनीतिक दलहरुसँग प्रशासनले छलफल गरेको पाइयो ।

० अब कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
–नुवाकोटको भेटघाट पछि हामी अहिले धादिङ आइपुगेका छौं । धादिङमा हामी कृष्णभिरसम्मको अध्ययन गरेर फर्कन्छौं र त्यसपछि रसुवा जाने बाटो नभएपनि वैकल्पिक बाटो प्रयोग गरेर भएपनि हामी रसुवा पुग्ने, स्थलगत अध्ययन गर्ने र त्यसपछि पार्टी हेडक्वाटरलाई रिपोर्ट बुझाउने छौं ।

अन्तरवार्ता मिति २०८३ भादै १५ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित