काठमाण्डौ । संसदको माथिल्लो सदन राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । २०८३ भाद्र १६ गते बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेकामा सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
विशेष प्रस्तावमा उक्त बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । राष्ट्रिय सभाले विशेष प्रस्तावमार्फत प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको घाइतेहरूको निशुःल्क उपचार गराउन , शव व्यवस्थापन वैज्ञानिक रुपमा गर्न सरकारको ध्यानआकर्षण गराएको छ ।
भदौ १० गते आएको बाढीको कारण ठूलो मात्रामा जन धनको क्षति भएको छ । पारित प्रस्तावमा भौतिक संरचनाको पुर्ननिर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न आग्रह गर्नुका साथै स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तराष्ट्रिय जगतलाई सहयोगका लागि अपिल गरिएको छ । विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारीको काम अघि बढाउन आग्रह गरिएको छ ।

